•  

    काठमाडौं । हामीले उदारतापूर्वक ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा सुरक्षासहित बस्ने अधिकार दिएका छौं। हामीले उदारतापूर्वक लोकतान्त्रिक प्रणालीभित्र बस्न दिएको त अहिले ८-१० वर्ष बित्न नपाउँदै संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष नपुग्दै उनीहरूले जे बकवास गर्न थालेका छन्, बकबास गर्न बन्द गरे हुन्छ।

    (नेकपा अध्यक्ष पुष्पकमल दाहाल, १९ साउनमा रामेछापमा आयोजित कार्यक्रममा

    सरकारको उदारता र संयमलाई हेरेर केही तत्व बढ्तै हौसिएको देखिन्छ। म भन्न चाहन्छु( संविधानसम्मत ढंगले चल्ने कुरामा, संवैधानिक दायरामा चल्ने कुरामा यो सरकार अत्यन्त प्रसन्नतापूर्वक विरोधको पनि स्वागत गर्दछ। तर सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुरा अहिलेको सरकारलाई मान्य हुँदैन। जुन संस्था र निकायका कुरा गर्नेहरू ती संस्था जिउँदै हुँदा हामीले ठेगान लगाएका छौं। अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पनासमेत गरेर उफ्रिएको देखिन्छ। यो बेमौसमको बाजा नबजाए हुन्थ्यो।

    प्रधानमन्त्री केपी ओली, १ भदौमा संसद् बैठकमा

    प्रणालीकै विरुद्धमा आवाज उठ्न थालेका छन्। यो दुस्साहस कहाँबाट कसरी आयो रुबढ्ढो हिंसाविरुद्ध शान्तिका पक्षमा सरकार एक्लै लड्ने कि विपक्षीले पनि साथ दिने रु लोकतन्त्रको आधारभूत सवाल र संविधानलाई बलियो बनाउने विषयमा हामी सबै एक ठाउँमा किन नहुने ?

    केपी ओली, ३ भदौमा आयोजित सर्वदलीय बैठकमा

    सत्तारूढ नेकपाका दुई अध्यक्षका पछिल्ला अभिव्यक्ति हुन् यी। झन्डै दुई तिहाइको सत्तारूढ दलका अध्यक्षद्वयका किन एकै समयमा यस्ता अभिव्यक्ति आए रु उनीहरूले भनेजस्तै अहिले संविधान र गणतन्त्रविरुद्ध खतरा देखिएकै हो त रु यतिबेला नेपाली राजनीतिक वृत्तमा चर्चा भइरहेको विषय हो यो।

    नेताहरूले कोठे बैठकमा षड्यन्त्र सुरु भएको बताउन छाडेका छैनन्। सार्वजनिक रूपमा बोल्दा भने उनीहरू व्यवस्थाविरुद्ध कसैले चलखेल गर्न नसक्ने दाबी गर्छन्।

    नेकपा प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठ गणतन्त्र खतरामा नपरेको तर्क गर्छन्। ‘गणतन्त्र खतरामा पर्‍यो भनेर किन बोल्दै हिँड्न परेको हाम्रा वरिष्ठ नेताहरूलाई रु कुनै पनि प्रणाली त्यतिबेला खतरामा पर्छ, जतिबेला हामी राम्रो काम गर्दैनौं। जनताको आकांक्षा पूरा गर्न सक्दैनौं।’ काम भएको अनुभूति जनताले नपाउने हो भने कुनै पनि प्रणाली खतरामै पर्ने उनले बताए। श्रेष्ठले भने, ‘ठूलो संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जाऊँ भन्ने मेरो धारणा हो। म अहिल्यै गणतन्त्र खतरामा परेको देख्दिनँ। हामी कामै गर्न नसक्ने, जताततै अलमलमा पर्ने हो भने त्यो सम्भावना बढ्दै जान्छ।’ उनले यतिबेला राजतन्त्रै नआए पनि अन्य शक्तिहरू हाबी हुन सक्ने बताउँछन्। उनले भने, ‘दलहरूले यस्ता विषयमा बेलैमा सोच्नुपर्छ। जनतालाई अलमलमा परेर यस्तो खतरा उस्तो खतरा भन्नु हुन्न।’

    महासचिव विष्णु पौडेल पनि नेताहरूले समग्र विषयमा कुरा गर्दा यस्ता चलखेल पनि हुन सक्छ है भनेर संकेत मात्र गरेको बताउँछन्। ‘संविधान र व्यवस्थाविरुद्ध खतरा भयो भन्ने नेताहरूको धारणा होइन। चलखेल गर्न सक्छन् भन्ने संकेत मात्र गर्न खोज्नुभएको हो,’ महासचिव पौडेलले अन्नपूर्णसँग भने, ‘नेताहरूले यो विषय त्यति गम्भीर भएर उठाएका हैनन्।’

    पार्टीका आन्तरिक छलफल र बैठक बाहिर नेताहरुले यस विषयमा सामान्य टिप्पणी मात्र गरिएको बताए पनि भित्री रूपमा भने चलखेल बढेको भन्दै गम्भीर छलफल चलाएको देखिन्छ। सामाजिक सञ्जालमा पार्टी नेतृत्व र सरकारविरुद्ध गरिएको प्रचारबाजी, जनतामा बढ्दो निरासा र सामान्य घटनालाई पनि ठूलो बनाउन गरिएको अनेक खाले चलखेल लगायतलाई आधार मानेर नेकपाले यसभित्र व्यवस्थाविरोधी शक्तिहरूको चलखेल रहेको ठानेको छ।

    यसकारण चलखेल

    नेकपाका एक शीर्ष नेताका अनुसार मूलतः तीन कारणले अहिले व्यवस्थाविरोधी चलखेल सुरु भएको बुझाइमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहाल पुगेका छन्। पहिलो, आफ्नै पार्टीभित्रको एकतामा भएको ढिलाइ, दोस्रो, चुनावका बेला जनतामा बाँडेको जनअपेक्षाअनुसारको काम गराइमा देखिएको विलम्ब र तेस्रो, नेतृत्वमाथिको निरन्तर बढ्दो ‘आक्रमण’।

    ‘पहिलो, पार्टी एकता प्रक्रिया ढिलो भयो। त्यसले हाम्रो शक्ति निष्क्रिय, दुविधाग्रस्त, अपमानित र निराश जस्तो भयो। झन्डै ८र१० लाख पार्टी सदस्य निष्क्रिय हुने अवस्था आयो। दोस्रो, सरकारबाट हामीले जनताको अपेक्षा जसरी बढाइदिएका थियौं, सरकार गठन भएपछि यसो गर्छौं, उसो गर्छौं भनेर चुनावी घोषणापत्र र चुनावी अभियानका क्रममा हामीले प्रतिबद्धता गरेका थियौं। जनताले हेर्दा त्यहाँ भनेजस्तो भेट्दैन। नभेटेपछि कहीं न कहीं त्यहाँ हाम्रा कमी रहे। यसमा पनि खेल्न खोजिएको छ’, नेकपाका ती शीर्ष नेताले अन्नपूर्णसँग भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामाथि प्रहार गर्न पहिलेदेखिकै यो व्यवस्था नरुचाउनेले अहिले चलखेल बढाएका छन्। यसमा कतिपय शक्ति जानेर(नजानेर प्रयोग हुन थालेपछि यस्तो सचेतता बढाउन खोजिएको हो।’

    नेकपाले अहिले फेरि नयाँ तरिकाबाट द्वन्द्व हुन खोजेको निष्कर्ष निकालेको छ। प्रतिक्रियावादी शक्तिले जनतामा देखिएको निराशमा खेलेर व्यवस्थाविरुद्ध अनावश्यक भ्रम फैलाउन खोजेको नेकपाको बुझाइ छ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक, समावेशितालाई उल्टाउने कोसिस भएकै छ। यसका लागि विगतमा अनेक कसरत गरिएकै हो। अहिलेसम्म हामी उनीहरूका कसरतलाई असफल तुल्याउन सफल भएका थियौं। तर यहाँनेर आएर द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ’, ती नेताले भने।

    उनका अनुसार सोही कारण अहिले शीर्ष नेतामाथि नै आक्रमणको निसाना बनाउन खोजिएको निष्कर्ष नेकपाको छ। पार्टी नेतृत्वलाई बदनाम बनाउन सकिए सीधै व्यवस्था र संविधानलाई उल्टाउन सकिन्छ कि भनेर कतिपय शक्ति केन्द्रहरूले चलखेल बढाएको बुझाइ नेकपाको छ।

    ‘अन्त होइन, प्रतिगामी शक्तिहरूले जानेरै जहाँ हिट गर्नुपर्ने हो, त्यहीं हिट गर्न खोजेका छन्। उनीहरू हामीभन्दा सिपालु भए हिट गर्नका लागि। उनीहरूको वर्गको स्वार्थको हितका निम्ति मिलाएर गरेका छन्’, ती नेताले भने, ‘अन्त हानेर त्यति अर्थ छैन भनेर मिलाएरै सीधै नेकपाका नेतृत्वमाथि आक्रमण गरेका छन्। हान्नुपर्ने त्यहीं, बदनाम गर्नुपर्ने त्यहीं हो। यहाँ ढालेपछि यो व्यवस्था ढल्छ। अन्त ढालेर कही हुुँुुदैन भनेर आक्रमणको नीति बनाएका छन्।’

    सचिवालयमा छलफलपछि नै अभिव्यक्ति

    प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच पटकपटकको छलफलपछि व्यवस्थाविरुद्ध हुन खोजेको चलखेलविरुद्ध राजनीतिक दललाई एकजुट हुन अपिल गर्ने निष्कर्षमा नेताहरू पुगेका हुन्।

    ‘हामीले पार्टीमा सल्लाह गर्‍यौं। प्रधानमन्त्रीसँग पनि लामो छलफलपछि एउटा निष्कर्षमा पुग्यौं कि सदनबाट बोल्दा पनि गाली गर्ने होइन, अपिलिङ गर्नुपर्‍यो’, नेकपाका एक सचिवालय सदस्यले भने, ‘सचिवालयका साथीहरू र प्रधानमन्त्रीसहितको छलफलपछि हामी के आंकलनमा पुग्यौं भने अबचाहिँ अपिल गर्र्नेतिर लाग्नुपर्छ। परिवर्तनका पक्षधरहरूलाई एक ठाउँमा ल्याउन। त्यहीअनुसार हामी अगाडि बढिसकेका छौं।’

    ०६२र६३ को आन्दोलनका पक्षधर राजनीतिक शक्ति, नागरिक समाज, बुुद्धिजीवी, पत्रकार सबैलाई एक ठाउँमा ल्याउने र परिवर्तन पक्षधर शक्तिहरू एकजुट छन् भन्ने माहोल निर्माणमा अहिले नेकपा अगाडि बढेको पनि ती नेताले बताए।

    ‘पछिल्लोपटक संसद्मा प्रधानमन्त्रीले जुन सम्बोधन गर्नुभयो, त्यो ठिक सम्बोधन गर्नुभयो। गणतन्त्र उल्टाउन खोज्ने तत्वहरूले टाउको उठाउन खोजेका छन्। त्यसलाई रोक्न पर्‍यो भन्ने उहाँ ९प्रधानमन्त्री० को अपिल छ। त्यसलगत्तै फेरि सर्वदलीय बैठक बस्यो। त्यहाँबाट सबै पार्टी संविधानप्रति हामी एक छौं भन्ने निष्कर्ष निकाल्यौं’, ती नेताले भने।

    सातै प्रदेशमा विशेष अभियान

    नेकपाले सातै प्रदेशमा विशाल जनसभासहितको कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। नेताहरूको कार्यविभाजन सन्तुलित बनाउन र पार्टीलाई एक ठाउँमा उभ्याउन अभियान सञ्चालन गर्न लागिएको ती नेताले बताए।

    ‘एकता टुंग्याएर लाखौं कार्यकर्तालाई परिचालन गर्न सकिएन भने यो ब्याटल जितिँदैन। संसद्को अपिल, सर्वदलीय बैठक र पार्टीभित्रको सबै एकता टुंगो लगाएर अभियान चलाउन अब ठिक्क पारिएको छ’, ती नेताले भने, ‘अब देशैभर सातै प्रदेशमा अभियान लिएर नेताहरू सबै जाने, मासलाई पनि योजनाबद्ध रूपमा जम्मा पार्ने, मास नदेखाई अब हुँदैन। पार्टी एकजुट भएर एकचोटि मासलाई सडकमा ल्याएर परिचालन गर्ने र उनीहरूलाई निर्देशन दिनुपर्छ। पार्टी अब त्यसैको तयारीमा लाग्छ।’

    त्यसो त नेकपाका अध्यक्ष दाहालले १३ भदौमा पार्टी पंक्तिलाई जारी गरेको अन्तरपार्टी निर्देशन(२ मा पनि राष्ट्रिय अभियान सञ्चालनको तयारी गर्न निर्देशन गरिएको छ।

    सशंकित हुनाका तीन कारण

    पूर्वराजाको सक्रियता

    पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढेको छ। उनी यतिबेला बैंककमा छन्। उनको त्यहाँ बसाइलाई लिएर अनेक शंका गर्न थालिएको छ। राज्य व्यवस्थाविरुद्ध हतियार उठाउन खोजेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेताहरूसँगको हिमचिम, राजाको पछिल्ला अभिव्यक्ति र उनले नागरिक स्तरमा गर्न थालेको भेटघाटले पनि दलहरूलाई झस्काएको छ। बंैकक जानु अगाडिमात्रै पनि पूर्वराजा ज्ञानेन्द्रले डा। सुरेन्द्र केसी, प्राध्यापक पी खरेल, अभिवक्ता सुरेन्द्र भण्डारीलगायत झन्डै ४ दर्जन बढी नेताहरुसँग भेटवार्ता गरेका थिए। अब उनी चीन जाने तयारीमा छन्। दसंैतिहारपछि धार्मिक रूपमा आन्दोलनको उठान हुने र त्यो समय आफूहरूको गतिविधिका लागि अनुकूल हुने बुझाइमा दरबारिया शक्तिहरू सत्तारूढ नेकपाको छ।

    अन्तर्राष्ट्रिय शक्ति केन्द्रका गतिविधि

    दक्षिणी छिमेकी मुलुक भारतमा दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीको उदय भयो। त्यसपछि उनको नेतृत्वको सरकारले कश्मीरलगायत अन्य क्षेत्रमा चालेका ‘स्टेप’ का कारण पनि नेपालको सत्तारूढ दल सशंकित देखिएको छ।

    नेपालको संविधानमा भारतले देखाइरहेको असन्तुष्टि, डा। बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको पार्टी एकता, त्यससँगै मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी ९राजपा० सम्मको एकताका लागि भइरहेको प्रयासले पनि नेकपाले कतै भारतले ‘दक्षिणपन्थी गठबन्धन’ निर्माणमा भूमिका खेलिरहेका त छैनन् भन्ने आशंकामा नेकपा देखिन्छ।

    ‘भारतमा मोदीको जसरी उदय भएको छ, उनले अब नेपाल मामिलामा कुन स्टेप चाल्छन् भन्ने चासो नेपालको कम्युनिस्ट पार्टीलाई छ,’ नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘बाह्य शक्तिहरुका कारण कतै नेपालमा हिन्दु राष्ट्र वा कुनै खालको दक्षिणपन्थी गठबन्धन निर्माण हुने त होइन भन्ने सन्त्रास छ।’

    सरकारप्रतिको असन्तुष्टि

    झन्डै दुई तिहाइ मत ल्याउँदा पनि सत्तारूढ दलदेखि अन्य राजनीतिक शक्तिले जनअपेक्षाअनुसार काम गर्न सकेनन्। उनीहरू चुकेका छन्। जसका कारण जनतामा निरासा छाएको छ।

    गुठी विधेयकदेखि रवि लामिछाने प्रकरणसम्म आउँदा सडकबाट जसरी असन्तुष्टि प्रकट भयो। यसभित्र दरबारियालगायत शक्ति केन्द्रहरुको पनि सहभागिताले पनि सत्तारूढ दललाई झस्काएको छ।

    ‘सरकार कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको छ। तर पार्टी र सरकारप्रतिको अविश्वास सामाजिक सञ्जालदेखि सबैतिर जाहेर भएको छ। आफ्नै पार्टीभित्र एकता देखिएको छैन। मत मतान्तर तीव्र छ,’ ती नेताले भने, ‘आफंै संगठन हुन नसक्नु तर सरकारप्रतिको असन्तुष्टि सडकमा बलशाली ढंगले आउनुले व्यवस्था विरोधीहरूलाई आधार निर्माण गर्न सक्छ। यसले पनि दलहरु सशंकित देखिएका छन्।’ अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…