• काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनमा जाने विषयलाई प्रस्ट रूपमा एजेन्डामै राखे पनि कसरी जाने भन्नेमा नेतापिच्छे नै प्रस्ताव आइरहेको छ । कांग्रेसको संस्थापन पक्ष र इतर पक्षमा रहेका नेता महाधिवेशनका विषयमा सहमत भए पनि महाधिवेशनमा जानका लागि आवश्यक पर्ने सबै संरचनाको भर्पाई कसरी गर्ने भन्नेमा भने विभाजित हुँदै आएका छन् ।
    संस्थापन पक्ष सहमतिमै सबै तहको संरचना बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इतर पक्ष विधि र प्रक्रियाबाटै महाधिवेशनमा जानुपर्ने पक्षमा रहँदै आएको छ । तर, इतर पक्षका केही नेता भने पुरानै व्यवस्थाअनुसार पनि महाधिवेशनमा जान सकिने बताउँदै आएका छन् ।

    कांग्रेस विधानको धारा ७२ (४) अनुसार पार्टीका रिक्त संगठन अन्तरिम व्यवस्थाअनुसार गठन हुने व्यवस्था छ । यसरी विधानअनुसार रिक्त संरचनालाई पूर्णता दिएर मात्रै कांग्रेस १४ महाधिवेशनमा जान सक्ने देखिएको छ ।
    गत शुक्रबारको बैठकमा समेत पार्टीको रिक्त संरचनाको भर्पाई सहमतिमा गर्ने कि निर्वाचन प्रक्रियामा जाने भन्ने विषयमा नेताहरू विभाजित थिए ।
    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिले महाधिवेशनको मिति तय गरेरै विधि र विधानअनुसार सबै तहको संरचना बनाउनुपर्ने बताए । ‘महाधिवशन गर्ने भनेर घोकेर मात्रै हुँदैन, कहिले गर्ने हो, छिटो टुंगो लगाउनुपर्छ । त्यसपछि विधि र विधानअनुसार सबै तहको संगठन बनाएर निर्वाचनमा जानुपर्छ,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।
    उनले महाधिवेशन जपेर मात्रै पार्टी संगठन नबन्ने भन्दै आफूलाई सच्याउने कि अरूलाई झुक्याउने भन्दै नेतृत्वसँग प्रश्नसमेत गरे ।
    ‘महाधिवेशन त सबैले भनेका छौं । साँच्चै, आफूलाई सच्याउने कि अरूलाई झुक्याउने मात्रै हो ?’ पौडेलले नेतृत्वसँग प्रश्न गरे ।
    कांग्रेसको जारी बैठकमा संस्थापन पक्षीय नेताहरूले भने सहमतिमै रिक्त संरचनालाई पूर्णता दिनुपर्नेमा जोड दिँदै आएका छन् ।

    महाधिवेशन गर्ने भनेर घोकेर मात्रै हुँदैन, कहिले गर्ने हो, छिटो टुंगो लगाउनुपर्छ । त्यसपछि विधि र विधानअनुसार सबै तहको संगठन बनाएर निर्वाचनमा जानुपर्छ
    रामचन्द्र पौडेल
    वरिष्ठ नेता, कांग्रेस

    जतिसक्दो छिटो महाधिवेशनमा जानुपर्ने अवस्थामा हामी छौं । निर्वाचनमार्फत सबै तहको संरचना बनाउँदा समय लाग्छ । सहमतिमा गए महाधिवेशन छिट्टै गर्न सकिन्छ
    डा. प्रकाशशरण महत
    सहमहामन्त्री, कांग्रे

    सहमहामन्त्री डा. प्रकाशशरण महतले जतिसक्दो छिटो महाधिवेशनमा जानुपर्ने अवस्था रहेको र निर्वाचनमार्फत सबै तहको संरचना बनाउँदा समय लाग्ने भएकाले सहमतिमा गए महाधिवेशनसमेत छिट्टै गर्न सकिने बताए ।‘जतिसक्दो छिटो महाधिवेशनमा जानुपर्ने अवस्थामा हामी छौं । निर्वाचनमार्फत सबै तहको संरचना बनाउँदा समय लाग्छ, सहमतिमा गए महाधिवेशनसमेत छिट्टै गर्न सकिन्छ,’ उनले भने ।
    सहमहामन्त्री महतले पुरानै संरचनालाई आधार मानेर समेत त्यसबाट क्रियाशील सदस्यताको टुंगो लगाएर महाधिवेशनको मिति टुंगाउन सकिने जनाए । तर, के कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल जारी रहेको र छिट्टै निष्कर्षमा पुगिने उनले जानकारी दिए ।

    तर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने रिक्त संरचनालाई कसरी पूर्णता दिने भन्ने विषयमा पहिले पार्टीका पदाधिकारीको स्पष्ट धारणा आउनुपर्ने बताउँदै आएका छन् । बैठकमा संस्थापन इतर मानिने केन्द्रीय सदस्य धनराज गुरुङले भने छुट्टै प्रस्ताव गरेका छन् । उनले केन्द्रीय समिति बैठक सकिएलगत्तै पुरानै २ सय ४० निर्वाचन क्षेत्रलाई आधार बनाएर क्रियाशील सदस्यता वितरण गर्नुपर्ने र महाधिवेशनको मिति तय गर्नुपर्ने धारणा राखेका हुन् ।
    सिटौला समूहका केही नेताले शीर्ष नेताले भने केन्द्रमा सहमति गरेर तल्लो तहमा समिति बन्न नसक्ने जनाउँदै आएका छन् । उनीहरूले सहमति गरे पनि प्रक्रियामै गएर गर्नुपर्ने बताउँदै आएका हुन् । केन्द्रीय समिति बैठक (आज) आइतबार १ बजे पुनः बस्दै छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…