• काठमाडौं, भदौ ९

    पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेले प्रहरी समक्ष दिएको बयानमा आफू निर्दोष भएको उल्लेख गरेका छन्। नेपालखबरलाई प्राप्त उनको बयानमा भनिएको छ, ‘मर्नुअघि बनाएका २ वटा भिडियो हेर्दा उनले आफूलाई रवि लामिछाने समेतले मर्न बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा उनले के कस्तो कारणले भनेका हुन् मलाई थाहा छैन।’

    पढ्नुहोस् बयानको पूर्णपाठः
    मृतक शालिकराम पुडासैनी करिब डेढ वर्ष पहिलो २–३ वटा सान्दर्भिक सूचना ल्याई हाम्रो कार्यालयमा आएका थिए। उनले राम्रो सूचना ल्याउन सक्ने सोचेर म र दीपक बोहोराले उनलाई न्युज २४ मा संवाददाताको रुपमा राख्यौं।

    उनले पाउने सेवा सुविधाबारे मलाई केही थाहा थिएन। उनी निकै मिहिनेती, काममा खटिने र राम्रो सूचना ल्याउने गर्थे। कम्प्युटर चलाउन नजान्ने भएकाले उनले ल्याएका सूचनाहरुलाई युवराज कँडेलले पूरा गरी समाचार बनाई मलाई दिन्थे। करिब दुई महिना पहिले उनले माउन्टेन टेलिभिजनमा मासिक एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाएँ अब न्युज २४ छोडेँ भने। पछि उनले सो टिभीमा ‘मिसन न्युज’ भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाहा पाउँदा मलाई किन ढाँटेको होला भन्ने लाग्यो।

    घटनाको २–३ दिन पहिले हाम्रो क्यामेराम्यान अनिल ढुंगेलले हामी सबै कर्मचारीसँग भएको बेला शालिकरामको प्रेमिका पनि भएको र उनकी प्रेमिकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेर सुनाए। २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ। भोलिपल्ट ब्युँझिएर मोबाइल हेर्दा शालिकराम मृत्यु सम्बन्धका म्यासेजहरु २० गते राति नै आइसकेका रहेछन्।

    उनले मर्नुअघि बनाएका २ वटा भिडियो हेर्दा उनले आफूलाई रवि लामिछाने समेतले मर्न बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा उनले के कस्तो कारणले भनेका हुन् मलाई थाहा छैन।

     

    उनले आफ्नो श्रीमती हुँदाहुँदै अस्मितालाई झुटो बोलेर प्रेम गरेको र पछि सबै कुरा थाहा पाएर टाढिन खोज्दा दुःख दिने, बाटो छेक्ने, मारिदिन्छु भनी डर देखाउनेजस्ता कार्यहरु गरेकाले अस्मिता मैले चलाउने सिधाकुरा जनतासँगमा गई रवि लामिछाने समेतलाई तिम्रोबारेमा भनी सर्वजनिक गरिदिने भनेका कारणले सोही कुरा साँचो ठानेर मसँग चित्त दुःखाई भिडियोमा समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ।

    मैले उनीविरुद्ध कार्यक्रम बनाउँदैछु भनेर कसैले भनिदिएको समेत हुनसक्छ। शालिकरामले मलाई अत्यन्तै सम्मान गर्ने हुँदा मैले सम्मान गरेको व्यक्तिले उनकाविरुद्ध कार्यक्रम बनाउने भन्ने भ्रामक कुराले उनको मन दुःखेको हुनसक्छ। ममाथि आरोप लगाएको हुनसक्छ तर मैले उनलाई आत्महत्या गर्नेसम्मको दुःख दिएके छैन र दिनुपर्ने कुनै कारण पनि छैन। उनकी प्रेमिका भनिएकी अस्मितासँग देखभेट भएको पनि छैन। प्रहरीद्वारा पक्राउ परे पश्चात मात्र देखे, चिनेको हुँ।

    (जिल्ला सरकारी वकिलको कार्यालयले चितवनले २०७६ भदौ ८ गते बुझाएको मुद्दाको मिसिलबाट)

     

    नेपालखबर

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…