• श्रावण १८, काठमाडौं । नयाँ बानेश्वरको ट्राफिक लाइट नियाल्दा अनौठो दृश्य देखिन्छ। एकोहोरो पहेंलो मात्र बलेको देखिन्छ। लाइटको निर्देशन मान्ने हो भने चालक ‘तयार’ मात्र रहनुपर्छ। हिँड्न पाउँदैनन्। पहेंलो बत्ती बले तयार रहने, हरियो बले हिँड्ने र रातो बले रोकिनुपर्छ। यो नियम यहाँ लागू भएको देखिँदैन किनकि लाइट बेकामे भएको छ। यसले सही संकेत नगरेपछि ट्राफिक प्रहरी हातले निर्देशन गरिरहेका हुन्छन्।

    यो समस्या गौशाला, पुतलीसडक, सिंहदरबार अगाडि, कालिमाटी, चक्रपथ, पुरानो बानेश्वर, पद्मोदय विद्यालय अगाडिको चोक, मित्रपार्कलगायत ठाउँमा पनि देखिन्छ। सबै ठाउँमा लाइट छ तर त्यसले काम गर्दैन। निर्देशन सधैं एउटै दिन्छ। सबै ठाउँमा लाइटभन्दा ट्राफिक प्रहरीको हातको निर्देशन चल्छ।

    पुराना हटाउने, मर्मत गर्ने, नयाँ फेर्ने काम सडक विभागको हो। विभागले समयमा ध्यान नपुर्‍याउँदा सवारी साधन चालकलाई हैरानी छ। लाइटमा समस्या भएको सडक पूर्वाधार तथा ट्राफिक महाशाखा प्रमुख दीप बराहीले स्वीकार गरे। धेरै ठाउँमा मर्मत सकिएर चालु हुने अवस्थामा रहेको उनको भनाइ छ। ‘कालिमाटी, तीनकुने, सिंहदरबार, पद्मोदय, बागबजार, पुरानो बानेश्वर, गौशाला, मित्रपार्कलगायत नौ ठाउँमा मर्मत सकिएको छ’, उनले भने, ‘काम सकिए पनि बत्ती सुचारु भएको छैन।’

    ट्राफिक प्रहरी र सवारी साधनलाई यसमा अभ्यस्त पार्न दिनमा दुई घण्टा चलाउने गरिएको उनले सुनाए। ‘एकै पल्ट चालु गर्दा सबै अभ्यस्त नहुन सकिन्छ। केही समय ट्राफिक प्रहरीलाई पनि ट्रेनिङ दिएपछि पूर्णरूपमा सुचारु हुन्छ’, उनले अन्नपूर्णसँग भने।

    थापाथली, माइतीघर, चावहिललगायत ठाउँमा भने बत्तीले कुनै संकेत देखाउँदैनन्। यी ठाउँका ट्राफिक लाइट बिग्रिएको लामो समय हुँदा पनि विभागले मर्मत गरेको छैन। बाँकी ठाउँमा चाँडै मर्मत गर्ने योजना बनेको उनले बताए। ‘मर्मत गर्दा चल्ने ठाउँका बत्ती चाँडो बनाइन्छ’, उनले भने, ‘पूर्णरूपले नचल्ने भएको रहेछ भने नयाँ सिस्टमको बत्ती जडान गरिन्छ।’ अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…