• काठमाडौं, ३० भदौ । चीनका राष्ट्रपति सी जिङपिङले यस क्षेत्रका भुटानबाहेक सबै मुलुकहरुको भ्रमण दोहोर्याएर समेत गरिसक्दा सबैभन्दा नजिकको छिमेकी नेपालको भने अहिलेसम्म एक पटक पनि भ्रमण गरेका छैनन् ।

    चीनका राष्ट्रपति सीको इच्छा हुँदाहुँदै पनि नेपालको तर्फबाट तयारी नपुगेको कारणले गर्दा अहिलेसम्म नेपाल भ्रमण हुन नसकेको विश्लेषण कूटनीतिज्ञहरुको रहेको छ ।

    तर, २०७६ असोजको अन्तिम साता छोटो समयका लागि भए पनि चीनका राष्ट्रयपति सी जिङपिङको नेपाल भ्रमण लगभग निश्चित भएको छ ।

    तर, नेपालको तर्फबाट भने चीनका राष्ट्रपति सीको भ्रमणको विशेष तयारी नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरुले अझै गर्न सकेका छैनन् ।

    यो मामिलामा नेपालका तीन वटा महत्वपूर्ण मन्त्रालयहरु अर्थ, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको काम कारबाही अत्यन्त निराशाजनक रहेको बालुवाटार श्रोत बताउँछ ।

    नेपालका सरकारका खराब तीन मन्त्रीको नेतृत्वमा रहेका मन्त्रालयहरुको यही निराशाजनक कामकारबाही भएकै कारणले गर्दा २०७६ भदौ २२ गतेबाट तीन दिनका निम्ती चिनियाँ विदेशमन्त्री बाङ यीको विशेष र महत्वपूर्ण नेपाल भ्रमणलाई नेपाली पक्षले नै नेपालका निम्ती बेइज्जतीपूर्ण बनाउने काम गरेको विश्लेषण गरिएको छ ।

    चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमणको कुनै तयारी परराष्ट्र र अर्थ मन्त्रालयले नगरेकै कारणले गर्दा लगभग ३५ करोड रुपैयाँ बराबरको मनाङमा अस्पताल र ५ हजार थान त्रिपाल लिने सहमति गरेको अनावश्यक प्रचार गरेर परराष्ट्र मन्त्रालयले चीनसमक्ष नेपाललाई अपमानको अवस्थामा पुर्याउने काम गरेको थियो ।

    अबको लगभग एक महिनामा २३ वर्षपछि चीनका राष्ट्रपतिले नेपालको विशेष भ्रमण गर्दैछन् । अमेरिकालाई चुनौती दिएर विश्वशक्तिको होडमा रहेको चीनको तर्फबाट नेपाललाई विशेष उपहार र यथेष्ट सहयोग यो भ्रमणको अवसरमा उपलब्ध हुने स्थिति छ ।

    तर, नेपालको परराष्ट्र मन्त्रालयसँगै अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उदासिनताको कारण चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको फाइदा नेपालले उठाउन नसक्ने हो कि भन्ने आशंका पैदा भएको छ ।

    परराष्ट्र मन्त्रालय पूर्ण रुपमा निकम्मा कर्मचारीहरुको नियन्त्रणमा रहेको र परराष्ट्र मनत्री प्रदीप ज्ञवालीले परराष्ट्र मन्त्रालयलाई निकम्मा नेतृत्व दिएको कारणले गर्दा चीनका राष्ट्रपति सीको नेपाल भ्रमण पनि नेपालका निम्ती उपलब्धिमूलक नहुन सक्छ कि भन्ने आशंका उत्पन्न भएको हो ।

    २०७६ भदौ २१ ग्तेबाट तीन दिनका निम्ती चीनका विदेशमन्त्री वाङ यीको भ्रमणमा परराष्ट्रमन्त्री ज्ञवालीको रवैयाले देखाएको छ । यसैगरी चीनका राष्ट्रपति सीले नेपाल भ्रमणको सन्दर्भमा नेपालका लागि गौरवशाली आयोजनाहरुमा चीनको तर्फबाट विशेष सहयोग हुनसक्ने स्थिति छ ।

    तर, नेपालको अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसको कुनै तयारी र गृहकार्यसमेत गरेका छैनन् । यहीकारणले गर्दा नै काठमाडौं–केरुङ रेलमार्ग सम्बन्धित सम्झौता पनि यो भ्रमणमा हुन नसक्ने अनुमान गर्न थालिएको छ ।

    अर्थमन्त्री युवराज खतिवडा कर्मचारीको लहलहैमा चल्ने अर्थ मन्त्रालयलाई सक्षम नेतृत्व दिन नसकेकै कारणले गर्दा देशको अर्थतन्त्र र नेकपाको चुनावी घोषणा पत्रले नराम्रो धोका खाइरहेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको प्राथमिकतामा इन्जिनियरहरुको सरुवा, बढुवा करोडौं असुल्ने र ठेकेदार कम्पनीहरुको ठेक्काबाट आउने कमिशनको फाइलमा मात्र भएको कारणले गर्दा चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको अवसरमा भौतिक पूर्वाधारका महत्वपूर्ण योजनामा सम्झौता हुन नसक्ने हो कि भन्ने आशंका गरिएको छ ।

    प्रधानमनत्री केपी ओली समृद्ध नेपाल र सुखी नेपाली भन्ने आफूले अगाडि सारेको लक्ष्यलाई साकार पार्न चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण महत्वपूर्ण सहयोगी हुने अपेक्षामा रहेका छन्, साँघुमा उल्लेख छ ।

    तर, परराष्ट्र, अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्रीहरु क्रमशः प्रदीप ज्ञवाली, युवराज खतिवडा र रघुवीर महासेठ प्रधानमन्त्री ओलीका निम्ती अहिले यी तीन महाविकटका साथै सरकारका लागि बद्नाम पात्र भएका छन् ।

    मन्त्रीत्रय ज्ञवाली, खतिवडा र महासेठको कार्य शैलीबाट वाक्कदिक्क भएका प्रधानमन्त्री ओलीले अतिविशिष्ट पाहुनाको नेपाल भ्रमण सम्पन्न भएपछि उनीहरुलाई थान्को लगाउने बालुवाटार चर्चा नेकपामा हुने गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…