• २२ भदौ, काठमाडौं । नवलपरासी, बर्दघाटका सुनचाँदी व्यवसायी योगेश विकलाई सस्तोमा सुनको अफरले लोभ्यायो । तर राजधानी आउन भ्याइरहेका थिएनन् ।

    हालै मात्र बुबा सिकिस्त विरामी भएर काठमाडौंको गंगालाल अस्पतालमा भर्ना भए । त्यही बेला सुनको भाउ दैनिक उकालो लाग्दै थियो । बुबालाई भेट्न मात्र होइन, सस्तोमा सुन खरिद गर्ने योजनाका साथ योगेश काठमाडौं आए ।





    शुक्रबार साँझ सामाखुशीको मुस्ताङ गेस्ट हाउसमा आइपुगेका उनले रसुवाबाट आएको सुन बेच्ने आश्वसन दिएका नुवाकोटका राजन तामाङलाई बोलाए । सुनको रकम तिर्न झोलामा करिब २२ लाख रुपैयाँ राखेका थिए ।

    कोठा नं. ४०४ मा बसेका उनी राजनको पर्खाइमा थिए । तर ढोका खोल्नासाथ पेस्तोल तेर्स्याएर ‘हामी प्रहरी हो… हातमाथि… !’ भनेपछि विकको सातो गयो ।

    आफूलाई प्रहरी बताउने समूहले उनलाई पक्राउ गरेन, झोला मात्र लिएर हिँड्यो । उनलाई अनौठो लाग्यो र, प्रहरी कन्ट्रोल १०० मा घटनाबारे जानकारी गराए ।

    अनुसन्धानमा सहयोगी सीसी क्यामरा

    प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भएलगत्तै सादा पोशाकमा महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटी नेतृत्वको टोली खटियो । होटल बाहिर रहेको सीसीटीभी फुटेजबाट तस्वीर निकालेर खोजी सुरु गर्‍यो ।

    आइतबार बिहान नयाँ बसपार्क, बालाजुबाट गुल्मीका युवराज भण्डारी पक्राउ परे । सोधपुछ गर्ने क्रममा भण्डारी सशस्त्र प्रहरी बलका वहालवाला जवान भएको खुल्यो । ‘भण्डारीको बयान, फुटेज र प्राविधिक पक्षको विश्लेषणबाट लुटेर समूहका अन्य सदस्य काठमाडौं–१६ को हाइ रेष्टुरेन्ट एन्ट डान्सबारमा हुनसक्ने निष्कर्षमा हामी पुग्यौं’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

    काठमाडौं प्रहरीका एसपी अशोक सिंहका अनुसार डान्स बारको पहिचानपछि शनिबार दिउँसो समूहका ७ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोरखाका कुशल अधिकारी, नुवाकोटका रामबहादुर तामाङ, धर्मराज तामाङ, रसुवाका योर्साङ घले, धादिङका विजय तामाङ, नुवाकोटका पिटर तामाङ र राजन तामाङ छन् ।



    उनीहरु सबै लुटपाटको घटनामा संलग्न भएको सीसीटीभी फुटेजले पुष्टि गरेको प्रहरी बताउँछ । पक्राउ परेकामध्ये घले विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको दाबी छ । तर उनले केही महिनाअघि समूह छाडेको बयान दिएका छन् ।

    अधिकारी माओवादी द्वन्द्वका वेला नेपाली सेनाबाट भागेका भगौडा हुन् । कुशल, रामबहादुर, धर्मराज, विजय पिटर चाहिँ हाई रेस्टुरेन्टका सञ्चालक हुन् ।

    सेनाका भगौडासँग प्रहरीको पेस्तोल

    एसपी सिंहकाअनुसार घटनास्थलबाट दुई वटा चाइनिज पेस्तोल, म्यागजिन र ४ राउण्ड गोली बरामद भएको छ । ‘प्रहरीसँग मात्र हुने ७.२२ एमएमको हतियार हो यो’, उनले भने, ‘लुटपाट गर्ने समूहको हातमा कसरी पुग्यो भन्ने अनुसन्धान गरिरहेका छौं ।’

    अन्य अभियुक्तले भने दुवै हतियार सेनाका भगौडा अधिकारीले ल्याएको बयान दिएका छन् । अधिकारीले पेस्तोल कहाँबाट ल्याए भन्ने खुलेको छैन । यद्यपि, द्वन्द्वकालमा प्रहरीबाट लुटिएको हतियार हुनसक्ने आशंका गरिएको छ ।

    ‘हतियारलाई डिजिटल फरेन्सिक ल्याबमा पठाएर परीक्षण गर्छों’, डीएसपी बोगटी भन्छन्, ‘त्यसपछि हतियार कहाँबाट आएको हो भन्ने विषय बुझ्न थप मद्दत पुग्ला ।’

    उनीहरुले भने परीक्षण गर्न नमिलोस् भनेर पेस्तोलको नम्बर मेटेको पाइएको छ । तर त्यसलाई डिकोड गर्न सकिने अनुसन्धान अधिकृत दाबी गर्छन् ।



    नक्कली सुन बाकेर होटलसम्म

    प्रहरीका अनुसार लुटपाटमा संलग्न समूहका सदस्य एक किलो नक्कली सुन बोकेर होटलसम्म पुगेका थिए । तर योजना भने पैसा भएको झोला लिएर फरार हुने थियो ।

    त्यसअनुसार उनीहरुले विकलाई प्रहरी भन्दै झोला लिएर गएका पनि हुन् । तर उनीहरुले लगेको झोलामा पैसा होइन, कपडा मात्र रहेछ । ‘बाहिर आएर हेर्दा झोलामा पैसा थिएन’, पक्राउ परेका एक जनाले बयान दिएका छन्, ‘ठूलो झोला भएकाले पैसा त्यही होला भन्ने थियो । तर कपडाको ब्याग पो परेछ ।’

    यद्यपि, उक्त झोलामा पनि करिब दुई लाख रुपैयाँ थियो, जुन विकले बुवाको उपचारका लागि ल्याएका थिए । अर्को झोलामा सुन खरिदका लागि रकम बोकिएको थियो ।

    डकैती र हातहतियार मुद्दा

    प्रहरीले पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता अन्तरगत लुटपाट र डकैतीसहित हातहतियार तथा खरखजानामा मुद्दामा ७ दिन म्याद थप गरेको छ ।

    घटनामा संलग्न भएको आरोपमा समातिएकालाई आइतबार जिल्ला अदालत, काठमाडौंमा लगेर अनुसन्धानका लागि म्याद थपिएको हो । ‘अब विस्तृत बयान र अनुसन्धान सुरु हुनेछ’, काठमाडौंका डीएसपी बोगटी भन्छन् ।

    तस्वीरहरूः चन्द्रबहादुर आले/अनलाइनखबर



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…