• काठमाडौं। प्रधानमन्त्री खड्गप्रसाद ओलीको अदूरदर्शी नीतिका कारण दक्षिणको छिमेकी भारतसँग नजानिदो किसिमले सम्बन्ध चिसिँदै गएको अनुभूति गरिएको छ ।

    ओली बढी बाठो हुन खोज्दा पछिल्लो समय नेपाल–भारत सम्बन्ध शीत युद्धको अवस्थामा पुगेको विश्लेषण गरिएको छ । यो क्रम ओली सत्तामा रहेसम्म निरन्तर रहने संकेत पनि भारतीय पक्षबाट आएको बुझिएको छ ।

    यसै साता काठमाडौंको नाडी छाम्न आएका भारतको खुफिया एजेन्सी रअका प्रमुखसहितको टोलीले नेपाल–भारत सम्बन्ध अप्ठेरो अवस्थामा रहेको संकेत गरेको उनीहरुसँग भेट गरेका पक्षहरुले खुलाएका हुन् ।

    रअका प्रमुख सामान्तकुमार गोयलले काठमाडौंमा गत शनिबारदेखि सोमबारसम्म तीन दिन रहँदा राजनीतिक भन्दा गैरराजनीतिक भेटघाट बढी गरे ।

    बौद्धको होटल हायातमा कोठा बुक गरेर महाराजगञ्जको एउटा निजी निवासमा बस्ने, कहिले ठमेल त कहिले टंगालको थकाली भान्सामा खाना खाने गरेका उनीहरुले नेपाली सेना, प्रहरी, पत्रकार, व्यापारीहरुदेखि केही विदेशीहरुसँग पनि भेटघाट गरेको बुझिएको छ ।

    रअ प्रमुखको जिज्ञासा मूलतः ओली सरकारको काम र त्यसले नेपाली जनतामा कस्तो प्रतिक्रिया उत्पन्न भइरहेको छ ? अर्थात् ओली सरकारको लोकप्रियताको पारो कस्तो छ ? भन्नेमा बढी केन्द्रीत रहेको बताइएको छ ।

    त्यसमा उनीहरुले खोजे जस्तै मसला पनि लिएर फर्किएका छन् । राजनीतिक तहमा बरु उनीहरुले निकै कम भेट गरेर फर्किए । जो जससँग भेट्नु आवश्यक थियो उनीहरुसँग भेट भयो भन्ने प्रतिक्रिया गोयलले फर्कनु अघि दिएको बताइन्छ ।

    प्रधानमन्त्री ओलीका हनुमानहरुले ओलीले गोयललाई भेट्न नमानेको भने पनि काठमाडौं आएकै दिन राती बालुवाटारमै ओलीसँग भेटेर उनीहरु टंगालको जिम्बु थकाली भान्सामा खान खान गएको सूचना नेपाली सुरक्षा निकायसँग रहेको छ ।

    ओली पक्षले कुरा लुकाउनुलाई गोयलसँगको भेट सकारात्मक नरहेको हुनसक्ने विश्लेषण गरिँदै छ । यसै पनि भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि नेपालतर्फ कुनै चासो नै नदिएको अनुभूति गरिएको थियो ।

    प्रधानमन्त्री ओलीसँग विल्कुलै असहज सम्बन्ध रहेका विदेशमन्त्री एस जयशंकरले भारतका मन मिल्ने देशहरुको भ्रमण गरिसकेका छन् । भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स लगायत देशको भ्रमण उनले गरिसकेका छन् ।

    तर, नेपालमा भने खुफिया एजेन्सीको नवनियुक्त प्रमुखलाई पठाएर नाडी छाम्न खोजिनुले पनि दुई देशबीचको सम्बन्ध कुन स्तरमा खस्किएको छ भन्ने प्रष्ट हुन्छ ।

    पछिल्लो चरणमा नेपाल भारत सम्बन्ध राजनीतिक नजरबाट संचालित हुन खोजेको भन्ने धारणालाई यसले फेरि एक पटक कर्मचारी तहमै फर्काइदिएको त होइन ? भन्ने आशंका उत्पन्न भएको छ ।

    अर्कोतर्फ आगामी अगष्टमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईको उद्घाटनका लागि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने प्रचार गरिएकोमा उनले नेपाल नआउने र नयाँ दिल्लीबाटै स्वीच अन गरेर उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको छ ।

    मोदी आफू मात्रै नेपाल नआउने होइन, उनले चिनियाँ राष्ट्रपति सी चिनफीङलाइ समेत तत्काल नेपाल भ्रमण नगर्न सुझाएको भन्ने चर्चा पनि कूटनीतिक वृत्तमा चलिरहेको छ । भारतको मोदी सरकार नेपालमा के चाहन्छ भन्ने कुरा नेपालका कांग्रेस र कम्युनिष्टहरुलाई भलिभाँती थाहा छ ।

    अर्थमा भन्नुपर्दा नेपाललाई हिन्दू राष्ट्र बनाउने एजेण्डा उनीहरुको प्रमुख मिसन हो । त्यसका लागि जे जे गर्नुपर्ने हो त्यो गर्ने नीति मोदी सरकारको रहेको बताइन्छ । त्यसकै लागि खुफिया एजेन्सीबाट नाडी छाम्न लगाइएको हो ।

    मोदीले गोयललाई निकै विश्वासका साथ रअ प्रमुख बनाएको बताइन्छ । सामान्य अवस्थामा उनी दोस्रो वरियताका मान्छे हुन तर मोदीको एजेण्डासँग मेल खाने भएकाले पहिलो वरियताका व्यक्तिलाई पन्छाएर उनलाई रअ प्रमु बनाइएको चर्चा छ ।

    हिन्दू राष्ट्रको मिसन पूरा गर्न लागि उपयुक्त पात्र के हुन सक्छ ? भन्ने खोजीमा भारत लागेको हुनसक्ने विश्लेषण गरिएको छ ।

    वर्तमान राजनीतिक तहबाट तयो संभव हुन्छ हुँदैन भन्ने निक्र्यौल गर्न रअको मिसनमा रहेको बताइन्छ । सत्ताधारी कम्युनिष्ट र हाल विपक्षमा रहेको कांग्रेसका नेताहरुबाट पटक पटक धोका खाइसकेका मोदीले यिनीहरुसँग परिवर्तित अवस्थामा नाडी छाम्न मात्रै खोजेको हुनसक्ने अनुमान गरिँदैछ ।

    वर्तमान राजनीतिक तहबाट संभव नहुने भयो भने बैंकल्पिक समूह तयार पार्ने वा बाटो अवलम्बन गर्ने योजना बन्नसक्ने अनुमान पनि गरिँदै छ, नेपालीपत्रमा उल्लेख छ ।

    हालका लागि यति हो कि नेपाल–भारत सम्बन्ध ज्यादै असहज अवस्थाबाट गुज्रिएको छ । जुन सतहमा देख्दा ठीकठाक छ तर भित्रभित्रै निकै तनावपूर्ण ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…