पत्रकार शालिकराम पुडाशैनीको मृत्यु पुर्व रेकर्ड गरिएको अडियो/भिडियो सार्वजनिक भएपछि यसले टिभी पत्रकारिताको बिकृतिलाई मात्र नभई समग्र पत्रकारिताको विकृतिलाई उदाङ्गो पारेको छ।
भिडियोमा पुडाशैनीले 'सिधाकुरा जनतासंग' का प्रस्तोता रवि लामिछाने र टिममा रहेका युवराज कँडेलले आफुलाई धेरै टर्चर र दुख दिएको भन्ने उल्लेख छ। भिडियो टेपमा भएको विवरणमा भनिएको छ, 'मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए, तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने, कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्याए , थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्याउनुपर्ने'।
आफूमाथि बुनिएको तानाबानाको पोल खोल्दै पुडाशैनीले बोलेका छन, 'रबी दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ'।
पुडाशैनीको भिडियो टेप र अन्य प्रमाणका आधारमा नेपाल प्रहरीले रवी लामिछाने, युवराज कंडेल र अन्य एक युवती गरि तीन जनालाई पक्राउ गरि अनुसन्धान थालेको छ।
पुडाशैनीले मृत्यु पुर्व बोलेको कुरा अझैं पनि रविका प्रशंशकले स्वीकार गर्न सकेका छैनन। प्रशंकले पुडाशैनीलाई प्रयोग गरेर रवीलाई सिध्याउन खोजिएको भन्दै रविको समर्थन गरिरहेका छन। तर पुडाशैनीको आरोप मेलखाने गरि सिधा कुरा जनतासंग जोडिएका केहि बिषयहरु बिस्तारै बाहिर आउन थालेका छन।
यहि क्रममा बिजपाटी डटकमलाई सिधा कुरा जनतासंग जोडिएको एउटा समाचार प्राप्त भएको छ। प्राप्त सूचना तथा प्रमाणअनुसार 'सिधाकुरा जनतासंग' को कार्यक्रमले २०७३ सालमा सिजी टेलिकम्युनिकेशनबाट पिडित भएका कर्मचारीसंग सम्बन्धित समाचार लुकाएको पाइएको छ।
सिजी टेलिकम्युनिकेशनले आफुहरुलाई उचित तलब सुविधा नदिएको भन्दै आन्दोलनमा उत्रिएका पिडित ८८ जना कर्मचारी मध्येका १४-१५ जनाले रवी लामिछानेको आग्रहमा नै २०७३ साल चैत १६ गते सिधा कुरा जनताको कार्यालयमा गएर आफ्नो पिडा भिडियोमा रेकर्ड गराए। तर आफुहरुले सिधाकुराको कार्यालयमै गएर रेकर्ड गराएको त्यो भिडियो कहील्यै पनि समाचार बनेर सिधाकुरा जनतासंगको कार्यक्रममा प्रशारण नभएको पिडितहरुको भनाई छ।
करिब ३ बर्षअघिको घटना सम्झदै पिडितहरु भन्छन:
२०७३ माघदेखि २०७४ पुससम्मको तलब नपाएकाले हामि आन्दोलनमा उत्रिएका थियौं, हाम्रो कम्पनी सिजी टेलिकम अर्बपति बिनोध चौधरीको भएकाले धेरै मिडियाले हाम्रो पिडा सुन्न चाहेनन, दियो पोष्ट डटकम लगायतका केहि अनलाइन मिडियाले हाम्रो पिडा बाहिर ल्याउने प्रयास गरेपनि त्यो पर्याप्त देखिएन।
अधिकांश राष्ट्रिय स्तरका टेलिभिजनले हाम्रो पिडा रेकर्ड गरे, एभिन्युज टेलिभिजनले एक पटक हाम्रो पिडा देखायो तर अन्य कुनै पनि टिभीले रेकर्ड गरेको हाम्रो आन्दोलनको समाचार बाहिर ल्याएनन, दुखका साथ भन्नुपर्छ, इमेज टेलिभिजनका एकजना पत्रकारले हाम्रो पिडा बाहिर ल्याईदिन्छु भनेर हामिबाट ४ हजार लिए तर उनले पनि कहिल्यै टिभीमा हाम्रो आन्दोलन देखाएनन।
हामि आन्दोलनरत साथीहरु मध्येका एक जनाले सिधा कुरा जनतासंगको कार्यक्रम हेरेका रहेछन। उनले सिधा कुरामा गए न्याय पाइन्छ, बर्षदिन देखि रोकिएको तलब सुविधा पाइन्छ भने। र तिनै साथिले सिधा कुरामा फोन गरे। त्यसपश्चात रवी सहितको टिमले आएर सानेपा स्थित सिजी टेलिकमको कार्यालयमा नै आएर हामीले आन्दोलन गर्दै गरेको भिडियो फुटेज खिच्नु भयो।
पछि हामीलाई नै न्युज २४ को कार्यालय बोलाउनु भयो। हामि २०७३ चैत १६ गते न्युज २४ को कार्यालय मै पुगेर हाम्रो पिडा, दुख रेकर्ड गरायौं। हामीसंग भएका प्रमाण, कागजात समेत बुझायौं। त्यो बेला रवी दाइले 'तपाइँको भिडियो प्रशारण हुन्छ, हामि न्याय दिन्छौं ढुक्क हुनुहोस' भन्नु भयो।
तर सिधाकुरा जनतासंगको कार्यक्रममा हाम्रो भिडियो प्रशारण भएन। हाम्रो भिडियो कार्यक्रममा किन आएन भनेर फोनबाट सोध्दा रवी दाइले 'आउँछ ढुक्क हुनुहोस केहि समय पर्खनुहोस' भन्नुभयो। त्यसपछि पनि सिधा कुरामा हामीले रेकर्ड गराएको भिडियो प्रसारण भएन। ५-६ पटक सम्म फलो अप गर्यौं तर पनि भिडियो प्रसारण भएन। पछि रवी दाइले हाम्रो फोन पनि उठाउन छाड्नु भयो।
निरन्तर फलो अप गर्दापनि हाम्रो भिडियो प्रसारण भएन। तर धेरैपछि फलो अप गर्दा सिधा कुरा का टिममा रहेका बांग्लूङका अर्याल थर गरेका व्यक्तिले तपाइँहरुको भिडियो प्रसारण गर्न नमिल्ने भयो भन्ने जवाफ दिए।
बिनोध चौधरी जस्तो व्यवसायिक घराना भित्र काम गर्ने कर्मचारीको पिडाको कुनै मुल्य नहुने रहेछ भन्नेमा पुग्यौं। नेपालमा जतापनि पैसा र शक्तिको खेल हुने रहेछ भन्ने निर्णयमा पुग्यौं। र आन्दोलनमा उत्रिएका हामि ८८ जनाले (चौधरीको प्रभावमा परेका केहि बाहेक) २०७२ फागुन देखि २०७४ पुषसम्म काम गरेको न्युनतम तलब लिएर सिजी टेलिकमबाट अपमानित भएर बाहिरिन बाध्य भयौं।
पत्रकार पुडाशैनिको मृत्यु भएको हो वा आत्महत्या हो वा हत्या हो यसमा मेरो कुनै टिप्पणी छैन। तर पिडितहरुको पिडा भिडियोको स्क्रिनमा देखाउने धम्कि दिएर रवीको टिमले असुलीको काम गर्थे भन्ने पुडाशैनिले बोलेको कुरामा सत्यता छ भन्ने लागेको छ। हामीले बर्षदिनसम्म काम गरे पनि कुनै तलब सुविधा नपाएको, हाम्रो बालबच्चा अप्ठ्यारोमा परेको कुरा रवीलाई थाहा थियो, सबै कुरा भिडियोमा भनेका थियौं तर न त्यो भिडियो रेकर्ड सिधा कुरा जनतासंगको कार्यक्रममा प्रशारण भयो, न हामीले कुनै न्याय पायौं।
हामीलाई न्याय नपाएकोमा जति दुख लागेको छ त्यो भन्दा बढी साथीहरुले 'अर्वपतिको बिज्ञापनमा तिम्रो पिडा साटिएको रहेछ' भनेर सुनाउँदा न्याय माग्दै सिधा कुरा जनताको ढोकामा ब्यर्थै पुगेछौं, उनीहरुको कमाई खाने भाँडोको माध्यम बनेछौँ भनेर आत्मग्लानी हुन्छ।
भएको के थियो त्यो बेला ?
अहिलेको सिजी टेलिकम्युनिकेशन पूर्वान्चल विकास क्षेत्रका ५३४ गाविसमा दुरसंचार सेवा प्रदान गर्ने सर्तसहित बिश्व बैंकको १ अर्ब ३७ करोडको आर्थिक सहयोगमा २०६०/८/५ मा एसटीएम टेलिकम सर्भिस इन्कको नामले संचालनमा आएको कम्पनी हो।
२०६१ जेष्ठ २९ गतेदेखि सेवामा आएको यो अमेरिकन कम्पनी पाकिस्तानी र भारतीय मूलका नागरिकले नेपाल भित्र्याएका हुन।२०६४/११/१६ मा पूर्वाञ्चल विकास क्षेत्र बाहेक देशका अन्य दुर्गम गाविसहरुमा सेवा पुर्याउन पाउने गरी अनुमतिपत्र संशोधन गरी पूर्वाञ्चल हटाई ग्रामिण दुरसंचार सेवा नामाकरण गरिएको देखिन्छ। जस अनुसार यस कम्पनीले थप ४४ जिल्लामा आफ्नो सेवा विस्तार गरेको देखिन्छ।
सभामुख कृष्ण बहादुर महरा संचार तथा प्रविधि मन्त्री भएको बेला मन्त्रालयको निर्देशनमा (लिखित पत्रको आधारमा) २०६४/७/२० मा दुरसंचार प्राधिकरणका अध्यक्षको निर्णयबाट GSM Band को रेडियो फ्रिक्वेन्सीको अनुमति पाएको यस कम्पनी २०६९ सालमा चौधरी ग्रुपले किने पछि एसटीएमको नाम फेरेर सिजी कम्युनिकेशन्स प्रालि राखिएको हो।
चौधरी समुहले किनेपछि सिजी टेलिकममा २०७० सालमा नै २०६४ सालमा स्थापना भएको 'अखिल नेपाल संचार छापाखाना प्रकाशन मजदुर संघ' ले आन्दोलन गर्यो। र त्यो बेला कम्पनीसंग तलबवृद्धि लगायतका बिषयमा नयाँ सम्झौता गरि कर्मचारीले काम सुचारु गरे।
तर चौधरी समुहले किनेपछि नै निरन्तर रुपमा ओरालो लागेको सिजी टेलिकममा २०७२ को भूकम्पपछि धेरै समस्या देखियो। २०७२ को भूकम्पपछि सिजी टेलिकममा काम ठप्प भएपछि त्यहाँ कार्यरत ८८ जना कर्मचारी (इन्जिनियरदेखि स्वीपरसम्म) लाई भुकम्पपछिको पुन निर्माणमा लगाइयो। उनीहरुलाई सिजी फाउन्डेसनले घोषणा गरेको अस्थायी टहरा र स्कुल बनाउने काममा लगाइयो।
भूकम्पपछिको पुन निर्माणमा सिजी फाउन्डेसनको काम जारि रहंदासम्म सिजी टेलिकमका कर्मचारीले काम पाए। तर सिजी फाउन्डेसनले काम रोक्ने बित्तिकै सिजी टेलिकमका ८८ जना कर्मचारीले २०७३ जेठदेखि आन्दोलन थालेका हुन।
(यस समाचारमा पिडित भनिएकाहरु अहिले अरु नै संस्थामा आबद्द भएकाले उनीहरुको गोपनियता राख्नको लागि नाम उल्लेख नगरिएको हो, त्यस्तै समाचारमा उल्लेख कुराहरु खुल्ने प्रमाण बिजपाटी डटकमसंग सुरक्षित छ