उर्लाबारी, २४ साउन/नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी सेर्पाले पहिचानसहितको संघीय राज्य नभए सिँहदरवार घेराउ गर्ने चेतावनी दिएका छन् । नेपाललाई सबै जातजातीको साझा फुलबारी भनिएपनि एकलजातीय शासन लादिएको उनको आरोप छ ।
पच्चीसौं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयमा आयोजित बृहत कार्यक्रममा आदिवासी नेता सेर्पाले सो कुरा बताएका हुन् । लोकसेवा आयोगको परीक्षा सबै आदिवासी जनजातीले आ–आफ्नो भाषामा दिन पाउनुपर्ने उनको भनाई छ ।
उनले छिमेकी भारतमा समेत पहिचानको आधारमा संघीय राज्य बनेको उदाहरण दिँदै नेपालमा त्यसलाई बंग्याउने चेष्टा भइरहेको बताए । पहिचान सहितको संघीयताले मात्र राष्ट्रलाई एक ढिक्का बनाउने बताउँदै उनले त्यसो नगरिए राष्ट्र विखण्डनतर्फ जाने बताए । आफूहरुलाई अधिकार माग्दा अनेकौं आरोप लाग्ने गरेको बताउँदै उनले भने, ‘अधिकार माग्दा हामीमाथि जातीवादी र विखण्डनकारीको आरोप लगाउनेगरेका छन् । तर त्यसमा हामी पछाडि हट्दैनौ ।’
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिका अध्यक्ष मणिलाल श्रेष्ठको अध्यक्षता र नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी भण्डारी, अन्तर्राष्ट्रिय तामाङ परिषदका पूर्व अध्यक्ष महेन्द्रजंग तामाङ, किरात याक्थुङ चुम्लुङकी प्रदेश कोषाध्यक्ष विमला पालुङ्वा, नेवा न्हूँ पुच उर्लाबारीका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, धिमाल जाती विकास केन्द्रका महासचिव केदार धिमाल, किरात राई यायोख्खाका रामकुमार राईलगायतले बोलेका थिए । त्यसअघि आदिवासी जनजाति समुदायले आ–आफ्नो जातीय भेषभुषामा सहभागी भएर र्याली प्रदर्शन गरेका थिए । कार्यक्रममा बिभिन्न जातजातीको मौलिक नृत्यहरु समेत प्रदर्शन गरिएको थियो ।
https://www.youtube.com/watch?v=nYtBrVD3YLg&t=80s