•  

    काठमाडौं । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

    सरकारले आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्ने र गलाएर पार्टीसमेत छाड्ने परिस्थितिमा पु¥याएपछि चन्द नेतृत्वको नेकपाले रणनीति बदल्दै वार्ताका लागि सकारात्मक हुने संकेत गरेको हो ।

    प्रतिबन्धपछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको ‘विप्लव’ समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रूपमा गतिविधि सञ्चालन गर्दै आएको छ ।

    विप्लव नेतृत्वको नेकपाका उच्च तहका एक नेताले पार्टीभित्र वार्ताका लागि छलफल भइरहेको र सरकार नै पहिले सकारात्मक हुनुपर्ने बताए । ‘वार्ता नै नगर्ने भन्ने त होइन, पार्टीभित्र छलफल भइरहेका छन् । सरकार वार्ताका लागि सकारात्मक रूपमा तयार भए हुन सक्छ,’ ती नेताले भने ।

    प्रतिबन्धयता ८१८ जना पक्राउ

    ८ दर्जनले गरे पार्टी परित्याग

    महासचिव विप्लवले समेत केही दिनअघि एक अन्तर्वार्ताका क्रममा आफू वार्ताको निरपेक्ष विरोधी नभएको बताएका थिए । तर, सरकारले विगतमा वार्ताको हल्ला मात्रै फिँजाएको र सरकारतर्फकै केही व्यक्ति अहिले पनि वार्ता विरोधी रहेको उनले भनेका छन् ।

    ‘जनताका एजेन्डामा बहस गर्न हामी सधैं खुला छौं तर वार्ता देश र जनताका विषयमा केन्द्रित हुनुपर्दछ,’ विप्लवले भनेका छन् ।

    उनले क्रान्तिकारीहरूलाई भ्रमित पार्न वार्ता र कूटनीतिको कुरा गर्ने अनि भित्र दमन गरेर सक्ने रणनीतिसमेत हुने विषयमा भने अत्यन्तै गम्भीर भएको भनेका छन् ।

    प्रहरीले आइतबारसम्म नेकपाका ८ सय १८ जना नेता कार्यकर्तालाई प्रतिबन्धयता पक्राउ गरिसकेको छ । यस्तै, यसबीचमा ७ सय ५६ वटा मुद्दा प्रहरीले दर्ता गरेको छ भने ५८६ जना मुद्दा दर्ता भई छुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैबीचमा ५५ जना साधारण सोधपुछ पछि छुटेका छन् । यसैगरी, १ सय ५५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने ५२ जना अनुसन्धानकै क्रममा छन् ।

    यसबीचमा करिब ७० बढी विप्लव निकट नेता कार्यकर्ता सत्तारूढ र अन्य पार्टीमा प्रवेश गरिसकेका छन् । यसैगरी, करिब २५ जना नेता कार्यकर्ताले विज्ञप्ति निकालेरै स्वतन्त्र रूपमा रहेको जनाएका छन् भने केहीले भने प्रहरीले पक्राउ गरेपछि आत्मसमर्पण गरेका छन् ।

    आइतबार मात्रै प्रहरी नियन्त्रणमा रहेका इलाम जिल्ला सेक्रेटरी दिपेन राईले प्रहरी हिरासतबाटै विज्ञप्ति जारी गरेर पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् ।

    उनलाई गत २० चैतमा झापाको बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनी अहिले इलाम कारागारमा छन् । उनले कारागारबाटै विज्ञप्ति जारी गरेर विप्लव नेतृत्वको पार्टी परित्याग गरेको र नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् ।

    नेकपाले पार्टीका पोलिटब्युरो सदस्य रहेका नेता पदम राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । उनी सत्तारूढ दल नेकपामा प्रवेश गरिसकेका छन् । यसैगरी, पूर्वसभासद किरणकुमार राईसमेत सत्तारुढ नेकपा प्रवेश गरेका छन् ।

    यसैगरी, गत २३ भदौमा ताम्सालिङ ब्युरोले पार्टीको नीतिविपरीत गतिविधि गरेकाले तत्कालीन रामेछाप जिल्ला इन्चार्ज जमिन र ताम्सालिङ ब्युरो सदस्य प्रयासलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । उनीहरू २३ भदौमा सत्तारुढ नेकपा प्रवेश गरेका थिए । विप्लवविरुद्ध यतिबेला सरकारी संयन्त्रसमेत आक्रामक रूपमा अघि बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले चन्द नेतृत्वको नेकपालाई आमानवीय शक्ति भन्दै आइरहेका छन् भने विध्वंसात्मक र हिंसात्मक बाटो लिनेलाई सरकारले छुट नदिने बताउँदै आएका छन् । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…