• काठमाडौं । एकता घोषणाको पन्ध महिनासम्म आन्तरिक किचलोमै रुमल्लिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय फेरिएको राजनैतिक समीकरणले एकता प्रक्रियालाई त गति दियो नै साथै यसले पार्टी राजनीतिलाई समेत नयाँ कुइनेटोतर्फ डोहोर्याउने संकेत दिएको छ ।

    पार्टी भित्र जिल्ला तहदेखि नै अल्पमतमा पर्नु भएका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय लिनु भएका निर्णयले दलका अध्यक्षद्वयको गठजोडलाई अझ बलियो बनाएको छ ।

    यस्तै ओलीको पछिल्लो निर्णयले दलका अर्का प्रभावशाली नेता माधव कुमार नेपाललाई कुनामा पारेको दलका नेता तथा कार्यकर्ताको बुझाइ छ ।

    दोस्रो पटक उपचारार्थ सिंगापुर उड्ने तयारीमा रहनु भएका ओलीले पार्टी विधानमै नरहेको उपाध्यक्ष पद सिर्जना गरेर विगत केही समयदेखिका आफ्ना आलोचक वामदेव गौतमलाई उपाधयक्ष तथा संगठन विभागको प्रमुख बनाउने कामदेखि अर्का प्रचण्डलाई दलको बैठकमा अध्यक्षता गर्ने अख्तियारी दिएसँगै यतिबेला ओली आफ्ना पक्षमा पूर्व माके खेमा र पूर्व एमालेका गौतमको समेत समर्थन जुटाउन सफल हुनु भएको छ ।

    यद्यपि गौतमलाई भित्रदेखि बुझ्ने कतिपय नेकपाका नेता गौतमको सहयोग र समर्थन ओलीका पक्षमा रहिरहला भन्न्ेमा आश्वस्त हुन सकेका छैनन् ।

    यस्तै दलको मर्यादाक्रममा तेस्रो वरिष्ठ नेता माधवलाई हटाएर ओलीले आफ्नै चीरकालिन आलोचक दलकै अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भित्र्याएर राजनीतिमा दीर्घकालीन शत्रु र मित्र नहुने भन्ने मान्यतालाई प्रमाणित गरिदिनु भएको छ ।

    यसले गर्दा दलमा सधैं कुनामा पारिनु भएका खनालको समेत आफूप्रति सद्भाव रहने विश्वास ओलीको रहेको उहाँकै खेमाका कतिपय नेताको विश्लेषण रहि आएको छ ।

    पछिल्लो समय सत्तारुढ दलमा देखिएको समीकरण परिवर्तनबाट आलीसँगै प्रचण्ड निर्णायक रुपमा शक्तिशाली बन्नु भएको संकेत पाइएको छ ।

    पूर्व एमालेका प्रमुख नेताद्वय ओली र माधवबीच समूहगतका साथै व्यक्तिगत सम्बन्ध तिक्तता बढेका कारण नै यतिबेला प्रचण्ड यो लाभ पाउन सफल हुनु भएको हो ।

    ओली गत कात्तिकमा सम्पन्न स्थायी समितिको बैठकमा बहुमत सदस्य आफूविरुद्ध उभिएकै कारण र पार्टी समायोजनका क्रममा जिल्ला संगठनमा बढेको माधवको वर्चस्वका कारण दलको लगाम आफ्नो हातबाट खुस्कँदै गएकोमा चिन्तित हुनुहुन्थ्यो ।

    यही चिन्ताकै परिणाम पनि उहाँ दलमा जतिसक्दो धेरै आफ्ना मान्छेलाई स्थान दिएर आफ्नो स्थिति बलिाये बनाउन अहोरत्र परिश्रम गरिरहनु भएको थियो ।

    तर, दलकै अर्का नेता माधवका अडानले आफ्ना सबै प्रयास विफल हुने देखेका कारण बाध्य भएर ओलीले प्रचण्ड र कुनै बेला दलको अध्यक्षता ओलीले त्याग्नुपर्ने र दलमा एक व्यक्ति एक पदको मान्यता लागू गर्नुपर्ने भनेर दलकै बैठकमा फरक मत राखेर आफ्नै गद्दी तान्कु भएका गौतमलाई च्यापेर अघि बढ्ने रणनीति अख्तियार गर्नुभएको दलका कतिपय नेताको बुझाइ छ– जसका कारण यतिबेला दलमा माधव पक्ष एक्लिएको अनुमान लगाइन थालिएको छ ।

    दलमा फेरिएको समीकरणसँगै नेकपाको भावी राजनैतिक दिशामा समेत हेरफेर हुने आंकलन गर्न थालिएको छ । यस विषयमा ओलीनिकटस्थ कतिपय नेता नै ओली सिंगापुरबाट फर्केलगत्तै दलको विधानै संशोधन गरेर प्रचण्डलाई अध्यक्षको कार्यकारी अधिकार सुम्पिने तयारीमा रहनु भएको बताउन थालेका छन्– जसको संकेत प्रमले सिंगापुर जानुअघि नै प्रचण्डलाई सचिवालयबाट निर्णय नै गराएर प्रचण्डले सचिवालयलगायत अन्य संरचनाको बैठक बोलाएर दलका निर्णय गर्नसक्ने गरी कार्यकारी अधिकारको जिम्मेवारी दिएर जानु भएको छ ।

    पार्टी एकताअघि वि.सं. २०७५ जेठ २ गते प्रम पदमा आलोपालो गर्ने गरी भएको सहमति अनुसार नै अबको एक वर्षपछि प्रचण्डलाई सरकार हस्तान्तरण गर्ने तयारीमा ओली रहनु भएको स्रोतको दाबी छ ।

    पूर्व सहमतिका सम्बन्धमा प्रचण्डले बेला बेलामा शंका गर्दै आउनु भएकाले आफू सहमति पालनामा कटिबद्ध रहेको देखाउन पनि ओलीले प्रचण्डलाई दलको कार्यकारी अधिकार हस्तान्तरण गर्नु भएको स्रोतको भनाई छ ।

    पछिल्लो पटक दलको कार्यकारी अधिकार हस्तान्तरणसम्बन्धी ओली र प्रचण्डबीचको सहमति हुने समयमा दलकै पाँच उच्च नेतासमेत रहेकाले आगामी फागुनपछि सत्ताको बागडोर पनि आफ्नै हातमा आउने कुरामा यतिबेला प्रचण्ड विश्वस्त देखिनु भएको छ ।

    तर, कथं कुनै अर्को षड्यन्त्र भएर आफूले प्रम नपाउने सम्भावना रहेमा त्यसका लागि प्रचण्डले ओली सँगसँगै माधवसँगको हिमचिमलाई पनि कायमै राख्नु भएको छ ।

    प्रचण्डले माधवसँगको यो सम्बन्धलाई निरन्तरता दिनुका पछाडि पार्टी भित्र अर्को कुनै विकल्प खोज्नु परे पनि आफू कमजोर नहुनेगरी कदम सहज होस् भन्ने स्वार्थले काम गरेको भनेर बुझ्न सकिन्छ ।

    समाचार स्रोतका अनुसार माधवको वरिष्ठता खोस्ने गरी बालुवाटारमा बैठक आयोजना हुने दिन बिहान र निर्णय भइसकेपछि पनि प्रचण्ड माधव निवास कोटेश्वर पुग्नु भएका थियो ।

    यतिसम्म कि बालुवाटारमा माधवलाई पार्टी वरिष्ठतामा झलनाथपछि राख्नेगरी निर्णय हुनासाथ प्रचण्डले अलग्गै भेटेर फकाउने प्रयास गर्नु भएको थियो ।

    तपाईलाई मैले चिन्न सकेको रहेनछ, आजको बैठकमा जुन ह्दयको विशालता देखाए आफैं गाँठो फुकाइदिनुभयो, यसबाट म साह्रै प्रभावित भएको छु, माधवसँग प्रचण्डलाई उद्दत गर्दै नेकपाका एक जना नेताले बताए, यति सहज रुपमा लिनु होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।

    ओली सिंगापुर उडेपछि गत शुक्रबार खुमलटारमा प्रचण्ड र माधवबीच साढे दुई घण्टा छलफल भएको थियो– जहाँ प्रचण्डले माधवलाई एकता प्रक्रिया टुंग्याउनका लागि मात्रै अहिलेको अवस्थामा पुगेको भन्दै माधवको चित्त बुझाउने कोशिस गर्नु भएको थियो, विमर्शमा उल्लेख छ ।

    व्यक्तिगत रुपमा राम्रै सम्बन्ध रहेका प्रचण्ड र माधव वरिष्ठतासम्बन्धी निर्णय भएको भोलिपल्टै दिवंगत माओवादी नेता रामवृक्ष यादवको स्मृति सभामा सहभागी हुन सँगै जनकपुर जानु भएको थियो र सीताशरण होटलमा सँगै बस्नु भएको थियो ।

    दुवै नेतालाई साथमा लिएर जाने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्ना सहकर्मीसँग दुवै नेताबीच हार्दिकता रहेका र नयाँ चरणमा कुराकानी भएको आफूले बुझेको बताउनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…