•  

    धरान । सुनसरी जिल्लाकै सुगम तथा पर्यटकीय नगर धरान उपमहानगरपालिकामा रिक्त रहेको मेयरको निर्वाचनको माहौल तातिँदै गएको छ ।

    निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय निकायका ५० स्थानमा रिक्त रहेका जनप्रतिनिधिहरुको उपनिर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरेसँगै प्रदेश १ को धरान उपमहानगरपालिकाको मेयर पदमा ककसको प्रतिष्पर्धा होला चर्चाको विषय बनेको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको असायमिक निधनले रिक्त रहेको मेयर पद खान नेपाली कांग्रेस र नेकपा विच नै प्रत्यक्ष प्रतिष्पर्धा हुने निश्चित छ ।

    बामपन्थीहरुको गढकारुपमा रहेको धरानमा कांग्रेस सदैव पराजीत हुँदै आएको छ । २०४६ पछि भएका सबै निर्वाचनमा धरानले कांग्रेसलाई पत्याउन सकिरहेका छैनन् । हुनत धरानमा कांग्रेसीहरुको बाहुल्यता नभएको पनि हैन । तर, अहिलेसम्म भएका निर्वाचनहरुका कांग्रेस बामपन्थी विशेष गरेर तत्कालिन नेकपा एमालेसँग पराजीत हुँदै आइरहेको छ ।

    २०४९ र २०५४ को स्थानीय निर्वाचनमा मेयर र उपमेयर दुवैमा एमालेले जित जित हासिल गर्दा २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा समेत एमालेकै बर्चस्व कायम रह्यो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट मेयरका प्रत्यासी मनोजकुमार मेन्याङवो पराजीत भएपनि लालकिल्ला भने तोडिएन ।

    त्यसपछिको दोस्रो संविधान सभामा तत्कालिन नेकपा एमालेले आफ्नो गुमेको विरासत फिर्ता लिँदा नेपाली कांग्रेस पुनः दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो । नयाँ संविधान जारी भएपछिको निर्वाचनमा समेत बाम गठबन्धन उम्मेद्वार नै विजयी हुँदै कांग्रेसको सपनामा तुषारपात गरिदियो । पञ्चायती ब्यवस्थासँगै बहुदलिय ब्यवस्थाको ३० वर्षे राजनीतिमा कांग्रेसले कहिल्लै लालकिल्ला तोड्न नसकेको इतिहास हेर्दा अब मंसिर ४ गते हुने उपनिर्वाचनमा पनि कांग्रेस विजयी हुन सक्छ भन्ने आधार बन्न सकेको छैन ।

    आफ्नै कारणले हार्दै धराने काग्रेस
    धरानमा कांग्रेसले तारतारे झण्डा फरहराउन नसक्नुमा बामपन्थीको एकताले हैन कि, आफ्नै आन्तरिक किचलो जिम्मेवार छ । धराने कांग्रेसीहरुमा फुटतन्त्र र गुटतन्त्र मज्जाले मौलाएको छ ।

    जतिबेला स्वर्गिय गिरिजाप्रसाद कोइराला र बर्तमान पार्टी सभापति शेरबहादुर देउवा विच अन्तर्संघर्ष हुँदा पार्टी ६० र ४० मा विभाजित भयो । त्यहि देखिको धराने कांग्रेसीहरु कित्ताकाट भए । नेपाली कांग्रेसबाट राजनीति गरिरहेका पूर्व नगरसभापति किशोर राई, बर्तमान नगर सभापति तिलक राई, क्षेत्रिय सभापति चन्द्रप्रसाद श्रेष्ठ, अहिलेकी प्रतिनिधिसभाका सदस्यहरु मिन विश्वकर्मा, मिना सुब्बा लगायतहरु शेर बहादुर देउवा र गिरिजा प्रसाद कोइराला पक्ष विच विभाजित भए । देशभर नै कांग्रेसीहरु ६० र ४० मा विभाजित हुँदा धरान त्यसबाट चोखो रहन सक्ने अवस्था पनि थिए । यो भागवण्डामा धरानका दुई स्थानीय नेताहरु किशोर राई र तिलक राई पक्षधरविच ठूलो अन्तर्द्वन्द्व सृजना भयो ।

    यातायात ब्यवसायी समेत रहेका तिलक राईले फुटवल क्षेत्रमा परिचित किशोर राईलाई देख्न सकेनन् । भने एन्फामा रहेर अन्तराष्ट्रिय स्तरसम्म नाम कमाएका किशोर राईले तिलक राईलाई मन पराउने कुरा पनि भएन । किशोर राईको राजनीति र फुटवलमा तिलक राईले हस्तक्षेप गर्दा, किशोर राईले पनि तिलक राईको खेदो खन्न बाँकी राखेनन् । अन्ततः धरानले हरेक निर्वाचनमा यी दुई राई विचको आन्तरिक दुस्मनीले पराजयको सामना गर्नुपर्यो । जितको नजिक पुगेर पनि हारिरहनु पर्यो ।

    धरानले कांग्रेसमा यसपटक हुने उपनिर्वाचनमा पुनः त्यहि नियती देखा नपर्ला भन्न सकिन्न ?

    सुजेन्द्र तामाङको उम्मेद्वारी

    मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट मेयरको लागि उम्मेद्वारी दिने घोषणा गर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले जागीरबाटै राजीनामा दिइसक्नुमा उनको उम्मेद्वारी निश्चित जस्तै देखिएको छ । करिब डेढ दशकदेखि प्रतिष्ठानमा कार्यरत तामाङले एकाएक राजीनामा दिएर उम्मेद्वार बन्ने घोषणा गरिरहँदा धराने कम्युनिस्ट झस्कीएका छन् ।

     

    अहिले धरानको नेकपा भित्र आन्तरिक कलह छ । नेकपा एमाले र माओवादी विचको एकतामा भागवण्डा नमिल्दा बामपन्थीहरु विभाजित छन् । यहि कलहको फाइदा उठाउँदा पार्टी भन्दा एक कदम अघि बढेर सरकारी जागीरलाई नै तिलाञ्जली दिएर चुनावी रण मैदानमा उत्रिने उद्घोष गरेका सुजेन्द्र तामाङलाई आदीबासी जनजाति र कांग्रेसीले इमान्दार भएर मत दिए उनको जित सुनिश्चित छ । तथापि, सुजेन्द्र तामाङलाई उपनिर्वाचन त्यत्ति सजिलो भने छैन । पार्टी भित्रको रडाको, जातिय राजनीतिको प्रभाव, बाहिर फुटेपनि भित्रभित्रै मिल्ने कम्युनिस्टहरुको रणनीतिले तामाङलाई सकस छ । तामाङलाई घर बाहिरको हैन घर भित्रकै कलहले सिध्याउन सक्छ । अर्थात, किशोर राई र तिलक राईको कलहमा सुजेन्द्र तामाङ ‘बलिको बोको’ नहोलान् भन्न सकिन्न ।

    किरण राईको प्रवेश

    उपनिर्वाचनको मिति घोषणा हुनु अगावै नेकपाका अध्यक्ष प्रचण्डबाट टिका लगाएर विप्लव माओवादीबाट नेकपामा प्रवेश गरेका किरणकुमार राईको धरानमा खुबै चर्चा छ । जनयुद्ध ताका विभिन्न युद्धमोर्चामा बहादुरीपूर्वक लडेका किरणकुमार अहिलेपनि जिउभर गोलीका छर्रा लिएर हिडिरहेको भनिन्छ ।

    पहिलो संविधानसभा निर्वाचनमा धरानका भेट्रान एमाले नेता तत्कालिन धरान नगरपालिकाका मेयर मनोजकुमार मेन्याङवोलाई पराजित गर्दै चर्चामा किरणकुमार राई यसपटक धरानको मेयरमा उठ्ने चर्चा चलाइएको छ । तथापि, नेकपाले यसलाई आधिकारिक पुष्टि गर्न बाँकी छ ।

    संविधानसभा सदस्य समेत भइसकेका नेता स्थानीय निकायको निर्वाचनमा उठ्न आँटेको, पदकै लागि विप्लवलाई लात हानेको भन्दै आलोचना पनि भइरहेको अवस्था छ । तर, यतिबेला धरान नेकपामा अनुभवी र स्थानीय जनताकै प्रतिनिधित्व गर्न सक्ने उम्मेद्वारको खडेरी भने देखिएको छ ।

    नेकपाका अवइन्द्र वेघा, चोत्लुङको हैसियल खासै देखिएको छैन । पार्टी भित्र समेत यिनीहरुको भूमिका सन्तोषजनक नभइरहेको जिकिर गरीएको छ । उपमहानगरपालिकामा उपमेयर नेकपा एमालेकै मञ्जु भण्डारी भएकोले मेयर माओवादी पक्षधरबाट हुनुपर्ने एकाथरी नेकपावालाको धारणा छ । कतिपय कम्युनिस्टले नगरका कार्यवाहक मेयर मञ्जु भण्डारीमा देखिएको दम्भ साइजमा ल्याउन पनि नेकपा पक्षधरलाई मेयरमा उठाइनु पर्ने बताइरहेका छन् ।

    कम्युनिस्टहरुको गढका रुपमा परिचित धरानमा चार तारे झण्डा फरहराउन कांग्रेसलाई जति गाह्रो भइरहेको छ । यस पटक कम्युनिस्ट विराशत जोगाउन योग्य, इमान्दार र जनताले रुचाएको नेतृत्व छान्न नेकपालाई सकस परेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…