काठमाडौं, भदौ ४
पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका चर्चित टेलिभिजन पत्रकार रवी लामिछानेले आफूलाई प्रहरीबाटै खतरा रहेको बताएका छन्।
पत्नी निकितामार्फत सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै रवीले लेखेका छन्, ‘पाँचौ दिनसम्म मैले प्रहरीसँग आफूलाई सुरक्षित महसुस गरेको थिएँ, तर, आजबाट भने म प्रहरीसँग असुरक्षित महसुस गरेको छु।’
निकिता पौडेलले रवीका तर्फबाट सामाजिक सञ्जालमा गरेको पोष्टमा उनीसँगै युवराज कँडेल र अस्मिता कार्की रुकुको बयानबाट घटनामा आफूहरुको कतै संलग्नता नदेखिएको स्पष्ट हुँदाहुँदै प्रहरीले फसाउनका लागि पुनः म्याद थपेको जिकीर गरेका छन्।
हिरासतबाटै रवीले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीप्रति केही प्रश्न पनि उठाएका छन्। ‘एसपी दानबहादुर मल्लजीले शालिकजीको भिडियो प्रहरीसँग मात्रै सुरक्षित छ भनेर दाबी गरिहेका बेला उक्त भिडियो को बाट कसरी लिक गरियो, भन्ने विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने थियो कि थिएन, र अर्को कुरा यदी त्यो भिडियो परिवारका सदस्यबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो बाहिरिएको विषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन?’ उनले सोधेका छन्।
आफूलाई पाँच वर्ष जेलमा सडाउने षडयन्त्र भएको दाबी गर्दै रवीले हिरासतबाट बाहिर निस्किन पाए पाँच मिनेटमै याे घटनामा आफ्नाे संलग्नता नभएकाे प्रमाणित गरिदिन सक्ने दाबी पनि गरेका छन्।
रवी पत्नी निकिताले साे भिडियाे बाहिरिएकाे सम्बन्धमा चितवनका एसपी मल्लसहित तीन जनाबिरुद्ध बुधबार काठमाडाैं प्रहरीमा जाहेरी दिन खाेज्दा प्रहरीले जाहेरी लिन मानेकाे थिएन।
गत साउन २१ गते चितवनमा मृत भेटिएका पत्रकार पुडासैनीले मृत्यु अघि पूर्व सहकर्मी रवी लामिछानेसहित तीन जनालाई पाेलेकाे भिडियाे सार्वजनिक भएपछि उनीहरु प्रहरी हिरासतमा छन्। मंगलबार दाेस्राेपटक थप पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएकाे छ।
पत्नी निकितामार्फत सामाजिक सञ्जाल फेसबुकमा पोष्ट
शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि ।
म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।
पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु ।
बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?
तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउँनु पर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।
यो घटनालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । " रवि लामिछाने