• झापा । ‘जुन समाजले डोम जाति ट्वाइलेट सोरेर खाने, मरेको सिनो खान्छ भन्दै अनुहार हेर्नु हुँदैन भन्छ। त्यो समाजले मलाई कसरी न्याय दिन्छ? म शारीरिक तथा मानसिक यातना सहेर बस्न बाध्य भएकी छु।’

    झापाको धुलाबारीमा तीन महिनाअघि एक व्यक्तिबाट बलात्कारको सिकार बनेकी स्थानीय डोम समुदायकी किशोरीको पीडा हो यो। ती किशोरी अहिले न्यायको भिख मागिरहेकी छिन्।

    १७ वर्षीया ती किशोरीले आफूमाथि धुलाबारीका ६० वर्षीय विष्णु खड्काले पटकपटक बलात्कार गरेको बताएकी छन्। असार २ गते धुलाबारीमा ती किशोरीलाई आपत्तिजनक अवस्थामा भेटेपछि उक्त कुरा बाहिर आएको थियो। डोम परिवार तिनै खड्काको पुरानो घरमा विगत २ वर्षदेखि भाडामा बस्दै आएको छ।

    सोही घरको भुइँतलामा खड्काले केही समय अघिसम्म भट्टीपसल समेत सञ्चालन गर्दै आएका थिए। सोही समयमा आफूलाई ती खड्काले बलात्कार गर्ने गरेको पीडित किशोरीको भनाइ छ। घटना बाहिर आएपछि पीडित परिवारले गत असार ३ गते इलाका प्रहरी प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएको थियो। तर, हालसम्म खड्कालाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

    घटनाबारे कुरा बाहिर आएपछि खड्का फरार छन्। पीडित किशोरीले आफूलाई खड्काले बिहान मर्निङ वाक गर्दैगर्दा बाटोमा भेटेर पहिलोपटक जङ्गलमा लगेर नग्न बनाई बलात्कार गरेको पीडा पोखिन्। पटकपटक आफूलाई जबर्जस्ती बलात्कार गर्दा पनि सहन बाध्य भएको ती किशोरीको भनाइ छ।

    आफूहरूलाई सानो जातको डोम भन्दै समाजले हेला गर्ने गरेको पनि उनले सुनाइन्। कसले न्याय दिन्छ भन्दै पीडित किशोरीले गहभरी आँसु पार्दै आफ्नो पीडा पोखिन्। यतिमात्र होइन, खड्काले जबर्जस्ती होटलमा लाने गरेको र जान नमाने मार्ने धम्की दिने गरेको समेत बताइन्। बाहिर कुरा खोले मारिदिन्छु भन्दै धम्काउने गरेको साथै नदिए जबर्जस्ती लुगा च्यातेर शारीरिक शोषण गर्ने गरेको ती किशोरीले बताएकी छन्।

    पीडित परिवारलाई न्याय दिने निकायले उल्टै असहयोग गरेको पीडितकी आमाले दाबी गरिन्।
    घटना भएको यतिका दिन बिते पनि आफूहरूले न्याय नपाएको पीडित किशोरीकी आमाले बताइन्। ‘छोरीले न्याय पाउन सकेकी छैन,’ उनले भनिन्, ‘उल्टै स्थानीय गाउँलेले हामीमाथि अन्याय गरिरहेको छन्।’ स्थानीयले आफूहरूविरुद्ध उजुरी दिएकै आधारमा वडा कार्यालयले गत आइतवार घरमा उर्दीसहित पत्र टाँसेर घर खाली गर्न भनेको पीडितकी आमाले बताइन्। उनले आफूले प्रत्येक महिना घर भाडा तिरेको भए पनि भाडा नदिएको भनेर आरोप लगाउने गरिएको दाबी गरिन्।

    घटनाको विषयमा बाहिर हल्ला नगर्न र मिल्नसमेत दबाब दिने गरेको पीडित किशोरीकी आमाले बताइन्। उनले भनिन्, ‘छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि खड्का परिवारले मिल्न दबाब दिइरहेका छन्।’ घटना गुपचुपमा मिलाएर आफूहरूलाई गाउँबाट निकाल्ने योजना बनाएको उनको भनाइ छ।

    किशोरीले गत असार ३ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा खड्काविरुद्ध किटानी जाहेरी दिएकी छन्। तर, अहिलेसम्म आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। यस विषयमा इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रमुख टिकाबहादुर कार्कीले फरार खड्काको खोजी कार्य जारी रहेको बताए। कानुनी प्रक्रियाअघि बढेको हुँदा आफूहरूले खोजीका लागि सबैतिर पत्र काटिसकेको उनले जानकारी दिए।

    पीडित परिवारलाई न्याय दिने निकायले उल्टै असहयोग गरेको पीडितकी आमाले दाबी गरिन्। तर, स्थानीय सरकार मेचीनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्काले भने आफूले घर नै छाड्नुपर्ने नभनेको बताए । उनले बारम्बार छलफलमा आउन मल्लिक परिवारलाई आग्रहसहितको पत्रचाहिँ काटेको बताए। घटनाको विषयमा बुझ्दा दुवै पक्षको कमजोरी रहेको उनको भनाइ छ।

    दलित अधिकारकर्मी टीकाराम मङ्ग्रातीले डोम परिवारलाई घर निकाला गराउन स्थानीय छिमेकीले पटकपटक दबाव दिँदै आएको बताए। मल्लिक परिवारलाई अनेक आरोप लगाउँदै घटना लुकाउन नमिल्ने उनले बताए। ‘मल्लिक परिवारले कति रक्सी खायो, हल्ला गर्‍योभन्दा पनि आसपासमा रहेका अन्यले कति खान्छन् भन्ने विषय पनि सोच्नुपर्छ,’ उनले भने, ‘रक्सीको बहानामा एक किशोरीमाथि अन्याय गर्ने काम भइरहेको छ।’

    मल्लिक परिवार बस्दै आएको उक्त घर छाड्न पटकपटक खड्का परिवार र स्थानीय छिमेकीले समेत दबाव दिँदै आएका छन्। उनीहरूले मल्लिक परिवारको कारण गाउँमा बस्न नसक्ने अवस्था भएको भन्दै घर छाड्न दबाब दिएका हुन्। केही छिमेकीले भने विष्णु खड्का र किशोरी दुवैबाट गल्ती भएको बताउँदै आएका छन्।

    घटनाको विषयमा रिपोर्टिङका लागि गएका सञ्चारकर्मीमाथि समेत स्थानीय खनिने गरेका छन् । बुधवार उक्त विषय बुझ्न पुगेका सञ्चारकर्मीमाथि स्थानीय खनिएका हुन्। उनीहरूले सञ्चारकर्मीलाई कसलाई सोधेर समाचार सङ्कलन गर्न आएको भन्दै आवाज उठाएका थिए। स्थानीय महिलाले यो विषयमा तपार्इंहरूलाई केही थाहा छैन भन्दै नआउन आग्रह गरेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…