काठमाडौँ, साउन ११ गते । स्वदेशमा उत्पादित होस् या आयात गरिएको तरकारी, बिनाविषादीको पाउन प्रायः मुस्किल बन्दै गएको छ । विषादी जाँचको सरकारी प्रयासले पनि यही तथ्य देखाएको छ ।
यसले एउटा गम्भीर प्रश्न हाम्रासामु के छाडेको छ भने हाम्रा भान्छा विषादीमुक्त बनाउन सकिन्न ?, के अर्गानिक अभियान सहरी घरको कौसीबाटै सुरु हुनसक्छ ? बजारमा बढ्दो विषादीयुक्त तरकारीको बिगबिगीलाई निरुत्साहित गर्ने हो भने कौसी या करेसामा तरकारी फलाउन केही जाँगर चाहिन्छ । तब भान्छालाई विषादीमुक्त बनाउन सकिन्छ ।
सेयर कारोबारी दिलीप श्रेष्ठ भन्नुहुन्छ, “मेरो भान्छामा बजारको विषादीयुक्त तरकारी प्रवेश निषेध छ, किनभने कौसीमा म आफैँ तरकारी फलाउँछु । ”
के फल्दैन कौसीमा ?
व्यवसायी श्रेष्ठको कालोपुलमा घर छ । ढोकाको दुवैतिर एभोकाडोका बोट बढ्दै छन् । केही गमलामा फूल, बोझो, अदुवा, कागती, कर्कलो, फर्सी, तुलसी र दुई बोट किबी छ (भालेपोथी) । झुप्पै फलेको किबी लहराले तीन वर्षकै उमेरमा तेस्रो तलाको कौसीमा अँगालो हालिसकेको छ ।
उहाँको यो चोसो परेको करेसाबारीको मुनि पानीट्याङ्की र त्यसमाथि हरियो दूबो पनि छ । जहाँ दिलीप बिहानी ‘जकिङ’ पनि गर्नुहुन्छ । तेस्रो तलाको देब्रे छत सानो छ । खासमा एउटा कोठामाथिको छत हो । कौसीमा भटमास, भिन्डी, करेला, काँक्रो, तनेबोडी फलाइएको छ । नीलो ड्रमका पाँच चक्लामा भिन्डी खेती छ । “भान्छामा भिन्डी अलि रुचाइने भएकाले ३५ बोट लगाइएको छ,” कौसी किसान दिलीप भन्नुहुन्छ, “एकपटक टिप्दा मज्जाले एकछाक खान पाइयोस् भनेर अलि बढी लगाएको नि !”
दाहिने बगैँचामा बुद्धचित्त मालादेखि जिम्बु, छ्यापी र लट्टेको सागसम्म छ । अनारको बोटमा लटरम्म दाना लागिसक्यो । कीराबाट बचाउन दूधको प्लास्टिक पोकाले दाना छोपिएको छ । दहीको उपभोगपछि फ्याँकिएको भिउँटमा स्टे«बरी फलिसक्यो । पानी जारको घाँटी फ्याँकेर बनाएको फकटामा झपक्क भेडेखुर्सानी फलेको छ । लोकल गोलभँेडा, घ्युसिमी, घिरौँला, पिरो खुर्सानी लटरम्मै छ । कौसीमा के खेती गर्ने भन्नेबारे दिलीपको आफ्नै नीति छ, “भान्छामा जे बढी रुचाइन्छ, त्यो लगाइन्छ । ”
भान्छा र भ¥याङको छततिर उक्लिँदा फलफूलको संसार छ । यो सिरानको पाटोमा सात बोट अम्बा र विकासे गोलभँेडाकै बर्चस्व छ । अम्बा पाकेपछि धेरैथरि चराको बास यतै हुन्छ । साहित्यकारसमेत रहनुभएका उहाँ भन्नुहुन्छ, “अम्बाले चरा डाक्छ । म छतमा उक्लन्छु र मेरो भावनाले कविता पोख्छ । ”
किन कौसी खेती ?
बजारमा विषादीयुक्त तरकारी छ, महँगी छ । ताजा र खोजेको तरकारी पाइन्न । खुर्सानी र धनियाँसमेत ताजा पाइन्न तर तिनलाई घरकै कौसी या गमलामा फलाउन सकिन्छ । कौसी खेतीको प्रवद्र्धनमा लाग्नुभएका दीपक लोहनी भन्नुहुन्छ, “भान्छामा भित्रिने सबै तरकारी त कौसीमा लगाउन नसकिएला, कम्तीमा धनियाँ र खुर्सानी त गमलामा फलाएरै खान पुग्छ । ”
कौसी खेतीको तालिममा भान्छाको गणितको हिसाब हुन्छ । दैनिक १० रुपियाँको धनियाँ खर्च बचाउँदा महिनाको तीन सय बचत हुन्छ । कृषिविज्ञ नम्रता पाण्डे भन्नुहुन्छ, “रमाइलोका लागि कौसी खेती सुरु गराँैं, यसले घरखर्चमा पनि सहयोग पुग्छ । ” जापानमा बस्दा नेपालबाटै तरकारीको बीऊ लगेर कौसीमा तरकारी फलाएको बताउनुहुने पाण्डे तनाव व्यवस्थापनका लागि कौसी खेती उपयुक्त हुने बताउनुहुन्छ ।
उहाँले माछा राख्ने बाकस र गमलामा फर्सीदेखि अनार, अम्बा, मुन्तला, आँपसम्म फलाउनुभएको छ । धार्मिक हिसाबले महìव राख्ने आँप, पीपल, अमलाजस्ता वनस्पतिसमेत उहाँले छतमै हुर्काउनुभएको छ । उहाँ भन्नुहुन्छ, “खुसी र आत्मसन्तुष्टि खोज्न कतै जानु पर्दैन, छतमा उक्लिए पुग्छ । समयको सदुपयोग, तनाव व्यवस्थापन, मिठो तरकारी र रमाइलोका लागि कौसीमा खेती गर्छु । ”
जापानमा समेत प्रायः घरमा जडीबुटी र बोन्साईका बिरुवा रोप्ने प्रचलन रहेको चर्चा गर्दै पाण्डे भन्नुहुन्छ, “घर बनाउँदै कौसीमा तरकारी लगाउने डिजाइन सोचिएको हो । हप्तामा तीन÷चार छाक तरकारी छतकै खाइन्छ । ”
कौसी खेती सुरु भयो कसरी ?
राजधानीमा बस्ती विकास र ढलान घर बढेसँगै कौसी खेतीको विकास भएको मान्न सकिन्छ । गमलामा पीपल रोपेर पानी चढाउने हिन्दु संस्कारसँगै धनियाँ, खुर्सानी र एक–दुई बोट सागसब्जी लगाउने प्रचलन राजधानीका नेवार बस्तीमा पुरानै मानिन्छ ।
काठमाडौँकै रैथाने सानुमैँया महर्जन २०५३ सालमा एसियाली विकास बैङ्क (एडीबी)ले दिएको हेल्थ स्यानिटेसन तालिम लिएपछि टिनका बट्टा, प्लास्टिकका भाँडा र बोरामा मुन्तला, खुर्सानी, कागती, काँक्रो, सागको खेती कौसीमा गरेको स्मरण गर्नुहुन्छ ।
पछि काठमाडाँै महानगरपालिका वातावरण विभागमा जागिर भएपछि फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने छलफलमा कौसी खेतीको अवधारणा आयो । यो अवधारणालाई डोनरले मन पराए । सन् २०१३ मा काठमाडौँमा १५० घरमा कौसी खेती थालनी गरियो । आकाशे पानी सङ्कलन, फोहोर व्यवस्थापन र कौसी खेतीलाई व्यवहारमै उतार्नुभएकी सानुमैँयालाई ४२ किलो खुर्सानी बेचेको अनुभव छ । पुदिना, अकबरे खुर्सानी, घिरौला, सिमी, इस्कुस मात्र होइन, भर्मी कम्पोस्ट (गड्यौलेमल)समेत बेचेको अनुभव उहाँको छ ।
खेती कसरी गर्ने ?
कौसीमा खेती गर्दा ढलान चुहिने र भूकम्प जोखिम बढ्ने भनाइ पनि छ । त्यस विषयलाई ध्यानमा राख्दै कौसी खेती गर्न सकिन्छ । कौसी किसान दिलीप भन्नुहुन्छ, “कौसीमा प्लास्टिकका ड्रम, प्लास्टिकका गमलामा राखेर गरिने खेतीले केही जोखिम बढाउँदैन । ” ढलानमा हुनसक्ने पानी चुहावटबाट छतलाई बचाउन फलामको टाँड बनाएर पनि खेती गर्न सकिने सुझाव उहाँको छ । कौसी खेती गरिरहनुभएकी ललितपुर इमाडोलकी मनिता थापा भन्नुहुन्छ, “फलामको टाँड बनाउने र त्यसमाथि प्लास्टिक या माछा बाकस राखेर छत चुहिने समस्याबाट बच्न सकिन्छ । ”
घरको छतमा बोझ बढी पर्छ भन्ने डर लाग्छ भने प्लास्टिकको गमला वा ड्रम काटेर कोकोपिट (नरिबलको जटालाई मसिनो पारेर बनाइएको एक प्रकारको माटो) र मलखाद मिसाएर राख्ने र त्यसमा तरकारीका बिरुवा लगाउन सकिन्छ । यो कोकोपिट तीन–चार पटकसम्म प्रयोग गर्न सकिन्छ । यसमा चिस्यान लामो समयसम्म बस्ने र मलखाद मात्र राख्दै गए हुने विज्ञहरू बताउँछन् ।
कोटेश्वरका धनपति सापकोटाले ३० वटा भाँडामा तरकारी लगाउनुभएको छ । सुनेकै भरमा ६३ सालदेखि कौसीमा तरकारी लगाउँदै आउनुभएका सापकोटा साग, लसुन, गोलभेँडा र खुर्सानीमा आत्मनिर्भर भएको बताउनुहुन्छ ।
खेतीमा नयाँ–नयाँ प्रविधि
तरकारी अर्थात् कौसी खेतीका लागि नयाँनयाँ प्रविधिसमेत भित्रिएका छन् । ‘एरोफोनिक्स’ प्रविधिमार्फत थोरै ठाउँमा खेती गर्न सकिन्छ, जसलाई माटोको आवश्यकता हुन्न । एरोरुटले नेपालमा यो प्रविधिको प्रवद्र्धन गरिरहेको छ । यस प्रविधिबाट करेला, बोडी, लौका, काँक्रो, गोलभेँडा, सागलगायत २८ थरीका तरकारी उत्पादनमा सफलता प्राप्त भएको एरोरुटकी सन्ध्या
बज्राचार्य बताउनुहुन्छ ।
बजारमा पाइने पानी राख्ने ड्रमलाई प्वाल पारेर त्यसमा स्फम राखी विशेष प्रकारले बनाइएको बेडमा बेर्ना सारिन्छ । सो बेर्नालाई चाहिने खाद्यतìव मोटरको सहायताले अटोमेटिक रूपमा ड्रमभित्र पम्पमार्फत दिइन्छ । जहाँबाट बिरुवाले जरामार्फत खाद्यतìव लिन्छ ।
त्यस्तै हाइड्रोफोनिक्स र अक्वाफोनिक्स प्रविधिमार्फत पनि तरकारी खेती गर्न सकिन्छ । अक्वाफोनिक्स भन्नाले माछापोखरीमाथि गरिने खेती भएकाले यो छतमा त्यति सहज नभए पनि हाइड्रोफोनिक्स पानीका सानासाना गमलामाथि गरिने खेती भएकाले यो छतमा सम्भव भएको प्राविधिकहरू बताउँछन् । यद्यपि, यो प्रविधि अलि महँगो पर्न जान्छ ।
कौसीमा कला
कौसी खेतीलाई कलाका रूपमा व्याख्या गर्नुहुन्छ, कौसी किसान दिलीप । फलफूलको बोट काटछाँट गर्दा होस् वा बेलाबेलामा बदलिने रङले आनन्द दिने उहाँ बताउनुहुन्छ । कौसीमा अलौकिक आनन्द प्राप्त हुने अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “यो त जीवन्त योग पनि हो । फलपूmल र तरकारीसँग जब म खेल्छु, सबै थोक बिर्सन्छु । ”
कौसीखेती अभियन्ता लोहनी भन्नुहुन्छ, “कौसी खेतीमा रम्नु भनेको पञ्चतìवसँग खेल्नु हो । यसले नैराश्यताको ठाउँमा खुसी दिन्छ । अल्छीपन पनि हटाउँछ । ” कृषिविज्ञ नम्रता पाण्डे भन्नुहुन्छ, “मेरो लागि कौसीखेती मेडिटेसन हो । बिहान कौसीमै हुन्छ । जागिरबाट फर्किएपछि समय मिलाएर साँझ म कौसीमै रमाउँछु । ”
फोहोर व्यवस्थापनमा सघाउ
घरबाट निस्कने फोहोर व्यवस्थापन ठूलो समस्याका रूपमा देखिएको छ । त्यस्ता फोहोरलाई घरमै व्यवस्थापन गर्नसमेत कौसीखेती उपयोगी सिद्ध भएको छ ।
कौसी खेतीका अभियन्ता लोहनीका अनुसार काठमाडौँका नेवार बस्तीमा घरबाट उत्पादन हुने कुहिने फोहोर व्यवस्थापनको पुरानो प्रविधि हो, साःगा । यो लिच्छवी कालदेखि नै प्रचलनमा रहेको लोहनी बताउनुहुन्छ । स्रोतको फोहोर स्रोतमै व्यवस्थापन गर्न र तरकारी आयात कम गर्न कौसीखेती उपयुक्त भएको धारणा उहाँको छ । राजधानीलगायत २७ वटा नगरपालिका र वडासँग कौसी खेतीबारे सहकार्य गरिरहेको बताउनुहुने लोहनी भन्नुहुन्छ, “सौखका लागि कौसीखेती गरौँ, विस्तारै बानी पर्छ । ”