• काठमाडौँ । नेपाल प्रहरीको फरार सूचीमा रहेका गुण्डा जितेन्द्र तामाङ वास्तविक नाम भए पनि दावा लामाका नामले चिनिँदै आएका उनलाई प्रहरीकै केही अधिकृतहरूले संरक्षण गरेका कारण पक्राउ नपरेको खुलासा भएको छ ।

    दावा लामालाई नेपाल प्रहरीले लामो समयदेखि फरार अभियुक्तको सूचीमा राखेको छ । उनी अहिले सिक्किमको माजोङ क्यासिनोमा रमाइरहेका छन् । नेपालबाट क्यासिनोमा जुवा खेल्न जानेहरूलाई मिटरव्याजमा लगानी गर्ने काम उनले गर्दै आएका छन् ।

    उनी माजोङ क्यासिनोमा रकम लिएर बस्छन् जुवा खेल्न जानेहरूलाई लगानी गर्छन् । अधिकांश खेलाडीहरूले हारेपछि उनले मिटरव्याजसमेत जोडेर चेक लिने गरेको समेत खुलेको छ । चेक लिनेमात्रै होइन रकम दिन नसकेपछि उनीहरूको जग्गा–जमिनसमेत हडप्ने गरेको खुलेको छ ।

    २० लाख लगानी गरी उनले ५० लाखसम्म असुल्ने गरेको उनीसँग मिटरव्याजमा रकम लिएर जुवा हारिसकेका एक व्यक्तिले जानकारी दिए । यदि आफूले मिटरव्याजमा रकम दिएको व्यक्तिले जुवा जितेका खण्डमा समेत गुण्डा दावाले खोसेरै रकम लिने गरेको समेत उनले बताए ।

    निजको यो अभियानमा साथ दिनेमा कुँवर र केसी थरका अरू दुई व्यक्ति भएको समेत खुलेको छ । नेपालबाट जुवा खेलाउनका लागि अशोक, राजु, सरेस नाम गरेकाहरूले मान्छे खोजेर क्यासिनोमा खेल्नसमेत नेपालबाट लैजाने गरेको प्रहरीकहाँ जानकारी पुगेको छ ।

    यी सबै जानकारी प्रहरीको माथिल्लो तहमा नपुगे पनि काठमाडौँ परिसर र अपराध महाशाखामा पुगेको छ तर चाहेमा अपराधीहरू जहाँबाट भए पनि पक्राउ गर्न सक्ने अपराध महाशाखाका केही प्रहरीहरूको गुण्डानाइके दावा लामासँग दिनहुँजसो म्यासेन्जर, भाइबर, ह्वास्अपलगायतका माध्यमबाट कुराकानी भइरहने, यताबाट प्रहरीले रकम नपाएका खण्डमा समात्न आउँछु भनी थर्काउने र रकम असुल्ने गरेको समेत खुलेको छ ।

    नियमित रकम पठाएका खण्डमा चुप र रकम नआएका खण्डमा पक्राउ गर्न आउने भनी तर्साउँदै लामाबाट रकम लिने काम महाशाखाका केही प्रहरीले गर्ने गरेको तथ्य अहिले सिक्किमको माजोङ क्यासिनोका नेपालीहरूबीच चर्चाको विषय बनिरहेको छ ।

    दावाले अहिले पनि मिटरव्याजबाट कमाएको रकम नेपालमा विभिन्न जुवा अखडामा लगानी गरिरहेका छन् । एलसी प्रकरणका चर्चित व्यक्तिहरू प्रकाश टिवटेवाल, आनन्द अग्रवालदेखि चर्चित गुण्डा एवम् अपराधीका रूपमा चिनिएका मनोज पुनसम्मलाई विदेशमा पक्राउ गर्ने छवि बनाएको नेपाल प्रहरीले आफैँले फरार अभियुक्तमा राखेको गुण्डा नाइके दावा लामालाई सिक्किम पुगेर किन पक्राउ गर्न सकेन भन्ने प्रश्न पनि अहिले उठिरहेको छ ।

    केरकारका प्रहरी मिले पनि सिआइबीले आफ्नो टोली पठाएर भएपनि सिक्किमबाट दावालाई ल्याउन नसक्ने अवस्था पक्कै थिएन ।

    पानीमुनि गए पनि अपराधीलाई छोडिन्न भन्ने आइजिपी सर्वेन्द्र खनालले सिक्किमको माजोङ क्यासिनोमा अड्डा जमाएर नेपाली जुवाडेहरूलाई लगी मिटरव्याजमा रकम लगानी गरी टाट पल्टाएर पठाउने धन्दामा सक्रिय रहेका दावा लामालाई पक्राउ गर्न किन टोली पठाएनन् वा चासो दिएनन् भन्ने प्रश्न पनि अहिले उठिरहेको छ । यसअघि पनि उनी भारतको सिक्किममा बसेर ‘बेटिङ’ लगाउने काममा सक्रिय थिए ।

    उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले अनलाइन जुवा खेलाएको अभियोगमा समेत खोजी सूचीमा राखेको छ । २०७३ चैत २९ गते काठमाडौँको गौरीघाटको दिव्या पार्टी प्यालेसको जिमहाउसमा दावा लामामाथि गोली प्रहार भएको थियो ।

    २०६७ सालदेखि पटक–पटक जेल पर्दै र छुट्दै आएका लामा विगतमा गणेश लामाको सहयोगीका रूपमा चिनिन्थे पछि उनले आफ्नै ग्याङ खडामात्रै गरेनन् उनलाई काँग्रेसले काभ्रेको तरुण दलको अध्यक्षसमेत बनायो । नेपाल प्रहरीको फरार सूचीमा रहेका लामालाई भारतीय प्रहरीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ३ नम्बर टर्मिनलबाट पक्राउसमेत गरेको थियो ।

    लामा दुबईबाट दिल्ली हुँदै काठमाडौँ आउने क्रममा पक्राउ परेका थिए । उनीसहित ३ जना टर्मिनलमा बसिरहेका बेला पक्राउ परेका थिए ।

    उनी भारतीय जेलबाट निस्किएपछि सिक्किममा बसी माजोङमा मिटरव्याजको धन्दा चलाउँदै आएका छन् । २०७१ भदौमा महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले पनि लागूऔषध बोकेको आरोपमा लामालाई समातेको थियो ।

    त्यसबेला लामामाथि ललितपुरका व्यपारी राजन श्रेष्ठमाथि खुकुरी प्रहार गरेको आरोप पनि लागेको थियो ।नवजनप्रहारबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…