उर्लाबारी – आखाँको ज्योति गुमाएकी छोरीका लागि न्याय माग्दै कहिले वडा कार्यालय त कहिले नगरपालिका धाउनु उर्लाबारी– १ की निर्मला ऋषिदेवका लागि दैनिकी नै बनेको छ। एक वर्षदेखि उनी न्याय पाउने आशमा विभिन्न निकायमा एक पटक मात्र होइन, पटकपटक धाइन्। तर अहँ, न्याय पाएकी छैनन्।
गत वर्ष असार १६ गते छिमेकी १३ वर्षीय सन्दिप माझीले ग्याटिस (रबरको गुलेली)ले हान्दा निर्मलाकी ८ वर्षीया छोरी सरिनाको देब्रे आँखाको ज्योति गुमेको छ। छोरीको आँखाको ज्योति गुमेपछि उनलाई स्थानीयहरुले ‘कतै उजुर नगर्नू, न्याय दिलाउँला’ भनेर फकाए। श्रीमानको मृत्यु भएको १३ दिनपछि छोरीको आँखाको ज्योति गुम्दा निर्मलालाई पीडामाथि पीडा थपियो।
सुकुम्वासी बस्तीमा उनको केही छ भन्नु केवल टाउको मात्र लुकाउन मिल्ने छाप्रो हो। घरको आर्थिक अवस्थासमेत नाजुक भएकी उनले न्यायका लागि चिनेजानेकाहरुसँग हारगुहार मागिन्। तर सबैले आश्वासन मात्र दिए। यसैक्रममा उनी वडाध्यक्ष मछिन्द्रबहादुर कार्कीकहाँ पुगिन्। वडाध्यक्ष कार्कीले छोरीको उपचार गराइदिने सहमति गराइदिएको निर्मला बताउँछिन्।
अहिले सरिनाको देब्रे आँखामा ज्योति छैन। ‘क्षतिपूर्तिका लागि प्रहरीमा निवेदन दिन्छु’ भन्दा वडाध्यक्षले नै ‘कहीँकतै उजुरवाजुर नगर्नू’ भनेको निर्मलाको भनाइ छ। ‘घरमै आएर कतै उजुर नगर्नु भन्नुभयो। के गर्ने, के नगर्ने साह्रै अन्यायमा परेँ,’ उनले भनिन्। पछिल्लो समय वडाअध्यक्षले न्याय दिलाइदिनुभन्दा पनि पन्छिने गरेको र पीडकलाई नै साथ दिइरहेको उनको गुनासो छ। ‘क्षतिपूर्ति दिलाइदिन अनुरोध गर्दा वडाअध्यक्ष ज्युले मेरो कुर्सीको मोलभन्दा ठूलो कुरो गरिस् भनेर झपार्नु भो,’ उनले दुखेसो पोखिन्, ‘गरिबको न्यायका लागि बोलिदिने पनि कोही नहुँदो रहेछ। आफ्नै जिन्दगीदेखि धिक्कार लाग्छ।’
वडाध्यक्ष कार्की भने आँखाको उपचार गर्न सम्पूर्ण पहल आफैँले गरेको दावी गर्छन्। उनले भने, ‘मैले पीडितलाई न्याय दिलाउन आफैँ पहल गरेको छु। पटक–पटक छलफल राखेको छु। तर, छलफलमा कुरा मिलेको छैन।’ वडाध्यक्ष कार्कीले बालिकाको आँखाको ज्योति गुमेकाले उनलाई क्षतिपूर्ति दिनुपर्ने बताए।