[caption id="attachment_28111" align="alignleft" width="161"] लेखक ओम आचार्य[/caption]
नेपाली कांग्रेस अहिले यस्तो मोडमा उभिएको छ, यस्तो चौबाटोमा खडा छ, आफ्नो गन्तव्य हराएको, अलमलिएको र द्विविधामा भएको प्रतित हुन्छ । एकातिर संस्थापन पक्ष छ त्यही संस्थापन पक्ष कै बहुमतको संसदीय दलमा नेता छ र प्रतिपक्षको सशक्त र प्रभावकारी भूमिकाको अपेक्षा पार्टीबाटै राखेका छन् । अर्कोतर्फ रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरुले संस्थापन पक्षको विरुद्धमा मोर्चाबन्दी गर्दैछन् । यस्तो अवस्थामा संस्थापन पक्षले आफ्नै पार्टीविरुद्धबाट भएको मोर्चाबन्दीको प्रतिरक्षामा उभिनु परेको छ भने अर्कोतर्फ संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपरेको छ ।
संस्थापन पक्षले मौजुदा अवस्थामा संसदमा सशक्त प्रतिपक्षको भूमिकामा केन्द्रित भइरहँदा आफ्नै पार्टीका सहयात्रीबाट भएको मोर्चाबन्दी र आक्रमणले पार्टी नै कमजोर, जीर्ण र जर्जर हुने अवस्था सृर्जित हुनसक्छ । यस्तो अवस्थामा प्रतिपक्षमा ध्यान केन्द्रित नहुने र कमजोर प्रस्तुतिले सरकारलाई फाइदा पुगेको कुरा प्रधानमन्त्रीले पनि प्रतिपक्षलाई सहयात्री दलकै विशेषण दिएको टिप्पणी समेत गर्दा यो व्यंग्य संस्थापन इतरपक्षले समग्र कांग्रेसलाई व्यंग्य हो भनी बुझ्नु पर्दथ्यो ।
नेपाली कांग्रेसले प्रथम त आफ्नो पार्टी सुदृढ गरी संस्थापन र संस्थापन इतरको भेद, आपसी पृथकता हटाउन सबै एक ढिक्का हुनुपर्नेमा एकअर्कालाई निस्तेज गर्ने, एकअर्कालाई नेतृत्वबाट विस्थापित गर्ने रणनीतिमा लागेर संगठन कमजोर बनाउनेतिर लागेका छन् । अहिले सबै पार्टी सभापतिको हैसियतमा आफूलाई राख्न र त्यो हैसियतको परिचय बनाउन कुनै पनि स्तरको नेता अहिले हदैसम्म फोहोरी खेल खेल्न तयार रहेको देखिन्छ । जुन अहिले भएको एकअर्काविरुद्धमा भएको मोर्चावन्दीलाई लिन सकिन्छ । यस्तो प्रवृत्तिलाई अहिले सबैले आफ्नो–आफ्नो ठाउँबाट यो खेल बन्द गरेर संगठन मजबुत बनाउन लाग्नुपर्छ ।
कांग्रेसको संगठन छैनभन्दा हुन्छ, संगठन कमजोर र सुस्त छ, संगठन छ भन्नेहरुले यो बुझे हुन्छ कि कांग्रेसमा गठन छ । तर, संगठन छैन । यही गठनलाई संगठन ठान्नु नै कांग्रेसको भुल हो । केन्द्रदेखि जिल्लासम्म र त्यसका भातृ निकायहरुको वर्तमान अवस्थाको यो गठनलाई संगठन बनायौं भन्नु नै सांगठनिकरुपले कांग्रेस कमजोर हुँदै गएको हो, संगठन भनेको विधि–विधानले चल्ने संस्थालाई जनाउँछ । त्यो कांग्रेसमा अहिले देखिरहेको छैन, संगठनले बृहत शब्दको अर्थ दिन्छ ।
कांग्रेसले कांग्रेसलाई जोड्न सकेको छैन, कांग्रेसले कांग्रेसमा अपनत्व गराउन सकेको छैन, कांग्रेस यस्तो पार्टी थियो जसको लागि ज्यान दिएका थिए, ज्यान दिन तयार हुन्थे । अहिलेको कांग्रेस कांग्रेसकै ज्यान लिन तयार छन् । ज्यान लिनु भनेको मार्नु, हत्या गर्नु मात्रै होइन आफ्नो निहीत स्वार्थलाई आफ्नो अभिष्ट पूर्तिका लागि आफ्नो सहयात्रीलाई निस्तेज गर्नु, नेतृत्ववाट विस्थापित गर्नु र पार्टीबाट पलायन पार्नु उदासीन गराउनु पनि हत्या गर्नु, ज्यान लिनु सरह हो । हो, अहिले पार्टीमा यस्तै विचार मौलाइरहेको छ ।
अहिले युवा पुस्ताको कुरा उठाइरहेका छन्, नेतृत्व युवापुस्तामा आउनुपर्छ –युवा पुस्ता भनिरहेका छन् । तर, युवा पुस्ताले यो भनिरहँदा यो कुरा उठाइरहँदा गुटभित्रै रहेर यो कुरा उद्घाटन गरिहेका छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला यिनीहरु ठूलो वृक्षको रुपमा कांग्रेसमा देखिरहेका छन् । र, त्यही वृक्षको छायाँमा युवा पुस्ता हुर्किरहेका छन् । छायाँमा रहेर युवा पुस्ताले नेतृत्वको कुरा गर्नु आफैमा स्वास्थ्य राजनीति मान्न यस कारणले सकिँदैन कि यसमा गुट र उपगुट जीवित देखिन्छ ।
छायाँबाट मुक्ति हुनुपर्छ । छायाँमा बसेर नेतृत्व विकास हुँदैन छायाँमा बसुञ्जेल, रहुञ्जेल सधैँ पुड्को हुइन्छ त्यहाँ विकसित हुने वातावरण वृक्षले रोक्छ । जसरी ठूला वृक्षको छायाँमा अन्य वनस्पती मौलाउँदैन, फस्टाउँदैन सेपमा पर्छ अहिलेको युवा पुस्ता त्यस्तै सेपमा छन् । प्रथमतः युवा पुस्ता त्यो छायाँबाट मुक्त भएर कांग्रेस वीपी विचारको कांग्रेस भएर अगाडि बढ्नु पर्छ । वीपीको विचार वीपीको चरित्र र संस्कार आफूमा रुपान्तरित गरेर विचार चरित्र र संस्कारलाई पोषित गर्दै अन्तकरण शुद्धी गर्दै अगाडि नबडे युवा पुस्तामा वीपीले जन्माएको कांग्रेसमा नेतृत्व लिने क्षमताको विकास हँुदैन । संगठनमा शुद्धी आउँदैन र गुट–उपगुटको अन्त्य हँुदैन ।
तीन तहको निर्वाचनको परिणामपछि नेपाली कांग्रेसको अवस्था वनसाई अर्थात् गमलामा रोपेको वरपिपल जस्तो भएको छ, त्यो वरपिपलमा कुनै चराले गुड लगाउँदैन र त्यहाँ कुनै चरा–चुरुंगी बस्दैन । त्यसले कसैलाई शितल दिँदैन, न त त्यसबाट काठदाउरा को नै उपयोग हुन्छ र सबैभन्दा दुःखको कुरा त्यसले न कुनै बिज नै उत्पादन गर्छ अहिले कांग्रेस त्यस्तै गमलाको वरपिपल जस्तो भएको छ ।
यस्तो अवस्थाको कांग्रेसले अब जमिनमा, जनतामा, जनताको घर–घरमा जानुपर्छ । जमिनमा त्यो वृक्षलाई रोपेर वनसाइलाई भिमकाय वृक्षमा परिणत गर्नुपर्छ । यसो गर्न सबै एकजुट हुनुपर्छ । गुट–उपगुटको अन्त्य हुनुपर्छ । कांग्रेसको गठनलाई संगठनमा परिणत गर्दै पार्टी विधि विधानले चलाएको अवस्थामा कांग्रेसले एकअर्कामा अपनत्व सृर्जना गर्नसक्छ, कांग्रेसले एकअर्कामा जोड्न सक्छ ।