काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समयमा दिनैपिच्छे आलोचित बन्दै गएका छन् । एकातिर सरकारको प्रस्तुति कमजोर बन्दै गएको छ भने अर्कातिर उनको बोली र स्वभावले उनलाई संकटमा पारेको छ ।
पार्टी एकता भइसकेपछि पनि तल्लो तहसम्म कार्यकर्ता व्यवस्थापन नहुँदा संकट उत्पन्न भएको छ । पार्टी र सरकार संचालनमा समस्या देखिएको भन्दै सर्वत्र आलोचना हुँदासमेत बचाएर बोल्ने मान्छे पाइन छोडेको छ ।
प्रधानमन्त्री ओली भने सधै गफ गरेर नै सरकार चल्छ भन्ने सोचमा अघि बढेका छन् । उनी प्रधानमन्त्री भएको आज १८ महिना २६ दिन पुगेको छ तर जनअपेक्षा अनुसार काम हुन नसकेको उनकै पार्टीका नेताहरुले भन्दै आएका छन् ।
यतिमात्र होइन केही मानिसहरुबाहेक अरु कोही पनि सरकारको पक्षमा खुलेर बोलेका छैनन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि ओलीको पक्षमा वकालत गर्ने पक्षमा छैनन् ।
सरकार बन्ने बेलामा भएको भद्र सहमति ओलीले मान्लान् भन्नेमा माओवादीका मानिसहरु ढुक्क छैनन् । सहमति अनुसार साढे दुई वर्ष ओली र साढे दुई वर्ष प्रचण्डले सरकार चलाउने भनिए पनि ओली अडानबाट पछि हट्ने सोचमा छैनन् ।
पार्टी एकता वास्तवमा ओली र प्रचण्डको राजनीति सुरक्षित गर्नजस्तो मात्र भएको छ । ओली अशक्त र बिरामी भएका बेला उनको काम के कस्तो भयो भन्ने अहिले मूल्यांकन गर्ने बेला भएको छ ।
ओलीले आफूलाई स्वास्थ्यको कुनै खतरा नभएको र अझै धेरै वर्ष बाँच्ने भन्दै आएका छन् । उनको स्वास्थ्यका कारण सरकारका काम कारबाही पनि सुस्त हुँदै गएका छन् । तर, पनि म बिरामी र रोगी भएँ भनेर सत्ता हस्तान्तरण गर्न उनी तयार छैनन् ।
यो बेलामा उनले सरकारको नेतृत्व हस्तान्तरण गरेर पछि कुनै दिन म स्वास्थ्य भए भने फेरि पनि प्रधानमन्त्री बन्न सक्छु भनेर बिकल्प दिने हो भने उनी नेपालका लागि मात्र होइन विश्वकै चर्चित राजनीतिक व्यक्ति बन्न सक्नेछन्, आलोचनामा उल्लेख छ ।
तर, यो कुरा न त उनले बुझेका छन् न त उनका शुभचिन्तकले नै यो सल्लाह दिएका छन् । देश र जनताको लागि राजनीति गर्छु भन्ने नेताहरुले त्यागको भावना भने कहिल्यै पनि राखेको पाइँदैन ।
पद पाएपछि मरुन्जेलसम्म नछोड्ने प्रचलन बढेको छ त्यसैले यो बेलामा ओलीले एक पटक त्यागको भावनाले पार्टीका अरु साथीहरुले सरकार चलाउनुस् म केही समय आराम गर्छु भन्ने हो भने ओलीप्रति अहिलेसम्म लागेका सबै आरोप र आलोचना अन्त्य हुने थिए तर सम्झाउने कसले भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ ।