भदौ ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार (आज) पनि जारी छ । आजको बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिका विषयमा छलफल बढी केन्द्रित हुने बुझिएको छ ।
पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असहमति जनाएका छन् । प्रवक्ता श्रेष्ठले नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिने बताए ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, हानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायत विषयमा छलफल भए पनि थप गृहकार्य जरुरी रहेको भन्दै बैठक स्थगित भएको थियो ।
बैठकमा थप गृहकार्य जरुरी रहेको भन्ने निष्कर्षमा नेताहरु पुगेपछि बैठक बिहीबारका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाको पोलिटब्युरो चयनको विषय पनि बाँकी रहेको छ । पार्टी एकताका आधारभूत कार्यलाई टुङ्गो लगाएको नेकपाले बाँकी रहेका कामलाईसमेत सम्पन्न गरी नयाँ सन्देश दिने तयारी गरेको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी गरिएको छ ।