• काठमाडौं । दसैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार भएको छैन ।ठाउँठाउँमा सडक विस्तार भइरहेकाले र निरन्तरको वर्षाका कारण सडक तथा राजमार्ग भत्किएका छन् भने सडकभरि खाल्टाखुल्टी परेर दयनीय बन्न पुगेको छ ।
    काठमाडौंबाट बाहिरिने मुख्य नाका थानकोटको सडकखण्डमा खाल्टाखुल्टी देखिएका छन् । कलंकीबाट बाहिरिने अर्को नाका भक्तपुरसम्म राम्रो भए पनि बनेपा पार भएसँगै खाल्टाखुल्टीले सडक भरिएका छन् ।
    बल्खुदेखि हेटौंडा निस्कने सडकखण्डको ठाउँठाउँमा पिच उप्किएको छ भने सडकभरि खाल्टाखुल्टी छन् । काठमाडौं–नुवाकोट–धादिङ तथा रसुवा जाने तीन वटा नाकाको पनि हालत खराब नै छ । टोखा, ककनी र गल्छीको बाटो पनि दयनीय अवस्थामा छ ।

    चावहिल–जोरपाटीको सकड पनि दयनीय छ । त्यस क्षेत्रका स्थानीयले पटक–पटक सडक मर्मत–सम्भार तथा पिच गर्न माग गर्दै सडकमा उत्रिएर आन्दोलन गर्दै आएका छन् ।
    ठेकेदारको लापरवाही र सरकारी निकायको सक्रियता नहुनाले उपत्यका र उपत्यकाबाहिरका सडकको अवस्था दयनीय बन्न पुगेको हो । सरकारले सडकको विषयमा अझै सक्रियता देखाएको छैन । पछिल्लो समय सडक फराकिलो बनाउन ठाउँठाउँमा सडकमा डोजर लगाइएको र समयमै निर्माण सम्पन्न नहुँदा पनि गाडी गुडिरहने सडकमा प्रभाव परेको हो ।
    पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डहरूदेखि त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायतका सडकका विभिन्न खण्डमा पनि ठूला खाल्टाखुल्टी छन् । यस्ता खाल्टाका कारण राजधानीसहित राजमार्गमा सवारी दुर्घटना बढ्ने भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गर्दै आएका छन् ।
    दसैंमा गत वर्षमा १५ देखि २० लाख मानिस काठमाडौंबाट बाहिरिने र दसैंलगत्तै पुनः काठमाडौं फर्कन्छन् । यसपटक भने सडकको दयनीय अवस्थाका कारण यात्रामै असजता आउने खतरा देखिन थालेको छ ।
    यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच दसैंको अग्रिम बुकिङ टिकट खुलाउनेसम्बन्धी शुक्रबार बसेको बैठकमा व्यवसायीले सडकको उचित मर्मत तथा खाल्टाखुल्टी पुर्न माग गरेका थिए । ‘यातायात समिति खारेजसँगै अहिले नयाँ बसहरू थपिएका छैनन्, अहिले भएको बसबाटै व्यवस्थापन गर्नुपर्ने भएकाले सडक राम्रो हुन आवश्यक छ । थोरै सडक बिग्रिएर यातायात अवरुद्ध भए ठूलो समस्या निम्तन्छ,’ यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, ‘हामीले विभागसँग सडक सुधारमा ध्यान दिन र खाल्टाखुल्टी पुर्न विशेष आग्रह गरेका छौं ।’

    यातायात विभागले भने सडक विभागसँग समन्वय गरेर बिग्रेका सडक मर्मत गर्ने तथा खाल्टाखुल्टी पुर्ने बताएको छ ।
    सडक विभागले खाल्टाखुल्टी पुर्ने र सडक मर्मत–सम्भार गर्ने काम नियमित रूपमा भइरहेको र वर्षाले केही प्रभावित भए पनि चाडपर्वका लागि विशेष जोड दिने जनाएको छ ।
    यसअघि, संसद् बैठकमा सांसदहरूले चाडपर्व नजिकिन लागेको भन्दै राजमार्ग, उपत्यका भित्रिने र बाहिरिने नाका तथा उपत्यकाका सडकको मर्मत–सम्भार गर्न सकारको ध्यानाकर्षण गराएका थिए । सरकारले भने अहिलेसम्म खासै चासो देखाएको छैन । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…