मानव समाजमा नारीलाई सत्ताच्युत गरी पुरुषले आप्mनो हैकम कायम गरेपछि तिथिमिति भन्न नसकिए तापनि प्राचीनकालदेखि मनाइँदै आएको अनेकौं हिन्दू पर्वहरूमध्ये तीज पनि एक हो ।
यो पर्व जतिधेरै धार्मिक छ, त्योभन्दा बढी नारीहरूले पुरुषको दासत्व स्विकारेको अवस्थाको द्योतकपनि हो । भनिन्छ यो त्यस्तो पर्व हो जसले नारीहरूको सन्ताप हरण गर्छ , हुनत यथार्थको कसीमा यो गलत साबित भएको छ ।
त्यसो त सनातन हिन्दू परम्परामा नारीको स्थान अस्पष्ट र विरोधाभासपूर्ण छ । एकातिर अधिकांश पर्वमा नारी शक्तिलाई नै आदि शक्ति र मातृशक्ति भन्दै पूजा–अर्चना गर्ने प्रचलन छ र भनिएको छ– यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता ।
अर्थात् जहाँ नारीको पूजा गरिन्छ त्यहाँ देवताहरू विचरण गर्छन् । अर्कोतिर तीजजस्तो पर्वमा आफ्नै पतिलाई भगवान् मानेर पुज्ने र उसैको चरण पखालेर जल आचमन गर्ने (पिउने ) परम्परामा झन् बढोत्तरी हुँदै गएको देखिन्छ ।
यस्तो हुनुको मुख्य कारण पतिलाई देव मान्ने अर्थात् पति देव हो भन्ने बुझाइ नै हो । संस्कृतिलाई मानव निर्मित प्रकृति मान्ने हो भने परम्परागत पर्वबाट एकाएक विमुख हुन न ठूलो समूहले स्विकार्छ, न आम जनताको नजरमा सान्दर्भिक देखिन्छ ।
परन्तु हाम्रा पर्वहरूबारे अनेक धार्मिक कहानी र कहावत जोडेर यसको महत्व र आवश्यकता तथा यसबाट हुने फाइदाबारे कपोलकल्पित अन्धविश्वासी व्याख्या, विश्लेषण जति धेरै गरिएको छ त्यस अनुपातमा यसमा गर्नुपर्ने परिमार्जनबारे यथोचित बहस गरिएको देखिन्न ।
वास्तवमा परिवर्तित सन्दर्भ र समयसापेक्ष बहसको उठान भएमात्र यस्ता पर्व मनाउनुको उपयुक्तता, सहजता, उपादेयता र आवश्यकता वा औचित्य पुष्टि हुन सक्छ र समयानुकूल परिमार्जनबारे पनि जनमानसलाई एकमत गर्न सकिन्छ ।
औचित्यको बहस नहुनु भनेको वा बहसको निषेध गर्नु भनेको समयक्रममा पर्वलाई अलोकप्रिय बनाउनु हो । समयमैं ध्यान पुगेन भने तीजपनि पहिले महिलाहरू मनाउँथे भन्ने कुरामात्रै बाँकी रहने छ ।
अन्धविश्वासी सांस्कृतिक परम्परा त्यसो त कुनैपनि संस्कृतिको जरा समाजको नसानसासम्म फैलिएको हुन्छ । समाज विकासको अनेक चरण पार गर्दै निर्माण भएको हुन्छ । संस्कृति जसलाई परित्याग गर्न जनमानस हतपत तयार हुँदैन ।
विकल्प भएमा सहजता हुन सक्छ भन्ने मत राख्नेहरूदेखि एउटा नभत्काई अर्को निर्माण हुनै सक्दैन भन्नेहरूबीच मतैक्य छैन । सर्वसाधारणले मानिरहेका पर्वहरू ‘युद्धको बेलामा बुद्धको पुराण’ प्रतीत भए पनि विकल्पसहित तयार हुन्छन् भन्ने धारणा पनि उत्तिकै बलशाली छ ।
फेरि एउटा चरणमा पर्वहरूले निकै सकारात्मक योगदान गरेको र परोक्षरूपमा अहिले पनि तिनको औचित्य धेरथोर देख्नेहरू पनि यहीं छन् । तीजकै दृष्टान्त दिने हो भने पनि समाज परिवर्तनमा तीजमा गाइएका गीतले उल्लेख्य जनजागरण ल्याएको र पुरातन समाज रूपान्तरणमा किञ्चित भएपनि भूमिका निर्वाह गरेको कुरा नकार्न सकिन्न ।
जहाँसम्म तीजको परम्पराको धार्मिक पाटो छ, यो भने महिलाहरूलाई चरणकै दास बनाउने खालको छ । वास्तवमा महादेवलाई पति पाउनका निम्ति पार्वतीले खेपेका दर्जनौं हण्डर, गरेका स्तुति र प्रार्थना तथा निराहार उपवास बसेका वृत्तान्तको समष्टिरूप नै हो– तीज ।
अनगिन्ती बुहार्तन झेलेर पनि पतिको सुस्वास्थ्य, दीर्घायु तथा प्रगति, समृद्धिको कामना गर्ने चाड हो यो । यसको जरासम्म पुग्ने हो भने महिला दासी र पुरुष मालिक हो भन्ने पुरातन मान्यतालाई स्थापित गराइराख्नु र मलजलसमेत गर्नु भन्नुमैं छ तीजको मूल मर्म ।
तीजमा गाइने अधिकांश गीतहरूले पनि सासू, नन्द, भाउजू आदिले दिएका सासना मात्र अभिव्यक्त गर्छन्, परन्तु पुरुष उत्पीडनबारे मौन देखिन्छन् । यस्तो भान हुन्छ– नारीको शत्रु नारी नै हो । पुरुषचाहिं पानीमाथिको ओभानो ।
संरचनागतरूपमा नै यस्तो मनोविज्ञान तयार गरियो कि पुरुष संरक्षक र विघ्नहर्ता हो । पूँजीवादले निमोठेको घाँटी– सामन्तवादको पतनसँगै त्यसले गर्ने गरेका कुकृत्यको सोलोडोलो जिम्मा विकृत पूँजीवादले लिएको छ ।
हिजो दास बनाइएका चेलीहरू घरायसी चौघेराबाट बाहिर त आएका छन् परन्तु उनीहरूलाई विज्ञानपनको माध्यम र क्रयबिक्रयको साधन बनाइएको छ, जो ठूलो महिला जनमतले मनन गर्न सकेको छैन ।
द्रव्यभन्दा माथि दया छैन भन्ने मान्यता समाजमा प्रतिस्थापित गर्नु र हरेक वस्तुलाई सौदा वा द्रव्यमा परिणत गर्नु पूँजीवादको मूल ध्येय हो । भावना, माया, मानवता, सम्बन्ध, आप्mनो–बिरानो भन्ने कुरा पैसामा लगेर जोडिदिने काम गरेको छ पूँजीवादले जहाँ हाँस्न, रून वा आत्महत्या गरी इहलीला समाप्त गर्न पनि स्वतन्त्रता दिइएको छ ।
यतिबेला हाम्रो समाजमा छोराछोरी, पतिपत्नी, आमाबुवा, साथीभाइलगायत सबै नाता बलियो र प्रगाढ बन्ने वा कमजोर भई औपचारिकतामा सीमित रहने कुरापनि पैसाले नै तय गर्न थालेको छ । पैसा दिनुस् सबै खुशी, नदिनुस् अनावश्यक मनमुटाव बढ्दै गएको देखिन्छ ।
तीज पूँजीवादको नग्न प्रदर्शनका रूपमा अघि आएको छ । एकातिर महिलाहरूले आप्mना गहना–गुरिया प्रदर्शन गरेर गौरवशाली महसुस गर्ने र तिनका पति वा परिवारका सदस्यहरू त्यसैमा गर्व गर्ने परम्पराले मलजल प्राप्त गर्दै आएको छ भने सञ्चार माध्यमहरू तिनैका तस्वीर तथा भिडियो कैद गर्न र प्रचार गर्न व्यस्त छन् ।
नागपञ्चमीदेखि नै पार्टी प्यालेस र रेस्टुरामा मदिराका प्यालासँग झुम्ने महिलाहरूद्वारा अपहरित भइसकेको तीजले नारीको पीडा, वेदना, रोदन र क्रन्दनलाई गीतद्वारा अभिव्यक्त गर्ने प्रचलन क्रमशः भडकिला परिधानमा नृत्य गर्ने छाडा गीतमा रूपान्तरित भएको छ ।
दशैं पन्ध्र दिन मनाइन्छ, तिहार पाँच दिन मनाइन्छ भने तीज कति दिन मनाइन्छ भन्ने सवालले सामाजिक सञ्जालका भित्ताहरू पोतिएका छन् । कसैकसैको त पैसा उठाएर पार्टी आयोजना गर्ने धन्दा नै चलेको छ ।
भ्रष्टाचार, ठगी, छलछाम गर्नका निम्ति यसले अभिप्रेरित गरेको छ भने तिनैको शानशौकत बढाउने र कालोधनलाई उजिल्याउने काम पनि भएको छ, तिजलाई बैसाखी बनाएर । पूँजीवादले आप्mनो बजार विस्तार गर्ने एउटा उत्तम अवसर बनाएको छ, तीजलाई ।
शहरभरि दर्जनौं कार्यक्रम गरिन्छ तर ती सबैमा केही सम्भ्रान्त महिलाको अनुहार उपस्थित देखिन्छ । शिव पार्वतीको किंबदन्तिसँग जोडिएको यो अन्धविश्वासी परम्परा यतिकै समाजबाट बिदा हुनेवाला छैन । बरु हिजोआज केसम्म भन्न थालिएको छ भने पुरुषहरूले पनि तीज गर्दा हुन्छ ।
कसरी अगाडि बढ्ने ?
भनिन्छ चोरहरू साधु भएपनि चोरी गर्न छाड्दैनन् । अर्थात् एकाएक जजसलाई तीजले सार्वजनिक सञ्चार माध्यममा बढी महत्व दिएको छ, कालोधन एकाएक सेतोमा परिणत गराइदिएको छ, शान र मान बढेको छ, तिनले यो परम्परा अक्षुण्ण राख्न हरसम्भव प्रयास गर्ने नै भए ।
तीजको पक्षमा तर्कभन्दा कुतर्क नै बढी दिएर भएपनि यसलाई मनाउने नै भए । परन्तु जसले एक दशकभन्दा बढी सामाजिक विकृति र विसङ्गतिविरुद्ध निर्मम सङ्घर्ष गरे, माक्र्सवादका मोटामोटा ठेली पढे तिनीहरूसमेत यही भुलभुलैयामा परिराखेका छन् र सामन्तवादले तयार गरेको दलदलमा फसिरहेका छन् ।
जुन मूल्य, मान्यताविरुद्ध हजारौ उत्सर्ग भए, तिनै बलिदानपूर्ण इतिहासका निर्मातालाई तिनैका गुरुहरूले अपमान गरिरहेछन् र तिनले देखाएको बाटोको खिसिट्युरी गरिरहेछन् बाँचेका सहयात्री कामरेडहरू । यो एउटा रूपान्तरणको अभियानविरुद्ध भद्दा मजाक हो ।
हामीबीच देखिएको विभेदको गुढ रहस्य पत्ता लागिसकेपछि त्यसको निराकरणका निम्ति पाइला चाल्न नसक्नु नै अहिलेको मूल समस्या हो । उदारवादी हुने नाउँमा भुइँको टिप्न खोज्दा पोल्टाको खसेको हेक्का नभएको कामरेडहरूले अझै आप्mनो तेजोबध कति गर्ने हो, पैसा र पदको पछाडि भागेर ?
मन्त्रीलाई कालो झन्डा देखाउनेलाई थुनामा लग्नुभन्दा समाजवाद उन्मुख संस्कृति र पर्व निर्माणमा जुट्नुपर्छ दुईतिहाईको वाम सरकार । होइन भने तराईमा जुडशीतल अर्थात हिलो छ्याप्ने, गणेश चौथीमा चकचना माग्ने, फागुमा मृदङ्ग बजाई सम्मत उडाउने, दशैंमा झिझिया, अल्हारूदल, सोरठी–बृजभार, सुरमा सहलेशश, सामा चकवालगायत सबै संस्कृति लोपोन्मुख छन् ।
त्यसैले तीजमा परिमार्जन जरूरी छ । अनिमात्र तीज आम महिलाको पहुँचभित्र रही हर्ष र उल्लासमय ढङ्गले मनाउने संस्कृतिका रूपमा चिरकालसम्म सामाजिक धरोहर बनिरहनेछ । यसलाई भेटघाट, नाचगान र कमभन्दा कम खर्चिलो चाडको रूपमा विकास गर्न चौतर्फी प्रयास गरिनुपर्छ ।
यसका लागि आपूmलाई वामपन्थी भन्न रुचाउने महिला कामरेडहरूले तीजको लहलहैमा तडकभडकमा लाग्दै महीनौं दर खाएर दिन बिताउने कि समाजवादमुखी तीज बनाउन ध्यान दिने ?
हुन त यसपालि वाम सरकारको प्रशासनले होटेल, पार्टी पैलेसहरूमा भोजभतेर गरी नाचगानको साथ तीज मनाउन रोक लगाएको छ । अब हेर्नुछ यो रोकले पनि फागुमा रङ्ग तथा दीपावलीमा पडका पड्काउन नपाइने सूचनाको हविगत बेहोर्ने हो कि !
भनिन्छ हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात । समाजवाद उन्मुख राज्यको क्रियाकलाप भाषणमा होइन, व्यवहारमा देखिनुप¥यो । अनिमात्र वाम सरकारको औचित्य पुष्टि हुनेछ । केवल होटल र पार्टी पैलेसमा तीज मनाउन नपाइने उर्दी जारी गरेर कर्तव्य पूरा हुँदैन । विभिन्न कार्यक्रमसँग जोडिएर तीज यतिबेला सरकारको नाकै अगाडि तडकभडकको साथ चल्दैछ । प्रतीकका साथमा ।