राज्य मानिसको राजनीतिक रूपमा संगठित हुने चाहना तथा जनइच्छाको प्रतिफल भएकोले यसको हरेक संरचना, प्रक्रिया र क्रियाकलापमा जनचाहना प्रतिबिम्बित हुनुपर्दछ । यही मान्यताअनुरूप राज्य संरचित गर्नु, कार्य प्रणालीको विकास गर्नु र राज्यका कर्ताहरू परिचालित हुनु नै राज्यको वैधता पुष्टि हुनसक्ने राज्य सञ्चालनको प्रजातान्त्रिक पद्धति हो । यही राज्य सञ्चालनको प्रजातन्त्रिक पद्धतीलाई वैधता प्रदान गर्न कानुनी शासन अर्थात 'रुल अफ ल' को आवश्यकता हुन्छ ।
राज्यको आधिकारिक स्रोत जनता भएकोले जनता नै शासनको आधारभूत साध्य र साधन दुवै हुन् । साध्य भएकोले राज्यको हरेक क्रियाकलापले जनइच्छाबाट निर्देशित भई जनहित स्थापित गराउन सक्नुपर्दछ । राज्य वा जनतालाई अधिकारको दम्भ तथा सनकका भरमा निर्णय गर्नबाट पर राख्ने महत्वपूर्ण अस्त्र कानुन हो । कानुनभन्दा माथि कोही हुन सक्दैन र कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने सर्वव्यापी मान्यता छ ।
तर, पछिल्लो समय केही यस्ता घटनाहरु सतहमा आए जहाँ रुल अफ ललाई नै प्रभावमा पार्ने खोजिएको स्पष्ट देखिए । जसमा निकै चर्चामा आएका दुई घटना हुन् : निर्मला बलात्कारपछिको हत्या प्रकरण र अहिले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण । यी दुबै घटनामा प्रहरीले अनुसन्धान सुरु गर्नुपूर्व नै विभिन्न अडकलबाजी र दबाब सिर्जना गरियो ।
निर्मला हत्या भएको एक वर्ष पूरा भइसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । प्रहरी दोषी भनेर सार्वजनिक गरेका दिलीपसिंह विष्टको डीएनए परीक्षणका क्रममा नमिलेपछि प्रहरीले बाध्य भएर दिलीप सिंह विष्टलाई छोड्नु पर्यो । त्यसपछि पनि प्रहरीले विभिन्न व्यक्तिलाई दोषी भनेर पक्राउ गर्यो । त्यसका विरुद्ध विभिन्न चरणमा आन्दोलनहरु र दबाब सिर्जना गर्ने अभियान पश्चात प्रहरी बाध्य भएर उनीहरुलाई निर्दोष भन्दै रिहा गर्न बाध्य भयो ।
पछिल्लो शालीकराम पुडासैनीको आत्महत्या प्रकरणमा पनि भीडले अथवा मानिसहरुको हुलले सडकबाट दोषी र निर्दोष करार गर्न खोजिएको छ । कुनै पनि किसिमको हत्या अथवा आत्महत्यापछि निश्चित प्रकृया अनुसार अनुसन्धान सुरू हुन्छन् र अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा दोषी र निर्दोष करार गरिने मान्यता छ । तर, पछिल्लो समय सडकबाटै मानिसहरुको हुल जम्मा भएर फलानो दोषी र फलानो निर्दोष भनेर किटान गर्दै नाराबाजीको परम्परा बसाउन खोजिएको छ । यो एकदम गलत र अराजक संस्कार हो भने रुल अफ लमाथि हुल अफ ल अथवा फुल अफ लको दबदबा बढ्दैछ भन्ने संकेत हो ।
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्यूज २४ को कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामीछाने, अर्का पत्रकार युवराज कँडेल र एक युवती अस्मिता कार्कीको नाम जोडिएको छ । पुडासैनीले आत्महत्या गर्नु अघि आफ्नो आत्महत्याको कारण तीनजना भएकोले उनीहरुलाई कारबाही गर्न माग गरेको भिडियो सार्वजनिक भयो । उक्त भिडियो आधिकारिक भएको पुष्टि भएको छ । तर, पत्रकार रवि लामिछानेका समर्थकहरुले उक्त भिडियो नक्कली भएको र रवि लामिछाने निर्दोष भएकोले रिहाइको माग गरिरहेका छन् ।
जसरी प्रहरी निर्मला बलात्कारपछिको हत्या प्रकरणमा भीडको कुरा सुनेर अथवा कुनै किसिमको दबाब र प्रभाव परेर अनेक चरणमा गलत निर्णय गर्दै गयो, पुडासैनी आत्महत्या प्रकरणमा पनि यस किसिमका गल्तिहरु दोहोरिने संकेत देखिएको छ । प्रहरी यस विषयमा सजग बन्न आवश्यक छ ।
अहिले रवि लामीछानेको पक्षमा ठूलो समर्थन देखिएको छ र उक्त भीडले रवि लामिछाने निर्दोष भएकोले रिहाइ गर्न आन्दोलन थालेको छन् । वास्तवमा यो आन्दोलनको कुनै औचित्य छैन । उनले एक टेलिभिजन कार्यक्रम प्रस्तोताका हैसियतमा धेरै राम्रा काम गरेका छन् । भ्रष्टाचार र बेथितिका विरुद्ध ठाडो प्रहार गर्ने र जनताका मुद्दालाई प्राथमिकतामा राख्ने गरेकोले उनका समर्थक हुनु स्वभाविक हो । तर, उनले त्यही काम गरेको ब्याजले गलत कामहरु पनि गर्ने छुट भने कदापी हुँदैन ।
अहिले उनी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले निश्चित प्रकृयामार्फत घटनाको अनुसन्धान गरिरहेको छ । यस घटनामा रवि एक्लै प्रहरी हिरासतमा छैनन । उनीसँगै युवराज कँडेल र अस्मिता कार्की पनि हिरासतमा छन् । उनका विषयमा भीडले केही बोलेको छैन । तर, एकोहोरो रुपमा रविको रिहाइको माग गरिरहेका छन् । त्यहाँ केही विवेकी भनिएका व्यक्तिहरुको भौतिक उपस्थिति चितवनमा देखियो भने केही विवेकी भनिएका पत्रकार, लेखकहरुले पनि पूर्वाग्रही भएर लेखिबोली रहेका छन् ।
जसमा माइ संसार डटकमका सञ्चालन उमेश श्रेष्ठले निरन्तररुपमा रविको पक्षपोषण गर्दै लेखिरहेको पाइएको छ । उनले निर्मला हत्या प्रकरणमा पनि पहिलो पोष्टमार्फत निरन्तर ३० श्रृ्ंखलाहरु लेखे । जसमा उनले भीडले प्रहरीको अनुसन्धान प्रभावित भयो र घटनाको दोषी दिलीपसिंह विष्ट नै भएकोतर्फ संकेत गर्यो । तर, यस विषयमा उमेशले माइ संसार ब्लग साइटमार्फत भीडले दबाब सिर्जना गर्न सक्ने विकल्प खुला रहेको बताइरहेका छन् । उनले जसरी पुडासैनीले रविको नाम लिएर आत्महत्या गर्दा रवि पक्राउ परे त्यसरी नै अन्यले नेताको नाम लिएर आत्महत्या गर्दा के हुन्छ भन्ने पनि लेखेका छन् । पहिलो कुरा मर्नु, आत्महत्या गर्नु अथवा जीवन त्याग गर्नु मजाकको विषय होइन । कोही खुशी भएर आत्महत्या गर्दैन । पीडाहरुको चाङले थिचेपछि निकासको बाटो सबै बन्द भएको मसुस गरेपछि सबै विकल्पहरु सकिएको भन्ने भान भएपछि मानिस आत्महत्याको बाटो रोज्छ । त्यसकारण नेताको नाम लिएर आत्महत्या गरेपछि भनेर यस्तो संवेदनशील विषयलाई हल्का रुपमा चित्रण गर्नु सरासर गलत र पूर्वाग्रह हो ।
त्यसैगरी पब्लिक स्पिकरको उपाधि जितेका रमेह प्रसाईं भौतिक रुपमै चितवनमा उपस्थित भएर रविलाई रिहा गरेर आफूलाई जेल पक्राउ गर्न नारा लगाए । पब्लिक स्पिकरमा अब्बल सावित भएका रमेश प्रसाईं बहकाउ अथवा भावनामा डुबेर घटनाको यथार्थता र अनुसन्धानको बाटोलाई अस्वीकार गर्न मिल्दैन । कानुनी राजमा हरेक कुरा कानुनत: हुनुपर्छ । कानुन नमान्ने छुट संविधानले दिएको छैन ।
प्रहरी कहाँ चुक्यो ?
पहिलो कुरा प्रहरीले यथेष्ठ अनुसन्धान नगरिकनै भिडियो सार्वजनिक गर्न हुँदैनथ्यो । आत्महत्या गरेको व्यक्ति भएको कोठा प्रहरीले फोडेको हो, त्यो कोठामा सवभन्दा पहिला प्रहरी छिरेको हो । सबै प्रमाणहरु (मोबाइल, कागजात वा अन्य सबै) प्रहरीले नै संकलन गरेको हुनुपर्छ ।
त्यसपछि सबै स्रोत र सूत्रहरु गोप्य राखेर सुक्ष्म र गोप्यरुपमै अनुसन्धान अगाडि बढाउनुपर्नेमा त्यो भिडियो कसरी बाहिर आयो ? यतिसम्म कि त्यो भिडियो आफन्तको हातमा पनि पुग्न सक्दैन, मिल्दैन र सम्भव छैन । किनकि यो प्रहरी अनुसन्धानको विषय भएकोले प्रहरी नियन्त्रणमा हुनुपर्थ्यो ।
यसले थप अराजकता र अड्कलबाजी गर्ने छुटका साथै मानिसहरुलाई उत्तेजित पार्ने काम गर्यो । जसको फलस्वरुप चितवनमा जम्मा भएको भीडले प्रहार गरेका ढुंगामुढा लागेर सात जना प्रहरी घाइते भए ।
प्रहरी अझै पनि सजग र सचेततताका साथ भावुकता र भीडको बोलीलाई बेवास्ता गर्दै सत्यतालाई चिरेर अघि बढ्नु आवश्यक छ । पत्रकार अथवा जो सुकै भए पनि अपराध गर्ने र अपराध दुरुत्साहन गर्ने छुट छैन । अपराध दुरुत्साहन गर्ने व्यक्तिलाई ५० हजार जरीवाना र पाँच वर्षको कैदको सजाय छ ।
यस घटना उठेका केही प्रश्नहरु :
१. मृतक शरीरको पोष्टमार्टको रिपोर्ट आएको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान थप सहज हुनेछ । रिपोर्ट नआएर नै आत्महत्या अथवा हत्या भनेर सडकबाट प्रमाणित गर्नु कति जायज हो ?
२. जुन होटलमा घटना भयो उक्त होटलका सञ्चालन अथवा कर्मचारीसँग सोधपुछ गर्न किन ढिलाई गरियो ? उनीहरुको बयानका आधारमा पनि धेरै कुरा खुल्न सक्छन ।
३. यदि नेपालको अनुसन्धान व्युरो त्यति बिघ्न उत्कृष्ट छ भने अनुसन्धान गर्ने तरिका माथि सर्वसाधारण प्रश्न खडा गर्न पाउने कि नपाउने ?
४. रवि लामीछानेलाई रिहाइको माग गर्नु कतिको जायज हो ? उनले एक जिम्मेवार नागरिक भएका कारण अनुसन्धानलाई सघाउनु पर्छ कि पर्दैन ?
५. रवि लामीछानेका समर्थक छन् उनको रिहाइको माग गरियो । तर, उनीसँगै पक्राउ परेका अस्मिता कार्की र युवराज कँडेल दोषी भएको भन्ने जसरी एकोहोरो रविको पक्षमा बहस गरिँदा अस्मिता र युवराजप्रति अन्याय भयो कि भएन ?
५. उनको भिडियो प्रहरी श्रोतबाट नेपाल प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले आफूले सार्वजनिक गरेको पुष्टि गरिसकेका छन् । तर, पुडासैनीका व्यक्तिगत च्याटहरु आंशिक रुपमा बाहिर ल्याउने को हो, यस विषयमा प्रहरीले अनुसन्धान किन थालेन ?
रवि एक पत्रकार र आत्महत्या गरिएका भनिएका पुडासैनी पनि पत्रकार, पूर्व सहकर्मी, भिडियोमा भनिएजस्तै पुडासैनी जुनियर । यी कारणले रवि अनुसन्धानको दायरामा ल्याउनु प्रहरीको कर्तव्य हो । उनीहरुको म्याद थप गरेर अहिले अनुसन्धान चलिरहेको छ । यसमा रवि लामिछानेका समर्थकहरुले सहयोग गर्नुपर्छ । भलै अनुसन्धानले उनलाई निर्दोष सावित गर्ला अथवा प्रमाण र तथ्यका आधारमा दोषी प्रमाणित होलान् । यसको रवि र उनका समर्थकहरुले कानुनी शासनको सम्मानका लागि निर्णय स्वीकार्न सक्नुपर्छ । यस्ता किसिमका हुलहुज्जत गर्ने र अनावश्यक आन्दोलन गर्ने परम्पराले समाजलाई अध्याँरोतर्फ धकेल्छ ।
यदी यसो गर्न सकिएन भने पुडासैनप्रति अन्याय हुनेछ र दोषी सधैं रहस्यको गर्तमा रहने छ । यो एक नजिर बन्नेछ । त्यसकारण हुल अफ ल को निर्णय कदापी मान्य हुन सक्दैन र रुल अफ ल लाई नै सर्वव्यापी बनाउन हामी पछि हट्नु हुँदैन । रुल अफ ललाई स्थापित गर्नु प्रजातान्त्रिक र संस्कृत समाजको कर्तव्य हो । कुनै पनि घटनामा दोषी नफसोस् र निर्दोष नउम्कियोस् ।