श्रद्धेय रानी ऐश्वर्य !
आज लेखनाथमार्ग (लैनचौर) को बाटो हिंड्दा हिंड्दै थाहै नपाई मेरा आँखा रसाएछन् । कुनै बेला तिमीले मन, वचन र कर्मले निर्माण गरेको सामाजिक सेवा मन्दिरको नाउँ नै फेरिदिएछन् ।
तिमी बाँचुन्जेल त्यस भवनको वरिपरिको पर्खाल पनि होचो थियो । त्यसैले सडकैबाट सामाजिक सेवा मन्दिर देखिन्थ्यो । गणतान्त्रिक सरकारले त त्यस मन्दिरको नामोनिसान मेटाएर वरिपरिको पर्खाल समेत अग्लो पारेछ । अब त सडकबाट त्यो विशाल भवन पनि देखिदैन रहेछ । यस्तो दृश्य देखेपछि मैले मेरी पुरोधिका इन्दिरालाई भनेको थिएँ- "राजा रानी त यति सारो डराउदैन थिए ।"
•
तिमीले आफ्नी छोरी श्रुतिलाई किनिदिएको जग्गा नै सामाजिक सेवा मन्दिरलाई उपहार दिएकी थियौ । अनि तिम्रै योजनामा त्यो भवन निर्माण भएको थियो । भवन निर्माणका समयमा तिम्रो हरपलको समय त्यही भवन वरिपरि वित्थ्यो । तिमीलाई सधैं त्यहीं भेटिन्थ्यो । बिहान, दिउँसो र साँझ पनि तिमी त्यतै हुन्थ्यौ । उदाहरणका लागि भन्ने हो भने एक दिन राति ८ बजेतिर सोही भवनस्थित मेरो कार्यकक्षमा म काम गरिरहेको थिएँ । त्यस बखत मेरो कार्यकक्षमा बिजुली बलेको देखेर तिमी राजा वीरेन्द्रसँगै सरासर मेरो कोठामा आयौ र भन्यौ- "तिमी अझै काम गरिरहेका छौ; नरेन्द्र ?" त्यति अबेला राजा रानीलाई अपर्झट मेरै कोठामा देख्ता म अकमक्क परेको थिएँ ।
श्रद्धेय सरकार ! मेरो कामबाट तिमी प्रभावित पनि थियौ । त्यसैले समाजिक सेवा राष्ट्रिय समन्वय परिषद्का बैठकहरूमा अध्यक्षका नाताले तिमीले मलाई प्रोत्साहन दिने हेतु राम्रो काम गर्ने सूचीमा मेरो नाउँ उल्लेख गरेर सम्बोधन गर्ने गर्थ्यौ । म पनि हरपल तिम्रै सदिच्छा पूरा गर्न समर्पित थिएँ । तर मेरो त्यो समर्पण धेरै वर्ष टिकेन । २०४६ सालमा बहुदल आएपछि भने तिमीलाई त्यो ठाउँ छाड्न वाध्य पारियो । अनि म पनि अलपत्र परें ।
समाजसेवामा तिम्रो मन थियो, वचन थियो र कर्म पनि जोडिएको थियो । तर अहिलेको सरकारले तिम्रो पसिनाद्वारा समेत निर्मित समाजसेवा भवनको नामाकरणको पाइलो नै लोटाएछ । अथवा भनौं इतिहास अङ्कित सामाजिक सेवा मन्दिरको नाउँ नै मेटाएछ । त्यस दृश्यले मेरो मन रोयो; सरकार !
•
तिम्रो आत्मामा कति चोट पर्यो होला ! तिमीले केही अभिव्यक्त गर्न पनि सक्तिनौ । अहिले देश सारै छाडा भैरहेको छ । यसको नाउँ नै नयाँ नेपाल हो अरे ! अनि यो कसका लागि परिवर्तन भैरहेको छ ? परिवर्तनका नाउँमा असल कृत्यहरूको नै समूल नाश गर्नु हो र ! यहाँ त यस्तै भैरहेको छ; सरकार !
नरेन्द्रराज प्रसाई
~