काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका करिब १ हजार ३ सय उजुरीमध्ये हालसम्म करिब २ सय उजुरी मात्रै कारबाहीको प्रक्रियामा गएको छ । कारबाहीको प्रकृति हेर्दा तल्ला तहका नेता मात्रै बढी कारबाहीमा परेका छन् । कार्यविधिअनुसार उजुरी नआएको भन्दै उपल्लो तहका नेताहरूमाथि भने कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।
देशभरबाट प्राप्त उजुरीका आधारमा समितिले २९८ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । समितिलाई प्राप्त करिब १ हजार ३ सय उजुरी मध्ये १ हजार उजुरीमा हालसम्म पनि कांग्रेसले कारबाहीको कुनै प्रक्रिया थालेको छैन ।
अनुसासन समितिको कार्यविधि नै उजुरी पठाउँदा तहगत रुपमा कारबाही सिफारिस भएर आउनुपर्ने भएका कारण पार्टीका शीर्ष नेताका विरुद्ध सिधै आएका उजुरीका विषयमा समेत समितिले कुनै चासो देखाएको छैन ।
समितिका एक सदस्यले शीर्ष तहका नेता विरुद्धका उजुरी समितिको कार्यविधि अनुसार नभएकाले नहेरिएको बताए ।
‘शीर्ष तहका नेताविरुद्धका उजुरी समितिको कार्यविधिअनुसार आएको छैन, कार्यविधिअनुसार प्रमाणसहित आएका उजुरीलाई मात्र समितिले हेर्छ,’ समितिका ती सदस्यले राजधानीसँग भने ।
समितिले हालसम्म गरेका कारबाही हेर्दा तल्लो तहका नेताविरुद्धका उजुरीउपर छानबिन भई कारबाही भइरहेको छ ।
अनुसासन समितिका सचिवसमेत रहेका कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले उजुरी पठाउँदा तहगत रूपमा नै प्रमाण र आधारसहित पठाइएका उजुरीउपर मात्रै कारबाही हुने बताए ।
उनले तहगत रूपमा सिफारिस भएर आएका उजुरीलाई मात्रै समितिले गतिलो आधार मान्ने तर कसैले व्यक्तिगत रूपमा नेताका विरुद्ध दिएका उजुरीलाई समितिले नहेर्ने बताए । केसीले समितिलाई प्राप्त बाँकी उजुरी छानबिनकै क्रममा रहेको दाबी गरे ।
शीर्ष नेताविरुद्धका उजुरी कार्यविधि बाहिर
तल्ला तहका नेता मात्रै कारबाहीमा
केसीले हालसम्म विभिन्न २९ जिल्लाका २९८ जना नेता कार्यकर्तालाई समितिले कारबाहीको दायरामा ल्याएको जानकारी दिए । ती सबै गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवार, तिनका समर्थक र प्रस्तावक रहेको केसीले जनाएका हुन् । ती सबैलाई कांग्रेसले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।
सचिव केसीले पार्टी कार्यालयमा सिधै आएका, पार्टीका इकाई समिति, क्षेत्रीय समिति र जिल्ला समिति हुँदै आएका उजुरीलाई छुट्याएर प्रमाण जुटेपछि कारबाहीतर्फ अघि बढ्ने जानकारी दिए ।
‘पार्टी कार्यालयमा सिधै आएका, पार्टीका इकाई समिति, क्षेत्रीय समिति र जिल्ला समिति हुँदै आएका उजुरीलाई छुट्याएर प्रमाण जुटेपछि मात्रै समितिले कारबाहीका लागि पार्टीलाई सिफारिस गर्छ,’ केसीले भने ।
कारबाही पर्नेमा धेरैजसो बागी
कांग्रेसको अनुसार समितिमा प्राप्त उजुरीमध्ये धेरै जसो स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको गत निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारमाथि भएको अन्तर्घातका गुनासोसँग सम्बन्धित रहेको छ । यस्तै, कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नाममा समेत उजुरी परेको छ ।
अनुशासन समितिले पहिले ९रमेश रिजालको संयोजकत्वमा गठित समिति०लाई आएका उजुरीसमेत यसैपटक खोलेको हो । नेता रिजालको तत्कालीन समितिले १५४ जनालाई स्पष्टीकरण सोधेको थियो । अनुशासन समितिले अझै पनि उजुरी गर्न छुट भएको भए उजुरी गर्न सकिने बताएको छ । राजधानीबाट ।