• काठमाडौँ। संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डिला संग्रौलाले सर्लाहीमा भएको दुई छुट्टछुट्टै घटनामा गृहमन्त्रीले संसदमा झुठा जानकारी दिइरहेको बताएका छन् ।

    अनलाइनपाना डटकमसँगको कुराकानीमा सांसद संग्रौलाले असार ५ मा विप्लवका जिल्ला ईन्चार्ज कुमार पौडेलको मृत्यु इन्काउन्टर (भीडन्त)बाट नभई नियन्त्रणमा लिइसकेपछि गोली हानेर हत्या गरेको बताइन्।

    राष्ट्रिय मानवअधिकार आयोगद्वारा घटनाबारे तयार पारिएको प्रतिवदेनमा पनि अाैल्याइएकाे उनले बताइन् । गत असार ५ गते दिउँसो सर्लाहीको वाग्मती नगरपालिका धरहरानिवासी पौडेलको लोखन्ती खोलानजिक प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको हत्या गरिएका पाैडेल परिवारकाे भनाई छ।

    ‘सर्लाही घटनाबारे गृहमन्त्री रामबहादुर थापाले झुटको खेती गरिरहनुभएको छ, त्यो खेती छाडेर घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गरौं हामी भनिरहेका छौं’ सांसद संग्रौलाले भनिन् ‘तर उहाँ छल्न खोजिरहनु भएको छ । पौडेललाई प्रहरीले समातेपछि हात भाँची गोली ठोकेर हत्या गरेको छ, त्यसमा उहाँलाई हामी छल्न दिन्नौं ।’

    दुईतिहाईको सरकारले तपाईहरुको माग सुनुवाई नगरेको अवस्थामा के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा सांसद संग्रौलले भनिन् ‘त्यो हुन सक्दैन, संसद कसरी चलाउँदा रहेछन् हामी पनि हेर्छौं ।’ संसद सभामुख संसदको मर्यादा र सर्वोच्चता कायम राख्नेतिर भन्दा सरकारको छायाँको रुपमा देखिने खतरा बढेको भन्दै उनले जिम्मेवार बन्न सक्दा राम्रो हुने उनले बताइन् ।

    सर्लाहीको बाँकेम खोलामा अवैध रुपमा गिट्टी बालुवा निकालेर बनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्युको भएको घटनामा दोषीलाई कारवाहीको माग गर्दै भएको स्थानीयको विरोध प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेर सरोजनारायण सिंहको ज्यान लिएको भन्दै त्यस घटनामा निष्पक्ष छानबिन हुनुपर्ने माग उनले गर्दै आइरहेकी छन् ।

    अहिलेको गृहमन्त्री र प्रशासनको तरिकाले नागरिकको सुरक्षा हुन नसक्ने र अभिव्यक्ति स्वतन्त्र, अधिकारमाथि ठाडो हस्तक्षेप हुने उनले बताइन् । ‘सरकारबाटै नागरिकको हत्या हुन थाल्यो भने तपाई हामी को सुरक्षित हुन्छौं’ यहाँ उनले प्रश्न गरिन् ।

    सरकारले विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध गलत भएको र त्यसलाई तत्काल फिर्ता लिएर वार्ताबाट समस्या समाधान गर्न समेत माग गरिन् । प्रतिबन्ध समस्या समाधानको बाटो हुन नसक्ने उनको भनाई थियो । सरकारबाट आजका दिनसम्म आफूहरुको मागबारे केही जानकारी नआएको उनले जानकारी दिइन् ।

    सर्लाहीमा पौडेल र सरोजनारायण सिंहको ज्यान गएको घटना हत्याबाट भएको उनको भनाई छ । ‘मैले यसबारे राज्य व्यवस्था र सुशासन समितिमा घटनाबारे गृहमन्त्रीज्यूलाई थुप्रै प्रश्न गरेँ, तर उहाँ बनावटी जवाफ दिएर टार्न खोज्नु हुन्छ’ उनले भनिन् ।

    त्यस्तै सर्लाहीको विरोध प्रदर्शनमा उत्रिएका ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सरोजनारायण सिंहको प्रहरीको गोली लागी ज्यान गएको थियो । उक्त दुवै घटनामा सरकार दोषी रहेको जिकिर गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेस केन्द्रित दल राष्ट्रियता जनता पार्टीले संसदीय समिति गठन ग गर्न सरकारसँग निरन्तर माग गर्दै आइरहेका छन् ।

    सोही क्रममा सोमबारको संसद बैठकमा कांग्रेस र राजपा दुवैले नाराबाजी गर्दै संसदको वेल्स घेराउ गरेका थिए । संसद ठप्प पारे । संसद चल्न नदिएपछि सभामुख कृष्णबहादुर महराले मागबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

    उता गृहमन्त्री थापाले भने पौडेल प्रहरीसँगकाे भीडन्तमा र सिंह आत्मरक्षाका क्रममा गोली चलाउँदा मारिएको बताउँदै आइरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…