– बलिदान शर्मा
रवि लामिछानेका समर्थक मित्रहरु,
नमस्कार एवं हार्दिक अभिवादन!
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि सामाजिक सञ्जालमा यहाँहरुले व्यक्त गरेका विचार, आक्रोश र कुण्ठालाई २४ घण्टायता बडो नजिकबाट नियालिरहेको छु। यहाँहरुका तर्क, कूतर्क, आक्रोश र कुण्ठापछि केही नलेखी रहन सकिनँ। तसर्थ यो सानो पत्र लेख्ने प्रयास गर्दैछ।
प्रिय मित्रहरु,
स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ हो। स्वतन्त्र पे्रसकै कारण विश्वमा तानाशाहीको अन्त्य र लोकतन्त्रको स्थापना भएका अनगिन्ती उदाहरणहरु छन्। नेपाल पनि त्यसको अपवाद छैन। २०३६, २०४६, २०६२–२०६३ को जनआन्दोलन लगायत निरंकुशताविरोधी आन्दोलनमा प्रेस जगतको निकै महत्वपूर्ण र सकारात्मक भूमिका रहेका थियो, त्यो प्रक्रिया अहिले पनि कायमै छ। त्यस अर्थमा नेपालको प्रेस जगत लोकतन्त्रको पहरेदार मात्र होइन, साझेदार पनि हो।
तर, प्रेसका आफ्नै मूल्य मान्यता हुन्छन्, जो विश्वव्यापी रुपमा स्थापित छन्। प्रेस स्वतन्त्र हुन्छ। तर, स्वच्छन्द हुन सक्दैन। हामीले गरेको स्वतन्त्रताको वकालत नागरिक आजादीका लागि हो, समग्रमा नागरिकलाई शक्तिशाली बनाउनका लागि हो। तर, जब स्वतन्त्रताले स्वच्छन्दताको बाटो समात्छ, त्यहाँ अरुलाई लोकतन्त्रका लागि खबरदारी गर्ने प्रेस आफैमा अधिनायकवादी चिन्तनको शिकार हुन पुग्दछ। हाम्रा कतिपय प्रेसका गतिविधि हेर्दा उनीहरु नागरिक आजादीका लागि होइन, प्रेसलाई हतियार बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने घृणित साधनमा रुपान्तरण हुँदैछन्।
प्रिय मित्रहरु,
यही साउन २१ गते नुवाकोटका एक जना पत्रकार शालिकराम पुडासैनीले नारायणगढको कंगारु होटलमा पुगेर आत्महत्या गरे। उनले आत्महत्यापूर्व रेकर्ड गराएको सुसाइट भिडियो प्रहरीले त्यही दिन फेला पारेको थियो। तर, श्रव्यदृश्य सामग्री हुबहु सार्वजनिक भएन। त्यसको दश दिनपछि जब भिडियो सार्वजनिक भयो, त्यसले जन्माएका केही प्रश्नका वरिपरि रहेर यो पत्र लेखिरहेको छु।
सञ्चार जगतको काम शासकहरुलाई खबरदारी गर्नु हो, नागरिक खबरदारीका लागि सुसूचित गर्नु हो। तर, आम सञ्चारकर्मी रवि लामिछानेले प्रस्तुत गर्ने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ पत्रकारिताको आम धर्मभन्दा विपरित अराजक गतिविधिमा केन्द्रित रह्यो। पत्रकारको काम पत्रकारिता गर्नु मात्र हो, कुनै विषयको पक्ष वा विपक्षमा वकालत गर्नु, पत्रकारिताकै आडमा न्यायाधीशकै भूमिकामा कसैलाई अपराधी करार गर्नु वा आफै दण्ड दिनु होइन, जुन काम रवि लामिछाने र उनको टिमले निरन्तर गर्दै आयो।
पत्रकार र सञ्चार माध्यमले के लेख्ने, के नलेख्ने, के बोल्ने, के नबोल्ने, के प्रकाशन–प्रशारण गर्ने, के नगर्ने ? भन्ने विषयमा प्रेस काउन्सिलले आचारसंहिता बनाएको छ, जुन आचारसंहिता नेपालका ठूलादेखि सानासम्म सबै मिडियाले मान्दै आएका छन्। के त्यो आचारसंहिता मान्नु रवि लामिछाने र टीमका लागि बाध्यकारी हुँदैन ? लोकतन्त्रमा राज्यभन्दा माथि कोही पनि हुन सक्दैन। तर, रविले राज्यका प्रचलित कानून र नजिरहरुको धज्जी उडाउँदै कालो धन्दा चलाइरहे।
बाहिर देखिँदा सिधा कुरा जनतासँग कार्यक्रम जति पवित्र देखिन्थ्यो, भित्र धन्दा अर्कै रहेको गुनासो पीडितहरुले बारम्बार गर्दै आएका थिए। तर, भीडमा विश्वास गर्ने, भीडकै पछि दगुर्ने र सत्यमाथि समीक्षा गर्नै नचाहने शक्तिका कारण उनी एकपछि अर्को धुरी चढ्दै गए। उनीमा विकास भएको घमण्ड नै यस्तो एउटा प्रमाण थियो, त्यसले जुनसुकै बेला रविलाई अपराध कर्मका लागि प्रेरित गर्थ्यो, जुन अहिले गरिरहेको छ।
प्रिय मित्रहरु,
कर्पोरेट हाउसहरुलाई धम्काउने, विज्ञापन वा पैसाका लागि दवाव दिने, कुरा मिले चुपचाप बस्ने, नमिले सिधा कुरामा न्यायाधीशको फैसलाझैं कुर्लने रवि लामिछानेको कर्म पत्रकारिता होइन। बरु, यो त रातारात पैसा कमाउने नयाँ धन्दा मात्र थियो, जुन धन्दामा उनी अहिले पनि लागेकै छन्। यो धन्दामा एक न एकदिन ब्रेक लाग्थ्यो, त्यही ब्रेकका रुपमा पुडासैनी प्रकरण सतहमा आएको छ।
अहिले तपाईहरु रविलाई ब्रह्मा, विष्णु, महेश्वरकै दर्जामा राखेर जसरी पूजा गरिरहनुभएको छ, कि त तपाईहरु भनायक भ्रममा हुनुहुन्छ कि उनको लुटको सानो हिस्सा तपाईको भागमा आइपुग्छ वा आइपुग्ने विश्वासमा हुनुहुन्छ। म यहाँ यसै प्रसङ्ग वरिपरि रहेर तपाईहरुसमक्ष केही प्रश्न राख्ने अनुमति चाहन्छु।
रवि लामिछाने विद्रोही नेता होइनन्। राज्यकै प्रचलित कानून मान्छु भनेर सञ्चार माध्यम चलाएका व्यक्ति हुन्। उनी पत्रकार हुन् कि होइनन्, त्यो पनि बहसकै विषय छ। तर, राज्यको एक नागरिकले राज्यलाई नै चुनौति दिन मिल्छ ? कि उनी यो सबै प्रणाली वा नीति मान्दिनँ भनेर विद्रोह गर्न सक्नुपर्छ, कि कानूनको दायरामा बस्नुपर्छ। अहिले उनले जे गरिरहेका छन्, त्यो खुलेआम दादागिरी होइन ?
कतिपय साथीहरु, राज्य र नेताहरुका गतिविधिले वाक्क भएर पनि रविको समर्थन गरिरहनुभएको होला। तर, नेता र पार्टीहरुले गरेका गल्ती र कमजोरीको बिकल्प त्यसभन्दा ठूलो दादागिरी हुन सक्छ ? लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हुन्छ, भीडतन्त्र वा दादागिरी होइन। के तपाईहरु फाँटमा छोडेको साँढेलाई नै स्वतन्त्र प्रेस मान्नुहुन्छ ? कि प्रेसमा काम गर्ने मान्छेमा पनि थोरै नैतिकता र अनुशासन हुनुपर्छ ?
रविले त्यस्ता मान्छेहरुको मात्र विषय मिडियामा ल्याउँछन्, जसले उनलाई भने जति पैसा तिर्न सक्दैनन्, जसको उनीसँग व्यक्तिगत दुश्मनी छ। त्यसको पछिल्लो उदाहरण आफ्नै ससुराले चलाएको अस्पतालको कथा हो। के त्यहाँ रवि चुइँक्क बोल्न सके ? कतिपय व्यक्ति र संस्थासँग पहिल्यै बार्गेनिङ गरेर मोटो रकम असल्नु उनको धन्दा पत्रकारित हो कि गुण्डागर्दी हो ? यतातिर तपाईहरुले सोच्नु पर्दैन ?
रविको व्यक्तिगत आचरणबारे धेरैतिरबाट धेरै प्रश्न उठिसकेका छन्। निकिता विवाह प्रकरणसम्म आइपुग्दा नैतिक रुपमा रवि को हुन् भन्ने तथ्य राम्रैसँग उदाङ्गिएको छ। रवि भगवान् ठान्ने तपाई मित्रहरुले रविका ज्यादतिलाई आँखा चिम्लन मिल्छ ? रविका श्रीमतिहरुको ठाउँमा तपाईका दिदी वा बैनी भएको भए तपाई के गर्नुहुन्थ्यो, यसको चित्तबुझ्दो जवाफ दिन सक्नुहुन्थ्यो ? यसले उनी नैतिक रुपमा गिरेका एक संदिग्ध व्यक्ति हुन् भन्ने कुरा पुष्टि हुँदैन र ?
प्रिय मित्रहरु,
साउन १९ मा पुडासैनीले आत्महत्या गरेपछि तपाईहरुले सामाजिक सञ्जालमा लेखेका स्टाटस के थिए ? तपाईहरु सबैको एउटै माग थियो, ‘पुडासैनीको हत्या भएको हुनसक्छ, निष्पक्ष छानविन होस्।’ आज तथ्य बाहिरियो, पुडासैनीले रविको टर्चर र ज्यादतिले आफू मरेको भिडियो नै रेकर्ड गराएर मरे। के अब पुडासैनीले भिडियोमा उल्लेख गरेका व्यक्तिहरु अनुसन्धानको दायरामा आउनु पर्दैन ? कि पुलिस वयान लिन न्यूज–२४ कै स्टुडियोमा जानुपर्ने हो ? तपाईहरुले मृत्युको छानविन होस् भन्नुभएको थियो, आज छानविन भयो। अनि आफ्नै माग पूरा हुँदा पनि तपाईको यो अराजकता किन ?
तपाईले रविलाई फसाउन भिडियो तयार पारिएको भन्नसम्म भ्याउनुभएको छ, जुन टिप्पणी देख्दा मैले तपाईहरुप्रति दया जाहेर गर्नबाहेक अरु गर्न सक्दिनँ। भिडियोको पनि ल्याव टेष्ट होला, अनुसन्धानको रिपोर्ट आउला। तर, मेरो प्रारम्भिक प्रतिक्रिया, कसैलाई फसाउन कसैको हत्या वा आत्महत्या गर्ने तर्क कुनै संवेदनाभित्र पर्छ ? तपाईहरुका प्रतिक्रिया एक जना मान्छेको सभ्यताले सुन्न र देख्न नसकिने खालका छन् भन्ने लाग्दैन ? तपाईहरुको अध्ययन केका लागि, रविको अन्धभक्तिका लागि कि सत्यको खोजीका लागि ? के तपाईहरु जीवन अन्धकारमै बिताउन चाहनुहुन्छ ?
तपाईहरुले आत्महत्या गर्नेकै गल्ती हो, रविलाई के दोष भन्दै मरिसकेको मान्छेमाथि तथानाम गाली गर्दै हुनुहुन्छ। के तपाईले पुडासैनीको परिवारको पीडामाथि खेलवाड गर्न खोज्नुभएको हो ? तपाईहरुको दिमागले पुडासैनीको श्रीमति, दिदीबहिनी वा दाजुभाइको ठाउँमा उभिएर सोच्नुपर्छ भन्ने लाग्दैन ? मरेको मान्छेलाई समेत बाँकी नराख्ने तपाईहरुले जिउँदा मानिसलाई के गर्नुहोला, कहिल्यै सोच्नुभएको छ ?
समर्थक मित्रहरु,
प्रहरीले पुडासैनी मृत्यु प्रकरणका सबै प्रमाणहरु जुटाएर अनुसन्धान गरिरहेको छ। तर, तपाईहरु चाहिँ ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा तानिरहनुभएको छ। तपाईहरुको एक मात्रै उद्देश्य छ, सामाजिक सञ्जालमा कुर्तक गरेर अनुसन्धान प्रभावित गर्न सकियोस्। निर्मला पन्त प्रकरणमा एक जना पत्रकारले गरेको ब्ल्याकमेलिङका कारण घटनाले नै नयाँ मोड लिएको तथ्य यति छिट्टै बिर्सनुभयो ? तपाईहरु पनि त्यसरी नै कानूनको कठघरामा उभिने दिन आउन सक्छ जस्तो लाग्दैन ?
राज्यसँग फौजदारी संहिता छ, त्यो संहिताभन्दा माथि कोही पनि छैनन् र हुन पनि सक्दैनन्। रवि पनि त्यसको अपवाद हुनै सक्दैनन्। कसैले कसैमाथि सामान्य मौखिक आक्षेप लगाए वा नलगाए पनि मान्छेमाथि वर्षौं छानविन हुन सक्छ। तर, रविमाथि त खुल्ला अभियोग छ। अभियोगमाथि गम्भिरतापूर्वक छानविन हुन्छ र हुनुपर्छ, जुन प्राकृतिक न्यायको आधारभूत सिद्धान्त हो। के तपाईहरुले अनुसन्धान प्रभावित पार्न सकिन्छ भन्ने दिवास्वप्न देखिरहनुभएको छ ? छ भने कृपया भ्रमबाट मुक्त हुनुहोला।
मान्छे आखिर मान्छे नै हुन्छ। उसका पनि गुण र सीमाहरु हुन्छन्। त्यसको अपवाद कोही पनि हुन सक्दैन। कुनै बेला जर्मनीमा हिटलरलाई ईश्वरको अवतारका रुपमा पूजा गरिन्थ्यो, जतिबेला उनी राष्ट्रवादको आवरणमा सत्तामा आए, जब व्यवहारमा उनले फासीवादको अभ्यास गरे, तब उनको ईश्वरीय अवतार उदाङ्गियो र हाडछालासमेत नभेटिने गरी उनको अवसान भयो।
भनिन्छ, अति गर्नु अत्याचार नगर्नु, जुन अहिले रविले गरिरहेका छन्। मित्रहरुलाई मेरो अनुरोध छ, अनुसन्धानभन्दा माथि तपाई–हामी छैनौं। आज जान वा अञ्जानमा तपाईहरुले जुन कूतर्क गरिरहनुभएको छ, त्यसले अनुसन्धानलाई प्रभावित त पार्न नै, त्यसभन्दा बढ्दा अराजकतावादलाई प्रोत्साहन गर्छ। अब फैसला तपाईकै हातमा छ लोकतन्त्र र प्रेस स्वतन्त्रता रोज्ने कि अराजकता र गुण्डागर्दी ? अस्तु !
(लेखक शर्मा सामाजिक अभियान्ता हुन्।)