• काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवासहितको संस्थापन समूह र नेता रामचन्द्र पोडेल पक्ष डा. महामन्त्री शशांक कोइरालामाथि भरोसा गर्नुपर्ने बाध्यतामा आइपुगेका छन् ।

    पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा अन्तरिम संरचना गठनमा सहमति नजुटेपछि संस्थापन पक्षीय नेताहरू कोइरालामार्फत पोडेल समूहका नेताहरुलाई फकाउने रणनीतिमा लागेका हुन् । यद्दपि आफ्नो समूहका नेता भएकाले कोइरालाले आफूहरुको एजेण्डालाई बोकेर सभापतिलाई आफ्नो समूहका माग पूरा गर्न लाग्ने अपेक्षा पौडेल समूहका नेताहरुको छ ।

    १४ औं महाधिवेशनको मिति तोक्नुपर्ने पौडेल समूहको अडान र संरचनाको टुंगो नलगाई कुनै पनि हालतमा महाधिवेशनको मिति नतोक्ने संस्थापन पक्षको जिद्दीबीच सहमतिका लागि दुबै पक्षले शशांकको सहारा खोजेको देखिन्छ । एक नेताका अनुसार यही विषयमा पार्टीमा बढिरहेको विवाद अन्त्य गर्न सभापति देउवा र नेता पौडेलबाहेकका नेताबीच छलफल चलेको थियो । छलफलका क्रममा देउवा पक्षीय नेता एवं महामन्त्री पूणबहादुर खड्काले महामन्त्री कोइरालालाई आफ्नो समूहलाई संरचना टुंगो लगाउने एजेण्डामा मनाउन अनुरोध गर्नुभएको हाे ।

    छलफलमा सहभागि सह-महामन्त्री प्रकाशशरण महतले सञ्चारकर्मीलाई भन्नुभयाे, ‘सहमतिमा अघि बढ्दा अगाडिका थप प्रक्रिया टुंग्याउन सहज हुने भएकाले संरचना टुंगो लगाउने विषयमा सहमति गरिदिन शशांकजीलाई आग्रह गरेका छौं ।’ तर संस्थापन पक्षका नेताहरुको प्रस्तावपछि कोइरालाले आफ्नो पक्षका साथिहरु महाधिवेशनको मिति नै तोक्नुपर्ने पक्षमा रहेको जवाफ फर्काउनुभएको संस्थापन पक्षीय एक नेताले बताए । ती नेताका अनुसार कोइरालाले संस्थापनका नेताहरुलाई आफ्नो पक्षका साथीहरुसँग फेरि कुरा गरेर जवाफ दिने बताउनुभएको छ ।

    नेपाली कांग्रेसमा संस्थापन पक्ष पहिले पार्टीका बांकी संरचना टुंग्याएपछि मात्रै महाधिवेशनको एजेण्डामा प्रवेश गर्नुपर्नेमा अडिग छ भने वरिष्ठ नेता पौडेल समूह सिधै महाधिवेशनको मिति तोक्नुपर्ने अडानमा छ । पौडेल समूहले महाधिवेशन र संरचना टुंगो लगाउने विषयलाई सँगसँगै निश्कर्षमा पुर्याउनुपर्ने जोड दिदैं आइरहेको छ ।

    कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दा बसेको केन्द्रीय कार्यसमितिको बैठकका दाैरानमा नेताहरुबीच दुई पक्षीय रस्साकस्सी शुरु भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…