बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भित्र्याउन गरिएको परीक्षण शुक्रबार सफल भएको हो। नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। भारतको पटनाबाट मोतीहारी हुँदै अमलेखगन्ज डिपोमा ३१ लाख लिटर डिजेल झारिएको छ।
नेपाल र भारत दुवै देशका प्राविधिकले बुधबारदेखि पाइपलाइन परीक्षण थालेका थिए। शुक्रबार बिहान ६ बजे पाइपबाट डिजेल अमलेखगन्जसम्म ल्याइएको हो। पाइप जाँच गरी सफा गरेर डिजेल ल्याइएको नेपाल आयल निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए। ‘सुरुमा पाइप लिकेज छ कि छैन भनेर हावा र पानी पठाएर जाँच गर्यौं’, पेट्रोलियम पाइपलाइन आयोजना प्रमुखसमेत रहेका यादवले भने, ‘त्यसपछि डिजेल ल्याएका हौं।’
उनका अनुसार बुधबार साँझ ६ बजे हावा, राति २:३० मा पानी र शुक्रबार बिहान ६ बजे डिजेल ल्याइएको हो। पटनाबाट बुधबार दिउँसो हावा र पानीको प्रेसर दिएर पाइपको अवस्था जाँचिएको थियो। पटनाबाट अमलेखगन्जसम्मको दूरी २ सय ५९ किलोमिटर छ।
पाइपबाट आएको डिजेल ल्याब परीक्षण गरी प्राविधिकले ट्यांकीमा भण्डार गरेका छन्। ‘पानीपछि आएको डिजेललाई परीक्षण गरेर ट्यांकरमा भण्डार गरेका छौं’, इन्जिनियर प्रमेश थापाले भने, ‘पानी मिसावट भएको केही डिजेल सुरक्षित स्थानमा फाल्यौं।’ भारतको पटना डिपो प्रमुख एसके नन्दीको नेतृत्वमा २० प्राविधिक र नेपाल आयल निगमका प्राविधिकसहित कर्मचारी परीक्षणमा खटिएका थिए।
नेपालले पहिलो चरणमा इन्डियन आयल कर्पोरेसनबाट ३१ लाख लिटर डिजेल ल्याएको छ। आयोजना प्रमुख यादवका अनुसार त्यसमध्ये १० लाख लिटर ट्यांकरमा भण्डारण गरिएको छ। २१ लाख लिटर डिजेल पाइपमै छ। डिजेल आयात गर्न भन्सारबाट स्वीकृति लिइएको थियो। ‘भन्सार क्लियरेन्स गरिएको डिजेल पाइपबाट ल्याएका हौं। १० लाख लिटर हामीले ट्यांकरमा राख्यौं। बाँकी तेल पाइपमै राखेका छौं’, उनले भने, ‘अब औपचारिक उद्घाटन गरी पाइपलाइनबाट डिजेल ल्याउने कामलाई निरन्तरता दिनेछौं।’
पाइपलाइनबाटै पेट्रोल, मट्टितेल पनि ल्याउने भनिएको थियो। त्यसका लागि केही समय लाग्ने भएको छ। पेट्रोल, मट्टितेलसहित हवाई इन्धन ट्यांकरबाटै ढुवानी हुने यादवले बताए।
मोतीहारी डिपो प्रमुख आलोककुमार मिन्जले पेट्रोलियम पाइपलाइनको सफल परीक्षणले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्। ‘यो आयोजना नेपाल र भारत दुवै देशका लागि फाइदाजनक छ’, उनले भने, ‘यसका सकारात्मक पक्ष थुप्रै छन्। दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउन यो आयोजनाले सहयोग पुग्नेछ।’
पाइपलाइन आयोजनाका इन्जिनियर शरद पौडेलले झन्डै डेढ वर्षको अथक मेहनत सफल भएको बताए। ‘यो हाम्रा लागि खुसीको कुरा हो’, उनले भने, ‘परीक्षणका क्रममा कुनै त्रुटि देखिएन। पाइपबाट सहजै डिजेल आएको छ।’ मोतिहारीमा पम्प स्टेसन नरहेकाले पटनाबाट सीधै अमलेखगन्जसम्म डिजेल ल्याइएको उनले बताए। मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइन विस्तारको काम गरिए भए पनि त्यहाँ पम्प स्टेसन नबनाएसम्म पटनाबाट डिजेल ल्याइने उनको भनाइ छ। मोतिहारी–पटनाको दूरी १ सय ९० किलोमिटर छ।
उनका अनुसार भारतको विहार राज्यको बरौनी रिफाइनरीबाट पटना–मुगलसराय हुँदै कानपुरसम्म पेट्रोलियम पदार्थ ढुवानी हुने पाइपलाइन विगतदेखि सञ्चालनमै छ। पटना–मुगलसराय सेक्टर बीचमा पर्ने विहारकै सिवानमा ‘टी प्वाइन्ट’ निर्माण गरी त्यहाँबाट एउटा लाइन उत्तर प्रदेशको बैतालपुर र अर्को सिवानबाट मोतिहारी हुँदै अमलेखगन्जसम्म ल्याइएको उनले बताए। पम्प स्टेसन निर्माणपछि अमलेखगन्जमा इन्धन पठाउने काम मोतिहारीबाटै हुनेछ।
मोतिहारीभन्दा अमलेखगन्ज उच्च भागमा रहेकाले सोहीअनुसार पाइपलाइनको प्राविधिक संरचना निर्माण गरिनेछ। मोतिहारीको उचाइ समुद्री सतहबाट ७६.६ मिटर छ। अमलेखगन्जको उचाइ ३ सय ३ मिटर छ। गहिरोबाट अग्लो स्थानतर्फ तेल पठाउनुपर्ने भएकाले मोतिहारीमा उच्च क्षमताको पम्प स्टेसन निर्माण गरी पाइपलाइनमा तेल पठाइनेछ। सोही कारण पाइपसमेत उच्च गुणस्तरको जडान गरिएको उनले बताए।
भारतको महाराष्ट्र सिमलेस लिमिटेड कम्पनीले पाइप बनाएको थियो। मोतिहारी–अमलेखगन्ज पाइपलाइनमा १२ मिटर लम्बाइ र १०.७५ इन्च गोलाइको पाइप विस्तार गरिएको छ। जमिनको अवस्था हेरी अढाई मिटरदेखि १५ मिटर गहिराइसम्म गाडिएको पाइपमा समस्या नआउने उनले बताए। पाइपलाइन विस्तार ठेक्का भारतको लिखिथा इन्फ्रास्ट्रक्चरले लिएको थियो। आयोजना सन् २०२० मार्चसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। आयोजनाको काम आठ महिनाअघि सम्पन्न भएको हो। नेपाल र भारत सरकारको सहमतिमा चाँडै दुई देशका प्रधानमन्त्रीले औपचारिक उद्घाटन गर्ने तयारी छ।
प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा पाइपलाइन शिलान्यास गरेका थिए। भारत सरकारको सहयोगमा करिब १६ महिनाअघि मोतिहारी–अमलेखगन्ज पाइपलाइन विस्तार सुरु गरिएको थियो। ६९.७ किलोमिटर लम्बाइको पाइपलाइन विस्तार गर्न भारतले ३ अर्ब २४ करोड भारु खर्च गरेको छ। मोतिहारीबाट रक्सौलसम्म ३३.७ र रक्सौलबाट अमलेखगन्जसम्म ३६.२ किलोमिटर दूरी छ।
आयोजना आरम्भमा कुल लागतमध्ये ७० प्रतिशत भारत र ३० प्रतिशत नेपालले बेहोर्ने भनिएको थियो। पछिल्लो समय सबै रकम भारत सरकारले बेहोरेको हो। सुरुमा आयोजनाको कुल लागत २ सय ७५ करोड भारु थियो। बाराका जितपुर, परवानीपुर र पर्साको रजतजयन्ती चोकमा घरटहरा भत्काउन नसकिएपछि अत्याधुनिक मेसिन प्रयोग गरी गहिरो खाडल बनाएर पाइप विस्तार गरिएको छ। त्यस क्रममा ४९ करोड रकम थप लागेको आयोजनाले जनाएको छ।
नेपाल आयल निगमले अब वार्षिक २ अर्ब रकम बचत गर्ने अनुमान गरिएको छ। इन्धन ढुवानीमा देखिएका झन्झट अन्त्य हुने र ढुवानीका क्रममा हुँदै आएको चुहावट नियन्त्रण हुने आयोजना प्रमुख यादवले बताए। ‘सबैभन्दा पहिला त यो वातावरणमैत्री हुनेछ। त्यसपछि ढुवानीको झन्झट हुनेछैन। बन्द, हडतालमा इन्धन अभाव झेल्नुपर्दैन’, उनले भने, ‘चुहावट पनि नियन्त्रण गर्ने हुँदा देशलाई यो आयोजनाले धेरै फाइदा पुग्नेछ।’