• कञ्चनपुर : छोरी निर्मला पन्तको हत्या भएको एक वर्ष बितिसक्दा पनि बाबुआमाका आँसु ओभएका छैनन्। २०७५ साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मला त्यसपछि कहिल्यै घर फर्किनन्। छोरीलाई उल्टाखामकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते शव भेटियो। सायदै यसअघि छोरीका हत्यारामाथि कारबाही माग गर्दै निर्मलाका बाबुआमाले जस्तै यसरी तड्पिनुपरेको थियो। एक वर्षको अवधिमा दुर्गादेवी र यज्ञराजले भोकैतिर्खै कञ्चनपुरदेखि काठमाडौंसम्मका सडकमा उत्रेर राज्यलाई आफ्ना आवाज सुनाए। तर, सातवटासम्म अनुसन्धान टोलीले पनि निर्मलाका हत्याराको आजसम्म सुइँको पाएका छैनन्।

    बाबुआमाको गुनासो : न्याय हरायो

    दुर्गादेवीको बुझाइमा निर्मला प्रकरणमा प्रहरीले सुरुदेखि नै लापरबाही गरेको गुनासो दुवैजनाको छ। घटनास्थल सुरक्षित राख्न नसक्दा प्रमाण नष्ट भए। ‘निर्मला भेटिएको ठाउँबाट प्रमाण नष्ट गरिँदा हत्याराले उम्कने ठाउँ पाए’, दुर्गादेवी भन्छिन्, ‘यसमा ठूलाबडाकै हात छ कि जस्तो लाग्छ। साँचो के रहेछ पत्ता लगाइदिनुपर्‍यो।’ डिएनए परीक्षण मात्रै नभएर अरू प्रमाणका आधारमा अनुसन्धान गरी दोषी पत्ता लगाई न्याय दिनुपर्ने माग दुर्गादेवीले सरकारसँग गरेकी छन्। ‘यो वर्ष दिनको पीडासँगै न्याय नपाउँदाको पीडा झन् ठूलो छ’, उनले भनिन्, ‘जीवनभरिका लागि। सरकाले यस्ता घटना भइरहन्छन् भन्नु ठीक होइन।’ दुर्गाले आफ्नी छोरीमाथि मात्रै यस्ता घटना नभएको बताउँदै अरूमाथि पनि यस्तो भएको सुनाइन्। ‘मेरी छोरीमाथि मात्रै यस्ता घटना भएका छैनन्। धेरै छोरीमाथि घटना भएका छन्। सबैले न्याय पाउनुपर्छ’, उनी भन्छिन्, ‘निर्दोष बालिकाले बाँच्न पाउनुपर्छ।

    मेरी छोरी यस्तो घटनामा नपरेको भए आज मसँगै हुन्थी। बाटोमा हिँडने छोरीमाथि यस्ता घटना हुन नदिने व्यवस्था भइदिए हुन्थ्यो।’ निर्मला हत्या प्रकरण : न्यायको आसमा एक वर्ष बित्यो, उपलब्धि शून्य सरकारले दिएको राहतको रकम छोरीहरूको पढाइका लागि खर्च गर्ने उनले सुनाइन्। ‘राहत रकमकै विषयलाई लिएर श्रीमानसँग सुरुमा केही मनमुटाव भयो’, उनले भनिन्, ‘अहिले उनले पनि कुरा बुझेका छन्।’ छोरीको झल्कोले घरमा बस्न नसकेपछि उनले अहिले रोजगारी खोजेकी छन्। ‘घरमा बसेर चित्तै बुझाउन नसकेपछि नगरपालिकालाई गुहारेँ’, उनले सुनाइन्, ‘रोजगारीका लागि रहरले आएकी होइन। यहाँबाट पाएको पैसाले छोरीहरूको खर्च चलाउन सक्ने भएकी छु।’ निर्मलाका बाबु यज्ञराज छोरीका लागि न्याय खोज्दा खोज्दै मानसिक रोगीसमेत भए। निर्मलाको हत्या भएको वर्ष दिन बित्यो तर हत्यारा पत्ता नलागेकोमा उनलाई ठूलो पीडा भएको छ।

    उनको एउटै माग छ, ‘हत्यारा पत्ता लगाई सरकारले न्याय दिनुपर्‍यो।’ यज्ञराजलाई निर्मलाको न्यायका लागि आन्दोलनमा घाइतेहरूको पनि उत्तिकै चिन्ता छ। ‘आन्दोलनमा घाइतेहरुको राम्रो अस्पतालमा उपचार हुनुपर्‍यो’, उनी भन्छन्, ‘हत्यारालाई बचाउन कुनै प्रमाण बाँकी राखिएन। हत्यारा बचाउन डीएनए परीक्षण र संकलमै त्रुटि गरियो।’ यज्ञराजले सरकारले झुटो अश्वासन दिएको गुनासो गरे।

    ‘गृहमन्त्रीले यस्ता घटना धेरै हुन्छन् भनेर दिएको अभिव्यक्तिले दुःखी बनाएको छ’, उनले भने, ‘अब न्याय मिल्ने आशा मरिसकेको छ।’सरकारले अब नयाँ शिराबाट अनुसन्धान गर्नुपर्ने उनले बताए। छोरी गृहकार्य गर्न गएकै घरदेखि अनुसन्धान हुनुपर्ने उनको माग छ। ‘सरकारले अपराधी पत्ता लगाउन चाहन्छ भने मेरी छोरी जुन घरमा गृह कार्य गर्न गएकी थिई, त्यहीँबाट पुनः अनुसन्धान गरियोस्’, उनले भने, ‘हत्यारा पत्ता लगाउने नाममा सोझा जनतालाई दुःख नदिइयोस्। न्यायको आशामा तड्पाउनुभन्दा गोली ठोकेर मारिदिन सरकारलाई भन्‍न चाहन्छु।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…