• काठमाडौं, २२ भदौ । यस वर्षको तीज गइसकेको छ तर यसको चर्चा अझैसम्म पनि सेलाएको छैन । सरकारले तीज भड्किलो भयो भनेर पार्टी प्यालेजहरुमा तीजको दर कार्यक्रम रोकेको चर्चा चले पनि दर खाने आधिकारिक दिनभन्दा महिना दिन अगावैदेखि टोलटोलमा दर कार्यक्रमहरु घन्की नै रहे ।

    लोक गायक गायिकाहरुले पनि तीजको गीतबाट राम्रै नाम र दाम बटुले । यसमा कसैलाई आपत्ति भएन । तर, मुलुककी एक महिलाले मनाएको तीज कार्यक्रम भने धेरैका लागि आपत्तिजनक हुन पुग्यो । प्रसंग हो, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको तीज पार्टीको ।

    यही भदौ १४ गते र १७ गते भवानी राणाले सानेपा हाइटस्थित आफ्नै निवासमा तीज पार्टी गरिन् । उनले आफ्नो इच्छाले दुई दिन तीज पार्टी गर्नु कुनै आपत्तिको विषय त थिएन । तर, छिमेकीहरुले उनले आयोजना गरेको पार्टीका कारण सुत्नै नपाउनु चाहिँ पक्कै पनि आपत्तिको विषय हो ।

    भवानीले भदौ १५ गते दर खाने दिन साँझ आफ्नो निवासमा भव्य दर पार्टीको आयोजना गरिन् । करिब डेढ सय जति आगन्तुकहरु सामेल भएको उक्त दिनको पार्टीमा राति अबेरसम्म मदिराको खोलो बग्यो । मदिराको तालमा डीजे राखेर म्युजिक घन्काइयो ।

    म्युजिक आफूले मात्रै सुने पनि हुने हो तर सात गाउँ थर्किने गरी घन्काउँदा भने छिमेकीहरु आतंकित नै भए । उक्त रात जेनतेन काटेका छिमेकीहरुले ठूलै कष्ट सहे । तर, भदौ १७ गते फेरि उही ताल दोहोरिँदा भने छिमेकीहरु असह्य नै बन्न पुगे ।

    १७ गते पञ्चमीको दिन रजस्वला भएका हिन्दु महिलाहरुले सप्तऋषिको पूजा गरेर व्रत बस्ने चलन छ । तर, भवानीले भने उक्त दिनलाई पनि मदिरा र म्युजिकको दिन बनाउँदा छिमेकीहरु अनाहक पीडित बन्न पुगे ।

    राति गुञ्जेको डीजे संगीतलाई कम गर्न केही छिमेकीहरु त भवानीको ढोकैसम्म पुगे । तर, उनीहरुको पीडा कसले सुनिदिने ? पीडा व्यक्त गर्न कोही सद्धे मान्छे फेला नपरेपछि त्यो रात पनि जागै काट्न उनीहरु बाध्य बनेको राणाकै घर छेउका एक छिमेकीले बताए ।

    नेतृत्वमा पुग्न गोल्छालाई यस्तो समस्या !
    नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष चुनावबाटै चयन गरिनुपर्ने पक्षमा अधिकांश सदस्यहरु लागेपछि यतिबेला वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नीदहराम भएको छ ।

    चुनावबाट अध्यक्ष चयन गरे कि वरिष्ठ उपाध्यक्षलाई नै स्वतः अधयक्ष बनाउने भन्ने विवाद टुंग्याउन आउँदो कात्तिकमा विशेष साधारणसभा बोलाइएको छ ।

    उक्त साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाएर प्रत्यक्ष चुनावबाटै अध्यक्ष चयन गरिने प्रावधान पुनस्र्थापित गर्ने सम्भावना प्रबल रहेको बताइन्छ । केही समयअघि सम्पन्न महासंघको पूर्ण बैठकमा यो विषयले प्रवेश पाएको थियो ।

    उक्त बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले प्रत्यक्ष चुनावबाट अध्यक्ष चयन गरिनुपर्ने भन्दै यसका लागि विधान संशोधनको माग गरेका थिए ।

    अधिकांश जिल्ला समितिहरुबाट प्रत्यक्ष चुनावको माग आएपछि केन्द्रीय सदस्यहरु वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनेतर्फ अग्रसर भएको बुझिएको छ ।

    तर, हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका र अर्का एक जना मारवाडी समुदायका केन्द्रीय सदस्य भने वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुनुपर्ने पक्षमा उभिएका छन् ।

    यो विषयमा विवाद हुँदा पूर्ण बैठकमा सदस्यहरुबीच हात हालाहालको स्थितिसमेत उत्पन्न भएको थियो । सोही बैठकले कात्तिकमा विधानको विषय टुंगो लगाउन विशेष साधारण सभा बोलाएको हो ।

    वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा गोल्छा, मुरारका, पूर्वअध्यक्ष चण्डीराज ढकाललगायत केही सदस्यहरु देखा परे पनि अधिकांश पूर्वअध्यक्ष एवं सदस्यहरु प्रत्यक्ष चुनावको पक्षमा खुलेरै लागिरहेको स्रोतले बतायो ।

    यसले गर्दा कात्तिकमा हुने विशेष साधारण सभाले प्रत्यक्ष चुनावकै प्रावधान राख्दै विधान संशोधन गर्ने करिब करिब निश्चित रहेको स्रोतको भनाइ छ । यदि प्रत्यक्ष चुनावको प्रावधान राखिएमा अहिलेका वरिष्ठ उपाध्यक्ष गोल्छाको अध्यक्ष बन्ने सपना चकनाचुर हुनेछ ।

    स्वतः वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने वर्तमान व्यवस्थाकै कारण जिल्लागत रुपमा महासंघको क्रियाकलापहरु ठप्प जस्तो भएको धेरैको बुझाइ छ ।

    स्वतः अध्यक्ष बनिने भएपछि वरिष्ठ उपाध्यक्ष महासंघ र उद्योगी–व्यवसायीहरुका समस्या समाधानमा जिम्मेवारी नबनेको अधिकांश जिल्ला अध्यक्षहरुको अनुभव रहेको छ, देशान्तरमा उल्लेख छ ।

    जिल्लाको भ्रमणमा नजाने, गए पनि कार्यकर्ताहरु र महासंघका सदस्यहरुको समस्या एवं गुनासो नसुन्ने प्रवृत्ति बढेको उनीहरु बताउँछन् ।

    यदि प्रत्यक्ष चुनावको प्रावधान भएको भए नेतृत्वका आकांक्षीहरु यसरी गैरजिम्मेवार बन्न पाउने थिएनन् भन्ने उनीहरुको बुझाइ छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…