भाद्र २६, काठमाडौँ । बिगत १५ महिना देखी बन्द गरिएको मलेसियाको रोजगार खुला गर्ने सहमति भएको छ । अब नेपालबाट नयाँ कामदार शून्य लागतमै ढुक्कसाथ मलेसिया जान पाउने भएका छन् ।
श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए अनुसार तत्कालै नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो ।
उनका अनुसार सहमति अनुसार नेपालले सूचीकरण गरेका ८६ वटा नयाँ स्वास्थ्य संस्था थप्ने प्रक्रिया मलेसियाले आगामी नोभेम्बर पहिलो हप्ताबाट सुरु गर्नेछ। कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ ।
अब मलेसिया जाने नयाँ कामदारको रोजगारी शून्य हुनुको साथै स्वास्थ्य परिक्षणको सिण्डिकेट अन्त्य, नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी समेत हुनेछ।
सरकारले २०७५ को जेठ १२ गतेबाट मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै मलेसियाका लागि श्रम स्वीकृति दिन रोक लगाएको थियो ।
नेपाली राजदूत उदयराज पाण्डेले यस अघी मलेसियाका मानव संसाधन मन्त्री कुला शेधारनलाई मलेसिया रोजगारी खुलाउन अनुरोध गर्दै आईरहेका थिए ।
मेनपावर व्यवसायीदेखि विभिन्न राजनीतिक दल र कामदारहरुले मलेसियाको रोजगारी खुलाउन दवाव बढाइरहेको बेला क्वाललम्पुरमा भएको तीन दिने वार्ताले यस्तो सहमति जुटेको हो ।