काठमाडौं– लेटाङ नगरपालिकाका मेयर तथा नेपाली कांग्रेसका युवा नेता शंकर राईले जनताको मन जितिरहेका छन् । उनले गाडी किन्न छुट्टाएको बजेट समेत जनताको काममा लगाएका छन् । उनले ६२ लाख रुपैयाँको जस्तापाता खरिद गरेर जनताको छानो हालिदिएका छन् । वारंगी, ज्यामिरे र जाँतेको माथिल्लो भाग लालझोडा भन्ने स्थानमा खरको छाना अथवा प्लाष्टिकले बारेको घर रहेको थाहा पाएपछि जस्ता वितरण गरेका हुन् ।
‘म मेयर भइसकेपछि नयाँ गाडी किन्नुपर्छ भनेर नगरसभाबाट ६२ लाखको गाडी किन्न बजेट छुट्टिएको थियो । लालझोडामा त्यो समस्या देखेपछि मैले तुरुन्तै बैठक राखेर जस्तापाता किन्ने निर्णयमा पुगें,’ उनले भने, ‘मेरो सेवासुविधा कटौती गरेर जस्तापाता किनियो र सबैलाई वितरण गरियो । यो लेटाङ नगरपालिकाले जस्तापाता बाँडेको नेपालमै पहिलोपटक हो ।’
उनले नगरपालिका क्षेत्रमा ४२५ घरधुरीमा छानोको समस्या रहेको बताउँदै करिब २६० घरधुरीमा जस्तापाता बाँडिसकेको बताए । यो पटक समेत ५०–६० लाख छुट्याएको र त्यसबाट बाँकी घरधुरीमा जस्तापाता बाँड्ने योजना रहेको सुनाए ।