• काठमाडौँ, भदौ ३ । सङ्घीय संसद्का सभापतिहरूका लागि भएको गाडी खरिदको विषयमा छानबिन गर्न गठित समितिले खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गरेको छ । समितिको सोमबार बसेको पहिलो बैठकले खरिद प्रक्रियाका कागजात सङ्घीय संसद् सचिवालयसँग माग गरेको हो ।

    सोमबार नै सबै कागजात उपलब्ध गराउन समितिले सचिवालयलाई निर्देशन पनि दिएको छ । नयाँ गाडी खरिदपछि हस्तान्तरणको एक महिना नबित्दै प्राविधिक समस्या देखिएपछि सभामुख कृष्णबहादुर महराले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गर्नुभएको थियो ।

    छानबिन समिति संयोजक एवं राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले खरिदसम्बन्धी सबै कागजात माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खरिद प्रक्रियाका सबै कागजात आजै उपलब्ध गराउन भनेका छौँ । स्पेसिफिकेसनका कागजात पनि माग गरेका छौँ । सचिवालयले दिनुपर्ने कागजात आज नै उललब्ध गराउन भनेका छौँ ।”

    समितिले प्राविधिक र खरिदका विषयमा छानबिनका लागि प्राविधिक जनशक्तिसमेत दुई निकायबाट माग गरेको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट एक मेकानिकल इन्जिनियर र सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट एक सहसचिव माग गरेको छ । दुवै निकायलाई दुई दिनभित्र जनशक्ति सिफारिस गर्न समितिले आग्रहसमेत गरेको छ ।

    यस्तै समितिले गाडी खरिद गरी दिइएका सङ्घीय संसद्का १० जना सभापतिलाई मङ्गलबार बिहान छलफलका लागिसमेत बोलाउने निर्णय गरेको छ । सभापति कृष्णभक्त पोखरेलले भने उक्त गाडी लिइसक्नुभएको थिएन । अन्य १० सभापतिलाई गाडी उपलब्ध गराइएको थियो । छानबिन समितिका पाँच सदस्य पनि प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाका दुई विषयगत समिति सभापति हुनुहुन्छ । समितिमा बिडारीसहित कृष्णभक्त पोखरेल, भरतकुमार शाह, कृष्णप्रसाद दाहाल र तारादेवी भट्ट हुनुहुन्छ ।

    के हो प्रकरण ?
    सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । जसमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो । ११ गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन् । सचिवालयले महिन्द्रा एस–फाइभ स्कोर्पियो गाडी खरिद गरेको हो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालयले जनाएको छ । गोरखापत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…