काठमाडौं । गत साउन २० गते चितवनको कङ्गारु होटेलमापत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । सोहीविषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको १० दिनपछि प्रहरीले अनुसन्धान सकाएर यो तीनै जना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा दर्ता गराएको हो । सोही घटनामा अस्मिता भनिने रुकु कार्कीको वयान लिइएको छ ।
समय अभाव भएपछि लामिछाने र कँडेलको वयान बाँकी छ । बयान सोमबार बिहान कार्यालय समय सुरु भएदेखि नै अदालतमा बयान लिइनेछ । यदि दुवैको बयान सकिएको खण्डमा सोमबार टि ब्रेक अर्थात् १ बजेको समयपछि थुनछेक बहस हुनेछ ।
अब के हुन्छ ?
अनुसन्धानमा सघाउन हेडक्वार्टरबाट खटिएको सिआईबीका एसपी दीपक रेग्मीले आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनाको फरक फरक कसुर देखिएको बताएका छन् ।
सिद्धान्ततः सरकारी वकिलको कार्यालयले त्यो अध्ययन गरिसकेपछि प्रहरीको राय सुझावसहितको प्रतिवेदन स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार रहे पनि सामान्यतया व्यवहारमा प्रहरीकै राय अनुसार कसुर अनुसारको अभियोग लगाएर हदैसम्मको मागदावी गरी अदालतमा मुद्दा दर्ता गर्छ । त्यसपछि बल्ल उनीहरु अभियुक्त हुन्छन् । अब बल्ल अदालती प्रक्रियामा मुद्दा प्रवेश भएइको छ । अब प्रहरीको काम सकियो, बाँकी सब काम अदालतको हुन्छ ।
अदालतमा न्यायाधीशको अगाडि अभियुक्तहरुको बयान भएको छ । प्रहरीकोमा दिएको बयान भन्दा यहाँ दिएको बयानको कानुनी मान्यता हुन्छ । न्यायाधीशले प्रश्न सोध्छन्, अभियुक्तहरुले जवाफ दिन्छन् । त्यसपछि उनीहरुलाई थुनामा राखेर मुद्दा चलाउने कि बाहिर भन्ने थुनछेक बहस हुन्छ । बहस नसकिएसम्म न्यायिक हिरासतमै बस्नुपर्छ ।
बयान सकिएपछि थुनछेक बहसमा के हुन्छ ?
यदि सोमबार सबैको बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । थुनछेक बहसको नतिजा तीन वटा हुन सक्छ ।
१.साधारण तारेखमा राखी मुद्दा पुर्पक्ष गर्ने।
२. धरौटी तिराएर मुद्दा पुर्पक्ष गर्ने।
३. थुनामै राखेर मुद्दा पुर्पक्ष गर्ने ।
अदालतले बयान र प्राप्त प्रमाण र बहसका आधारमा एउटा विकल्प दिन्छ । पोहोरदेखि मात्र लागू भएकोले यस्तो आत्महत्या दुरुत्साहन केसमा सुरु सुरुमा थुनामै राखेर पुर्पक्ष गर्ने आदेश धेरै भए पनि पछिल्लो समयमा भने धरौटीमा पुर्पक्षमा छाडिएको छ । यसको मतलब निश्चित रकम धरौटी तिराएर थुना बाहिरै बसी मुद्दा लडिरहने हुन आउँछ ।
बिहानैदेखि चितवनमा के भयो ?
आइतबार बिहान अदालत लानुभन्दा अगाडि जिल्ला प्रहरी कार्यालय चितवनमा कलाकारको टोलीले लामिछाने र कँडेललाई भेटेका थिए । अधिकांश कलाकारले कानून संशोधन हुनुपर्ने विषय उठाएका थिए । आत्महत्या दुरुत्साहन मुद्दालाई संशोधन गर्ने तर्फ भने बहस चलाउनुपर्ने कलाकारहरुको तर्क छ ।
आइतबार बिहान ९ बजे रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा पेश गरेदेखि नै अदालत बाहिर प्रदर्शन भएको थियो । प्रदर्शनमा अधिकांशले लामिछाने र कँडेलको रिहाईको माग गरेका थिए ।
जब बिहान प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिलको कार्यलयमा पुग्यो तब बाहिर प्रदर्शन जारी थियो । अदालतमा बयान लिने क्रम जारी हुँदै रवि लामिछाने र युवराज कँडेलसहित अस्मिता कार्की आइतबार पनि हिरासतमै रहने भएपछि अदालतबाहिर प्रदर्शनकारी आक्रोशित बनेका छन् ।
प्रहरीसँग प्रदर्शनकारीको झडप हुँदा प्रहरीले केही राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो भने अस्पताल परिसरमा समेत अश्रु ग्यास हानिएको थियो ।