• काठमाडौं, । सरकारले आगामी मंसिर १४ गतेका लागि उपनिर्वाचनको घोषणा गरेसँगै तत्कालीन संस्कृति तथा पयर्टनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की–२ को उम्मेदवारीबारे चर्चा–परिचर्चा सुरु भएको छ ।

    निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेसँगै चुनावी जोड घटाउ र निर्वाचन परिणामको विभिन्न आँकलनसहित काउन्ट डाउन सुरु भएको छ ।

    यससँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको पनि चर्चा सुरु भएको छ । तर, चुनावी नतिजा सकारात्मक हुने/नहुने ढुक्कको स्थिति नरहेकाले गौतमले अझै त्यसबारे कतै पनि औपचारिक रूपमा मुख खोलेका छैनन् ।

    बरु, उनले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अनौपचारिक कुराकानीमा रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई नै उम्मेदवार बनाउन प्रस्ताव गरेको समाचार यसअघि बाहिर आएको थियो ।

    तर, यसबारे कसैले जिज्ञासा राखिहाले पनि उनि तर्किंदै आएका छन् । गौतम सकभर अध्यक्ष केपी ओली र पुष्पकमदल दाहालको प्रस्तावमा पार्टीले केन्द्रीय सचिवालय बैठकबाट सर्वसम्मत निर्णय गरिदेओस् भन्ने पक्षमा रहेको बताइन्छ ।

    गौतम गत निर्वाचनमा बर्दियाबाट ७ सय ५३ मत अन्तरमा कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । पराजित भएलगत्तै गौतमले आफूमाथि पार्टीभित्रैबाट अन्तरघात भएको आरोप लगाउँदै छानबिन गरेर कारबाही गर्न माग गरेका थिए ।

    साबिक एमालेको प्रदेश कमिटीले बैजनाथ चौधरीको संयोजकत्वमा छानबिन समिति नै बनाएर छानबिन प्रक्रिया अघि बढाएको पनि थियो ।

    उक्त समितिले आरोपित श्याम ढकालसहितलाई वयान पनि लियो तर कसको अन्तरघातका कारण पराजित हुनुपरेको समितिले स्पष्ट पार्न सकेन । बरु, ढकाललाई नै नेकपाको प्रदेश कमिटी सदस्य बनाइएपछि गौतम आक्रोशित हुँदै आएका थिए ।

    तर, अध्यक्ष ओलीले चिढिएका गौतमलाई उपाध्यक्ष बनाएर र कास्कीबाट निर्वाचित गराउने वचन दिएपछि उनको दोस्ती फेरि जोडिएको छ । गत निर्वाचनमा एमालेका तर्फबाट अधिकारी साढे ७ हजार मतान्तरमा विजयी भएका थिए ।

    उनको निधनपछि श्रीमती विद्या भट्टराईको नाम उम्मेदवारका रूपमा चर्चा हुँदै आएकोमा गौतमको नामले प्रवेश पाएपछि बिभिन्न आँकलन हुन थालेका छन् ।

    कम्युनिस्ट सरकार त्यति लोकप्रिय नभएकाले गौतमका लागि पाहुना उम्मेदवारका रूपमा उक्त निर्वाचन क्षेत्र प्रत्युत्पादक हुन सक्ने एकाथरीले विश्लेषण गरिरहेका छन् ।

    अर्कातिर कास्की–२ लाई कांग्रेसको पनि निकै बलियो पकड क्षेत्रका रूपमा रहेकाले पनि गौतमको जित सहज नहुने बताइरहेका छन् ।

    कास्कीबाट चुनाव जितेर आउँदा गौतमका लागि निर्णायक अवसरको ढोका खुल्न पनि सक्छ । समकालीन माधव नेपाल, केपी ओली र झलनाथ खनाल पार्टी प्रमुख र सरकार प्रमुख भइसकेकाले दुईमध्ये कुनै एउटा पदमा पुग्ने उनको लामो समयदेखिको आकांक्षा पूरा हुने अनुमान गर्न सकिन्छ, बुधबारमा उल्लेख छ ।

    तर, त्यस्तो आकांक्षा भने पार्टी सचिवालय तहकै एक नेता तगारो बन्न सक्ने गौतमको अनुमान छ । बर्दियामा पनि तिनै नेताको मुख्य भूमिकाको कारण आफूले पराजय भोगेको निष्कर्षमा पुगेका उनी कास्कीमा पनि त्यही घटना पुनारावृत्ति हुने त्रासमा रहेको बताइन्छ ।

    यी सबै कुरालाई दूर गरेर अन्तिम लेखाजोखापछि मात्र गौतमले उठ्ने, नउठ्ने निर्णय गर्ने उनी निकट स्रोतले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…