• साउन १८, काठमाडाैँ । सुरक्षा निकायले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहको उच्च तहका नेताहरुको विषयमा सूचना संकलन तिब्र बनाएको छ ।

    सरकार र विप्लव समूहबीच वार्ताको वातावरण बनिरहेको चर्चा भईरहदा सुरक्षा निकायले भने उनीहरुका नेता कार्यकर्तामाथी उच्च निगरानी राखेको हो । विप्लव समूहले विज्ञप्ति नै जारी गरेर वार्तालाई ‘बकवास’ भनेपछि वार्ताको चर्चा जति सेलाउँदै गएको छ, उती नै सुरक्षा निकाय चनाखो बनेको हो । मुलुकका तीनै सुरक्षा संयन्त्र राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयोजक विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सेल्टर खोज्न थालेको छ । यसका लागि तीनवटै संगठनको विशेष टिम सक्रिय रहेको बताइएको छ ।

    एक उच्च प्रहरी अधिकारीले भने, ‘विप्लव र प्रकाण्डलाई मात्रै समात्न सके सो समूह पूरै कमजोर हुने सरकारको निष्कर्ष छ । त्यसमाथि उनीहरुका विस्फोट, आगजनी लगायतका गतिविधि रोकिएका छैनन् ।’ विप्लव र प्रकाण्डविरुद्ध देशका विभिन्न जिल्लामा मुद्दाहरु छन् । प्रकाण्ड यसअघि पक्राउ परेका छुटेका थिए भने कानुनको नजरमा विप्लव फरार सूचीमा छन् । भोजपुर जिल्ला अदालतमा विप्लवविरुद्ध बम विस्फोटसम्बन्धी मुद्दा दायर छ । सुरक्षा सूत्रका अनुसार नेता प्रकाण्ड उपत्यका आसपासकै जिल्लामा छन् भने विप्लवले सेल्टर परिवर्तन गर्दै हिँड्ने गरेका छन् ।

    यसअघि विप्लव समुहका हेमन्त वली, मोहन कार्कीलगायतका उच्च तहका नेता पक्राउ परिसकेका छन् । यसरी उच्च तहका नेताहरु पक्राउ गरेसंगै सुरक्षा निकायले विप्लव समुहका अरु नेताकार्यकर्ता समेत गिरफ्तार गरिरहेको छ ।

    सरकारले गत फागुन अन्तिम साता सो समूहमाथि प्रतिबन्ध लगाएपछि झण्डै सात सयजना पक्राउ परिसकेका छन् । जसमा ३० जनाभन्दा बढी जिल्ला इञ्जार्जकै हैसियतमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला इञ्जार्ज, स्थायी, पोलिटब्युरो सदस्य नै पक्राउ पर्न थालेपछि विप्लव समूहमाथि आन्तरिक सुरक्षाको चुनौती बढ्दै गएको थियो ।

    संगठनमा जंगबहादुर बन्दै विप्लव
    आफ्नो समुहमा विवाद बढ्दै गएपछि संयोजक विप्लवले स्थायी समिति र पोलिटब्युरो भंग गरेका छन् । अन्य १७ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त बनाइएको छ । पार्टीका नेताहरु धमाधम पक्राउ परिरहेका बेला विप्लव समूहको पार्टीको माथिल्लो निकायका कमिटी भंग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    विप्लपले संगठनको सबै नेतेत्व आफैले लिदै धेरै नेताहरुलाई जिम्मेवारी मुक्त बनाएका छन् । तर, केही कमाण्ड भने यथावत् राखिएको छ । आन्तरिक र बाह्य संकटको सामना गरिरहेको विप्लव नेतृत्वको नेकपाका नेताहरुले भने पार्टीमा शुद्धीकरण अभियान चलाउन स्थायी समिति र पोलिटब्युरो भंग गरेको बताएका छन् ।

    संगठनका एक नेताले मकालु खबरसंग भने, ‘पार्टीका कतिपय गोप्य सूचना समेत ‘लिक’ हुन थालेपछि केही समयमा लागि शुद्धीकरण अभियान थालिएको हो । स्थायी समिति बैठकले पार्टीका गोप्य सूचना चुहाएको भन्दै केही नेता, कार्यकर्तालाई पार्टीबाटै बर्खास्त समेत गरिएको छ ।’

    विप्लव समूहको पाँच सदस्यीय स्थायी समिति, ११ सदस्यीय पोलिटब्युरो र ३५ सदस्यीय केन्द्रीय समिति थियो । विप्लव समूहका एक नेताका अनुसार पोलिटब्युरो सदस्य भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ । वीरजंग चन्द विप्लवकै दाइ हुन् ।

    केन्द्रीय सदस्यहरु शंकर खड्का, देवीदत्त पाण्डेय, भेषराज भुसाल, पुरुषोतम विष्ट, धनबहादुर महर्जन, डम्बर विक, आजाद केसी, आरपी तिमिल्सेना, सन्तोषी बिक, कृष्ण अधिकारी, रामप्रसाद तिमल्सिना लगायत १७ जनालाई जिम्मेवारीबाट मुक्त गरिएको छ । उनीहरुलाई खुला मोर्चामा पठाउने निर्णय गरिएको जिम्मेवारीबाटै हटाइएका एक नेताले बताए । यस्तै, पोलिटब्युरो सदस्य मोहन कार्की र कृष्ण धमलालाई भने केन्द्रीय सदस्य समेत नरहने गरी जिम्मेवारीमुक्त गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…