• ओखलढुंगा : दुई दिदी र एक दाजुकी कान्छी बहिनी गोमा कार्की एसईई दिएर बसेकी थिइन् । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया उनको परीक्षाफल प्रकाशित हुन एक साता मात्र बाँकी थियो ।

    गत असार ६ गते उनलाई दाजुले काठमाडौंबाट फोन गरे, ‘तिम्रो फोटो राखेर फेसबुकमा जे पायो त्यो लेख्ने को हो ?’ जवाफमा उनले ‘मलाई त केही थाहा छैन’ भन्नेबित्तिकै फोन काटियो । ‘थुप्रैपटक बहिनीलाई फोन सम्पर्कको प्रयास गर्दा पनि मोबाइल अफ भन्यो’, दाजुले भने, ‘बेलुकी एक्कासि बहिनीले आत्महत्या गरेको खबर सुन्नुपर्‍यो ।’ ‘सबैको बुढी म’ भन्ने नाम राख्दै प्रोफाइल तस्बिर गोमाको राखिएको थियो । उनको फेसबुक पोस्टबाट तस्बिर कपी गरेर राखिएको आईडी फेक थियो । उक्त आईडी देखिसकेपछि दाजुले त्यो नचिनेको युजरलाई म्यासेज पनि पठाए, ‘किन यस्तो गरेको ? तँ को होस् ? कानुनी कारबाहीमा जाऊँ ?’ त्यो अज्ञात युजरले जवाफ फर्कायो, ‘जे गर्न सक्छस्, गर् । तँलाई केको मतलब ?’

    समय त्यस्तै साँझको ५ः४५ । पिता लालबहादुर घरेलु हतियार धार लगाउन नजिकैको आरनतिर गएका थिए । आमा नन्दकुमारी बाख्रालाई घाँस काट्न भनेर जंगलतिर निस्केकी थिइन् । खाना बनाउने जिम्मा दिएर निस्केका आमाबुबा घरमा आइपुग्दा छोरीले कोठामा पासो लगाएर आत्महत्या गरिसकेकी थिइन् । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे । प्रहरी आएर हेर्दा उनले लेखेको एउटा सानो चिर्कटो फेला पर्‍यो ।

    ‘मेरो फेक आईडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ लेखिएको थियो । प्रहरीले उक्त सुसाइड नोटको ‘ह्यान्डराइटिङ’ परीक्षण गराउन विधिविज्ञान प्रयोगशाला पठायो । ह्यान्डराइटिङ गोमाकै रहेको पुष्टि भयो ।

    मृतकको परिवारले फेक आईडी खोलेर बदनाम गराउनेको खोजी गरिदिन प्रहरीलाई आग्रह गरे । उनीहरूले भोटाहिटीस्थित साइबर अपराध ब्युरोमा उजुरी दिए । ब्युरोले केही दिनपछि नै फेक आईडी खोलेको मोबाइल नम्बर पत्ता लगायो ।

    उक्त नम्बर बिन्दा कार्कीको नाममा दर्ता भएको देखियो । बिन्दा रानीवन माइत भई विवाह गरेर अन्तै गइसकेकी थिइन् । प्रहरीले बिन्दालाई सम्पर्क गर्दा त्यो नम्बर एक वर्षअघि आफूले भाइलाई चलाउन दिएको बताइन् । त्यसपछि प्रहरीले उनको भाइ युवराज कार्कीलाई सम्पर्क गर्‍यो । युवराजको स्थायी घर चम्पादेवी–१० रानीवन नै हो । मृतक गोमाको भन्दा एक घण्टाको दूरीमा उनको घर छ । तर उनी केही समययता राजधानीस्थित एक होस्टेलमा काम गर्थे ।

    प्रहरीले सोधपुछका लागि जिल्ला बोलायो । बोलाएर सोधपुछ गर्दा सुरुमा आरोप इन्कार गरे । केही घण्टाको केरकारपछि स्विकारे । उनले प्रहरीसँगको बयानमा आफूले गोमालाई माया गरेको र गफगाफ हुने गरेको बताएका छन् । पछि गोमा टाढिन खोजेर धोका दिन लागेकाले आफूले फेक आईडी खोलेर बदनाम गरेको बताएका छन् । आत्महत्या गर्छिन् होला भन्ने कल्पनासम्म नगरेको बयान उनले दिएका छन् ।

    युवराजको बयान र फेसबुकका अन्य प्रमाणसहित प्रहरीले आत्महत्या दुरुत्साहन गरेको भन्दै आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । गोमाको परिवारले किटानी जाहेरी दिइसकेका छन् । ‘करिब दुई महिना हामीले यो घटनाको लगातार अनुसन्धान गर्‍यौं ।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजीव श्रेष्ठले भने, ‘घटनाका मुख्य अभियुक्त पक्राउ गरेर मुद्दा प्रक्रिया अघि बढिसकेको छ । बाँकी अनुसन्धानको क्रम चलिरहेको छ ।’

    ओखलढुंगा जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो । मृतकका परिवार र आफन्तले यस्तो घटनाबाट अरूले पाठ सिक्नुपर्ने बताएका छन् । ‘सामाजिक सञ्जालमा आवेशमा आएर पोखिने सानो आक्रोशले मान्छेको ज्यान लिने रहेछ,’ चम्पादेवी–१० का वडाध्यक्ष उज्जन बुढाथोकीले भने, ‘त्यही गल्तीले जेल जानुपर्ने रहेछ भन्ने जानकारी सबैतिर फैलिन जरुरी छ । नत्र यस्तो घटना अझै हुन सक्छन् । यो अत्यन्तै दुखद हो ।’

    दुई छोरी विवाह गरेर आफ्नै घर गइसके । एउटा छोरा जागिरको सिलसिलामा राजधानीतिर छन् । घरमा साथी बनेर बसेकी कान्छी छोरीले आत्महत्या गरेको दिनदेखि बुवाआमा अझै शोकाकुल छन् । कान्छी बहिनी भएकाले एसईईपछि उनको इच्छाबमोजिम पढाउने दाजुको सपना थियो । सबै सपना फेसबुकको फेक आईडीमा गरिएको एउटै पोस्टले सधैंका लागि समाप्त पारिदियो । कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…