काठमाडौं । पत्रकारितामा छुट्टै लय समात्दै गरेको अन्नपूर्ण पोस्ट् फेरि कमजोरउन्मुख भएको छ । पत्रिकाको भन्दा आफ्नो उन्नतिलाई प्रधान ठान्ने प्रवृत्तिले प्रवेश पाउन थालेपछि पत्रिकाको लय बिग्रन थालेको हो । सम्पादक र पत्रकारहरू चाहिं धनी मानिए पनि पछिल्लो समयमा पत्रिका भने संक्रमणबाट गुज्रिएको स्रोत बताउछ । २०७६ साउन १ गतेबाट अनलाइन हेर्ने गरी नयाँ सम्पादकमा विष्णु सुवेदीलाई भित्र्याइएपछि यतिबेला सम्पादककै भूमिकामा तीन र प्रधानसम्पादक गरी चारजना आसीन छन् । तर, पत्रिका ‘रोगी आमाका निरोगी सन्तान’ जस्तो देखिन थालेको चर्चा पत्रकारहरूले गर्न थालेका छन् । पत्रिकालाई रोग नलागे पनि पोषण तत्वको अभाव खट्किएको गुनासो गर्न थालिएको छ यतिबेला ।
कार्यालयमा बसेर काम गर्नेभन्दा बाहिर बसेरै आदेश दिने सम्पादकहरूको प्रवृत्तिले बढावा पाउन थालेपछि स्वाभाविक रूपमा पत्रिकाको उन्नति कसरी हुन सक्छ रिपोर्टरहरूले प्रश्न गर्न थालेका छन् । अनलाइन सम्पादक रहेका विकास थापा पत्रिकाको सम्पादकमा तानिए । त्यसो त पछिल्लो एक वर्ष विकास थापाले अनलाइनको उन्नतिका लागि सिन्कोसम्म भाँचेको पाइएन । जसले जे भन्यो त्यसको गहिराइमा नपुगी प्रतिक्रिया दिने थापा पनि व्यवस्थापनलाई खुसी पार्नेबाहेक अनलाइनलाई माथि उठाउन उनको खासै भूमिका देखिएन । अन्नपूर्ण पोस्ट्का विषयवस्तुलाई पोस्ट् गरेको भरमा अनलाइनले राम्रासँग प्रतिस्पर्धा गर्न सक्दैन ।
विष्णु सुवेदीबाट पनि अनलाइनले चमत्कार गर्छ भन्नु निरर्थक हो, किनकि उनी अन्नपूर्णका लागि ‘टेस्टेड’ पत्रकार हुन् । त्यसो त उनी आएपछि पत्रिकामा लामो समयदेखि काम गरेका पत्रकारहरूमा निराशा छाएको गुनासो सुरु भएको छ । आफूसँगै काम गरेको मान्छेलाई आफूले खाइरहेको भन्दा तीनगुना बढी तलब दिएर ल्याइएपछि काम गर्ने मनस्थिति बिग्रनु अस्वाभाविक हो र ? भन्ने प्रश्न पनि गर्न थालिएको छ । कसैलाई धेरै तलब दिएर ल्याएकै भरमा अनलाइन सप्रिन्छ भन्ने सपना देख्नु व्यवस्थापनको गम्भीर त्रुटि भनेर ब्यवस्थापनको आलोचन गर्न थालिएको छ । त्यसो त एकपटक पत्रिकालाई लात हानेर जाने व्यक्तिलाई जति भन्यो त्यति पैसा दिएर फेरि ल्याउने प्रवृत्ति सबैभन्दा घातक हुँदै आएको गुनासो पनि अन्नपूर्णभित्र उठ्न थालेको पत्रकारहरू बताउछन् । हिजो पाँच हजार थप्न गाह्रो भएर जागिर छाडेको एउटा ‘प्रुफ रिडर’ लाई दोब्बर पैसा दिएर ल्याउनुको कुनै औचित्य थिएन । यस्ता प्रवृत्तिले पुराना पत्रकारको मानमर्दन मात्र भएको भन्दै आक्रोस ब्यक्त गर्न थालिएको खबर छ ।
विकास थापा र अखण्ड भण्डारीबीचको ‘कम्युनिकेसन ग्याप’ ले पनि धेरै विषयमा असर पु¥याएको एक पत्रकारले बताए । पछिल्लो समय अखण्ड कार्यालयमा निकै कम देखिन्छन् । दुईजनाबीच खासै कुराकानी भएको पाइँदैन । त्यसो त विकास थापाको पत्रिकातिरको आगमनपछि भण्डारीले विकल्प खोजिसकेको चर्चा नचलेको पनि होइन । तैपनि नून खाएपछि सोझो गर्नुपर्छ भन्ने नेपाली उखानको उनले पूरै बेवास्ता गरेको गुनासो ब्यवस्थापन समक्ष पुगेको स्रँेत बताउछ । कामप्रति दत्तचित्त हुनेहरू पछि पारिने र अन्नपूर्णको काम कहिले जाला घाम भन्नेहरूले टाइँफाइँ देखाउने र उनीहरू नै हाबी हुने परम्पराको सिकार पत्रिका भइरहेको एकजना रिपोर्टरले साँघुलाई बताए ।
समाचारको प्लेसिङ, व्यक्ति हेरेर समाचारको मूल्यांकन गर्ने प्रवृत्ति र आफूलाई मन परेका जिल्ला संवाददाताका समाचारलाई मात्र पहिलो पेजमा स्थान दिने सम्पादकहरूको शैलीले जिल्लाका धेरै र केन्द्रका अधिकांश संवाददाता रुष्ट रहेको बताइन्छ । राजनीतिक व्युरो कमजोर भएकाले त्यहाँबाट उत्पादिन समाचारले पहिलो पृष्ठमा स्थान पाउन नसकेको गुनासो पनि सुनिन्छ । मुखपृष्ठमा राजनीतिक समाचारको अभावले पनि राजनीतिक व्युरोको कमजोरी स्पष्ट पार्छ । सम्पादकले समाचार छान्न नजानेका हुन् कि नियतवश गैरराजनीतिक बनाइएको हो त्यो त ‘उनीहरूले जानुन्’ भन्नेहरूको कार्यालयमा गाइँगुइँ चलिरहने ती पत्रकारले बताए ।
पछिल्लो पटक २०७६ साउन २२ गते बुधबार पहिलो पृष्ठमा ‘बजारै बनमा’ शीर्षकमा प्रकाशित मुख्य समाचारले पनि धेरैको ध्यान आकृष्ट गरेको छ । वन अतिक्रमण गरेर व्यापारिक सहर बनाइयो भन्ने समाचार बन्नुपर्नेमा उल्टो व्यापारीको पृष्ठपोषण गरिएको छ । समाचार त वन अतिक्रमण गरेर सहर बसालियो बन्नुपर्ने होइन र ? समाचारमा उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोखरेलले बजार स्थापित भइसके पनि स्वामित्व पाउन नसकेको भन्दै वन अतिक्रमणले मान्यता पाउनुपर्ने पक्षमा वकालत गरेका छन् । वन मासेर सहर बनाउन्जेल दाङको वन कार्यालय के हेरेर बसेको थियो ? एउटा मूल धारको पत्रिकाले कुनै व्यापारीले बन मासेर सहर बनाउँछ भने त्यसलाई मान्यता दिन ‘राज्यले लालपूर्जा किन नदिने ?’ भनेर निश्चित व्यापारीको पक्षमा वकालत गर्न मिल्छ ? जहाँ व्यापारीलाई अप्ठेरो पर्छ त्यहाँ अन्नपूर्णका सम्पादकहरूले उपयोग गर्छन् भन्ने चर्चाको पछिल्लो उदाहरण यही समाचार बनेको छ । भालुबाङका व्यापारीबाट अखण्ड ‘प्रभावित’ भएको आरोप लागेकोछ । ‘प्रभावित’ भएर नै होला दाङका रिपोर्टरलाई उक्त समाचार लेख्न लगाएको हुन सक्छ भनेर अन्नपूर्ण टावरका एक युवा पत्रकारले शंका ब्यक्त गरे । यसअघि वार्षिकोत्सवमा प्रकाशित एक सय २० पृष्ठको विशेषांकमा आधाजसो पेजहरू अखण्डले ‘आप्mना मान्छे’ (प्रभावित तुल्याइएका)का गुनगान गाएर भरेको आरोप पनि लगाइएको छ ।
जिल्लाबाट पठाएका समाचारले बढी स्थान पाउनेमा राजकरण महतो पर्छन् । अखण्ड भण्डारी र महतोको गहिरो सम्बन्धको रहस्य खोजी पनि हुन थालेको छ । अघिल्लो वर्ष मात्र उत्कृष्ट संवाददाताको पुरस्कार पाएका महतो यसपटक पनि दोहोरिनुले त्यस्तो गहिरो सम्बन्धको पुष्टि गर्छ । सत्यतथ्य नबुझी त्यसैको पछि लाग्ने व्यवस्थापन र प्रधानसम्पादक यसरी नै मूकदर्शक बनिरहे भने पत्रिकाको अरू दुरुपयोग हुने चिन्ता श्रमजीवी पत्रकारहरूले ब्यक्त गरेका छन् । एउटा व्यक्तिको उन्नतिका लागि पत्रिका कहिलेसम्म बन्धक बन्ने हो ? प्रधानसम्पादक हरिबहादुर थापा हुन् कि अखण्ड ? भन्ने प्रश्न पनि उठाउन थालिएको छ ।
मलेसियाले नेपाली कामदार लैजान छाडेको झन्डै डेढ वर्ष हुन लागेको छ । छिटो कामदार लैजानुपर्ने दवाद दिन अन्नपूर्ण अर्थतन्त्रका संवाददाता तुलसी सुवेदीलाई दैनिकजसो यससम्बन्धी समाचार लेख्न लगाउने गरेको बताइन्छ । म्यानपावर एजेन्सीसँगको साँठगाँठ देख्दा काम गर्न जाने कामदारलाई भन्दा अन्नपूर्ण सम्पादहरूलाई मलेसियाको गन्तव्य खुलाउन हतार हुनुको रहस्यको पनि खोजी सुरु भएको छ । म्यानपावर एजेन्सीका प्रतिनिधि दैनिक जसो अन्नपूर्ण पोस्ट्को कार्यालयमा आउने÷जाने गरेको रहस्यको पनि खोजी सुरु भएको छ । व्यक्तिगत फाइदाका लागि पत्रिका कतिन्जेल उपयोग हुने हो ? क्षमता भएर पनि पुराना पत्रकारलाई मिनिमाइज गरेर नयाँ आगन्तुकलाई पुल्पुल्याउने सम्पादक र व्यवस्थापनको शैलीको अन्त्य हुनु पर्ने माग अन्नपूर्णका पत्रकारले गर्न थालेका छन् ।
साँघु न्यूज