यहि भदौ ६ र ७ गते नेपाल जेसीज अन्तर्गत रहेको क्षेत्र ख को क्षेत्रीय सम्मेलन मकवानपुर जिल्लाको हेटौँडामा हुँदैछ । वस्तीपुर जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको सबै तयारी पुरा भएको आइतवार सम्पन्न पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सम्मेलनको सेरोफेरोमा रहेका रातोकलम अनलाइनका सम्पादक देबु बानियाँले सम्मेलन निर्देशक गणेश भेटवालसँग गरिएको कुराकानी प्रस्तुत छ ।
१. भदौ ६ र ७ गते एरिया बि को क्षेत्रीय सम्मेलन गर्दै हुनुहुन्छ । तयारी कस्तो हुँदैँछ ?
क्षेत्रीय सम्मेलनको सबै तयारी पुरा भएको छ । कार्यक्रम स्थलको व्यवस्थापन, अतिथि, प्रमुख अतिथि तथा अन्य आगन्तुक अतिथिहरुलाई निमन्त्रण गर्ने काम सम्पन्न भएको छ । प्राविधिक कुराहरु समेत व्यवस्थापन भइसकेको छ । प्रचार प्रसार, सजावट तथा गेट निर्माणको काम सम्पन्न भएको छ । हामी उद्घाटनको दिनको पर्खाइमा मात्र छौँ । अब हामी तपाईहरु आउने दिनको पर्खाइमा स्वागत गर्नका लागि आतुर छौँ ।
२. क्षेत्रीय सम्मेलनको मुख्य लक्ष्य तथा उदेश्य के हो ?
यो सम्मेलन एरियामा रहेका जेसीज संस्थाहरुको वार्षिक साधारणसभा हो । जसमा एक वर्ष भित्र संस्थाले गरेका गतिविधिहरुलाई प्रस्तुत गर्ने, आगामि दिनका योजनाहरु ल्याउने, नेपाल जेसीजका गतिविधिहरुलाई सार्वजनिक गर्ने हो । साथै एरियाभित्रका शाखाहरुको यथार्थ जानकारी समेत यस सम्मेलनमा हुनेछ । यसका साथै छिमेकी शाखाहरुबिचको सम्बन्धलाई समेत थप मजबत बनाउन सम्मेलनले सहयोग पुर्याउँछ ।
३. यस सम्मेलनमा के नयाँ प्रभावकारिता दिँदै हुनुुहुन्छ ?
जेसीज भन्ने एउटा सक्रिय युवा भन्ने बुझिन्छ । जहाँ त्यो युवा व्यसायिकता बनेको छ । जेसीजले पहिलो प्राथमिकता नै युवालाई व्यवसायिक बनाउने हो । त्यसैले यस सम्मेलनले पनि युवाहरुलाई उद्यमशील बनाउँदै राष्ट्रको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उत्प्रेरित गर्ने छ । साथै जेसीजमा आउने नयाँ सदस्यहरुलाई उत्प्रेरित गर्दै जेसीजप्रति आस्थावान बनाउँदै व्यवसायिक व्यक्ति बनाउन पनि सहयोग गर्ने छ ।
४. देशभरबाट आउने जेसीजकर्मीहरुका लागि व्यवस्थापन कसरी गर्नु हुन्छ ?
सम्मेलन सम्पन्न गर्नका लागि हामीले विभिन्न उपसमितिहरु निर्माण गरेका छौँ । अतिथि सत्कार, मञ्च व्यवस्थापन, खाना व्यवस्थापन, होटल व्यवस्थापन, आर्थिक व्यवस्थापनलगायतका उपसमितिहरु छन् । जसले आ आफ्नो क्षेत्रबाट आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ । जसले गर्दा हरेक काममा सहज भएको छ । यसकारण सम्मेलनमा आउने जेसीजकर्मीहरुका लागि हामीले सकेसम्म सहज होस भन्ने उदेश्य राखेका छौँ । जसमा सम्मेलनमा आउने जेसीज साथीहरुलाई सहज होस भन्नका लागि हामीले अग्रिम रजिष्टर गराइरहेका छौँ । साथै सबै सहभागिका लागि एसी सहितको सुविधासम्मपन्न होटलको व्यवस्था गरेका छौँ ।
५ यस सम्मेलनले तपाईहरुको शाखालाई के फाइदा पुग्छ ?
कुनै पनि शाखाले सम्मेलन गर्ने अवसर पाउनु अवसर र चुनौती दुवै हो । एरिया बि का ३२ वटा शाखाहरुको जमघट हुन्छ । साथै अन्य क्षेत्रबाट समेत जेसीजकर्मीहरुको सहभागिता हुनेछ । एक अर्का शाखाहरुसँगको सम्बन्ध थप सुदृढ हुन्छ । त्यसमा आफ्नो शाखाले गरेका राम्रा कुराहरुलाई प्रस्तुत गर्ने अवसर समेत मिल्छ । यसका साथै सम्मेलनमा शाखाका लागि केही आर्थिक स्रोत समेत आम्दानी हुनेछ ।
६. यो सम्मेलनले हैटौडाको बस्तीपुरबाट दिने सन्देश के हो ?
पहिलो कुरा त मकवानपुर जिल्ला औद्योगिक तथा पर्यटकीय क्षेत्र हो । यस जिल्लामा जेसीज युवाहरुको सम्मेलन हुनु भनेको यहाँको पर्यटन क्षेत्रलाई ठुलो टेवा पुग्नु हो । देशका विभिन्न जिल्लाबाट आउने जेसीज अभियान्ताहरुलार्य यहाँको पर्यटकीय तथा औद्योगिक क्षेत्रका बारेमा अवगत हुनेछ । साथै हामीले यहाँका केही महत्वपूर्ण पर्यटकीय क्षेत्रका बारेमा स्थलगत अवलोकन गराउने लक्ष्य समेत लिएका छौँ । जसले गर्दा यहाँको पर्यटन क्षेत्रमा टेवा पुग्नेछ । यसैगरी, मकवानपुर जिल्लाको पहिचान दारको ठेकीलाई हामीले विषेश सामाग्रीका रुपमा अघि सारेका छौँ । यस जिल्लाका एउटा पहिचान रहेको यो ठेकी हामीले मायाको चिनोका रुपमा दिने तयारी गरेका छौँ । जसले अझ यहाँको पहिचानलाई देशभरसम्म पुग्नेछ । नेपाल जेसीजले विश्वास गरेर वस्तीपुर जेसीजलाई दिएको जिम्मेवारीलाई सहज रुपमा सम्पन्न गर्दै आगामी दिनका लागि समेत वस्तीपुर जेसीजले जुन सकुै राष्ट्रिय कार्यक्रम गर्न सक्छ भन्ने सन्देश दिनेछौँ ।