• काठमाडौंं, १५ साउन । असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । बुधबार मुलुकभर खिर भोजन गरेर साउन १५ मनाइँदै छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महìव पनि रहेको हुन्छ ।

     

    आयुर्वेद चिकित्सक डा अमितमान जोशी भन्छन्, “वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ ।’’ उनका अनुसार चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो चलन छ । उहाँले थप्नुभयो, “चामलमा कार्बोहाइड्रेट पाइन्छ। खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो ।”

    लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको संस्कृतिविद् डा सत्यमोहन जोशीले जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ । उनले नेपालमा मात्रै नभएर भारतमा पनि साउन महिनामा खिर खाएमा धेरै शुभ हुने मान्यता रहेको पाइएको बताए ।

    शुद्ध, स्वास्थ्यबद्र्धक तथा खान पनि सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुआतसमेत खिर खान ख्वाएर गरिने प्रचलन छ । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खिरलाई प्रसादका रूपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खिरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ । आयुर्वेद अस्पताल नरदेवीका चिकित्सक डा। सरिता बजगाईंका अनुसार अहिले शरीरमा पित्त सञ्चित हुने ऋतु भएकाले खिर खान उपयुक्त मानिन्छ ।

    दूधमा शीतलपन प्रदान गर्ने मधुर गुण हुन्छ, मरिचले कफ हटाउन मद्दत गर्छ भने नरिबललाई आयुर्वेदमा निकृष्ट फल मानिए पनि यसमा शीतलता प्रदान गर्ने गुण हुन्छ । दाख अग्निबद्र्धक भएकाले यसले पित्त नास गर्ने क्षमता राख्छ । केसरले बल प्रदान गर्छ, वर्ण चहकिलो पार्छ र पित्त नास गर्छ । चिनीमा पनि यस्तै गुण रहेकाले यो ऋतुमा खिर भोजन गर्नु लाभप्रद हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…