काठमाडौं, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण र कार्यविभाजनको काम लगभग टुंगो लागे पनि कतिपय बाँकी कामले अझै गति लिन सकेको छैन ।
एकीकरणयता किस्ताबस्दीमा हुँदै आएको ती काममा पछिल्लो पटक फेरि ढिलाइ हुँदै जाने संकेत देखिएको हो ।
एकीकरण र कार्यविभाजनका सबै बाँकी काम छिटो टुंग्याएर पार्टीको सम्पूर्ण पंक्ति सरकारको काम प्रभावकारी बनाउनेतर्फ केन्द्रित गर्नुपर्नेमा करिब दुई तिहाइ बहुमत ल्याएको पार्टी अबको मिसन अर्थात् कार्यदिशा के भन्नेमै अलमलिएजस्तो देखिएको छ ।
सरकारको मुख्य काम आर्थिक सामाजिक रुपान्तरणमार्फत समृद्ध नेपाल निर्माण भनिएकाले डेढ वर्षदेखि पार्टीको सबै पंक्ति, भ्रातृ संगठनहरु एक मात्र त्यही योजना साकार पार्ने योजना निर्माणका साथ सम्पूर्ण शक्ति परिचालन गर्दै दिनरात खटिनुपर्ने हो ।
तर, लाखौं कार्यकर्ता त्यस मिसनमा होइन, बेलैमा काम नपाएकाले पार्टी नेताहरुको कुरा काटेर दिन बिताइरहेका छन् । युवाहरुको श्रमशक्ति त्यतिकै खेर गइरहेको छ ।
अहिलेसम्म सम्पन्न भएको एकता र कार्यविभाजनमा पनि पूर्ण मापदण्ड नअपनाइएकाले केन्द्र, स्थानीय तह सबैतिरका नेता–कार्यकर्ताहरु पूर्ण सन्तुष्ट छैनन् ।
चार हजार पल्टनको केन्द्रीय कमिटी बनाएको साबिक माओवादीका थुप्रै केन्द्रीय सदस्यहरुले एकीकरणका क्रममा गाउँपालिकामा समेत ठाउँ नपाउने स्थिति बन्दा असन्तुष्टि चुलिएको छ ।
उनीहरुको असन्तुष्टि कसरी सम्बोधन गर्ने विषयमा अध्यक्षकै जिम्मेवारीमा रहेका प्रचण्ड पनि खासै गम्भीर देखिँदैनन् ।
प्रदेश २ मातहतको शपथग्रहण समारोहमा त पार्टी सदस्य नै नरहेकालाई प्रदेश र जिल्लामा राखिएको भन्दै कार्यकर्ताहरुले विद्रोह गरेका छन् ।
कार्यकर्ताहरुको व्यापक असन्तुष्टिका कारण आठै जिल्लाको शपथग्रहण कार्यक्रम नै रोकिएको छ । यी सबै असन्तुष्टिलाई नेतृत्वले गम्भीरतापूर्वक नसोच्ने हो भने नेकपा थप कमजोर र शिथिल बन्दै जाने आंकलन गर्न थालिएको छ ।
केन्द्रीय सचिवलायका चार नेताहरुले एकीकरणका बाँकी काम छिट्टै टुंगो लगाउने भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नियमित बैठक गरिरहेका छन् ।
बिग फोर नेताका नाममा पछिल्लो पटक सोमबार र मंगलबार बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अलग्याएर बेग्लै छलफल चलाइएको छ ।
सरकारी निवासमा अलग्गै गुटको बैठक बोलाएर अहिले १५ वर्ष पार्टी चलाएको र देशको समेत नेतृत्व गरिसकेका पूर्वप्रधानमन्त्री नेपाललाई एक्ल्याउन खोजिएको छ ।
यसरी दिनदिनै बैठक भइरहे पनि एकता र कार्यविभाजनका बाँकी काममा भने केही पनि प्रगति भएको छैन । अर्थात् प्रगति शून्य जस्तो देखिएको छ । केन्द्रीय आयोगहरु लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको एकीकरण बाँकी नै छ ।
अनुशासन आयोगको एकीकरण पन्छाएर पार्टीभित्र नेता–कार्यकर्ताहरुलाई अनुशासनको डन्डा देखाइएको छ । यसमार्फत आफ्नो कार्यशैलीमा कारबाही गर्ने रवैया नेतृत्वले प्रकट गरेको छ ।
पार्टी झन् पछि झन् भ्रष्टीकरणको दिशातर्फ गइरहेका बेला शीर्ष नेतृत्वहरु नै गुट समाप्त भएको सार्वजनिक घोषणा गरेर हिँड्न थालेका छन् ।
त्यस्तै, अहिले केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चको पनि एकीकरण सम्पन्न भएको छैन । भारत प्रवासबाहेक प्रवासी मञ्चहरुको एकता र कार्यविभाजन पनि सम्पन्न भइसकेको छैन ।
चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये अधिकांशले काम पाए पनि १९ जना केन्द्रीय सदस्यहरु भने अझै बेरोजगार नै रहेका छन् ।
उनीहरुलाई दिइने जिम्मेवारीबारे लगातार चलिरहेको अनौपचारिक छलफलले पनि टुंग्याउन सकेको छैन । त्यस्तै, प्रदेश २ सहित अन्य केही प्रदेशमा सदस्यहरुको मनोनयनबारे जारी विवाद अझै टुंगो लगोको छैन ।
एक दर्जनभन्दा बढी जिल्लाहरुमा जिल्ला कमिटी सदस्य चयनको विषयमा पनि विवाद कायमै छ । यी सबै विषय छिटो टुंगो लगाउन अस्वस्थ्यताका बाबजुद प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली आफैं सक्रिय देखिए पनि अहिलेसम्म ठोस परिणाम देखिएको छैन ।
चिकित्सकहरुले उनलाई आरामको आवश्यकता औंल्याइरहेका छन्, त्यसका बाबजुद उनको खटाइ देखिए पनि कुनै सुःखद परिणाम नदिएपछि धेरै प्रश्न उठिरहेका छन् ।
पछिल्लो कार्यविभाजनमा विधि, प्रक्रिया र मापदण्ड नै मिचिएपछि वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै नोट अफ डिसेन्ट दर्ता गराएका थिए । तर, त्यसबारे छुट्टै छलफल गरेर असमझदारी अन्त्य गर्ने विषयमा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग संवाद गर्न चाहेका छैनन् ।
बरु पछिल्ला अनौपचारिक छलफलहरुमै वरिष्ठ नेता नेपाललाई नियोजित रुपमै बाइपास गर्न थालिएको छ । सोमबार र मंगलबारको छलफलमा नेपाललाई बोलाइएन ।
यसैबीच नेकपाले भोलि सचिवालयको बैठक बोलाएको छ । बिगफोर भनिएका नेताहरुको लगातार दुई दिन र अध्यक्षद्वयको नियमित जस्तो औपचारिक अनौपचारिक छलफल पछि भोलिका लागि सचिवालय बैठक डाकिएको हो ।
यो बैठकले एकताका बाँकी काम टुंगो लगाउने अपेक्षा गरिएको छ । भोलिको बैठकमा कास्की–२ को उपनिर्वाचनमा पार्टीबाट उठाउने उम्मेदवारको विषयमा पनि छलफल हुने बुझिएको छ, बुधबारमा उल्लेख छ ।
नेकपाभित्र सो क्षेत्रमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, स्व.रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई वा तेस्रो कुनै उम्मेदवार उठाउने भन्नेमा छलफल चलिरहेको छ । साथै यो बैठकमा गौतमको प्रस्तावित उपाध्यक्ष पदका बारेमा पनि छिनोफानो हुने बुझिएको छ ।