• काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताउनुभएको छ ।

    संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गर्नुभएको छ । तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।

    संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ । यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न आग्रह गर्दै लामो सङ्घर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गर्नुभएको छ ।

    ‘संविधान कार्यान्वयन र पालन गर्नु सबै नेपालीको कर्तव्य’
    उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताउनुभएको छ ।

    संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक दिनका रुपमा यस दिनलाई स्मरण गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको दिनका अवसरमा सबै नेपालीमा बधाई ज्ञापन गर्नुभएको छ । जनताका जीवनमा परिवर्तन देखा पर्न थालेको भन्दै उहाँले संविधान कार्यान्वयनका बाँकी कार्य यथाशीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    संविधान र कानूनप्रति हरेक नेपाली जनता पूर्ण जानकार हुनुपर्ने र यसका लागि सरकार र सरोकारवाला पक्षले प्रभावकारी कार्य गर्नुपर्ने सन्देशमा भनिएको छ । “हरेक नेपाली जनताले संविधानप्रति अपनत्व महसुस गर्दै आदर र सम्मान गर्नुपर्दछ”, सन्देशमा भनिएको छ । संविधानले कल्पना गरेको समाजवादोन्मुख व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा अघि बढ्ने उहाँको विश्वास छ ।

    राष्ट्रियसभाका अध्यक्षको शुभकामना सन्देश
    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकलाई एकताबद्ध गर्ने र राष्ट्रिय एकतालाई मजबुत पार्न सबै नेपालीलाई आह्वान गर्नुभएको छ । चौथो संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले राष्ट्रिय अखण्डता कायम गर्दै समृद्ध राष्ट्र निर्माण गरी सुखी र खुशी नेपालीको विकसित नेपाल निर्माणका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

    संविधानको कार्यान्वयन गर्ने सिलसिलामा सङ्घ, प्रदेश र स्थानीय सरकार आफ्नो जिम्मेवारी पूरा गर्न क्रियाशील रहेको अध्यक्ष तिमिल्सिनाको सन्देशमा उल्लेख छ । सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता तथा समानुपातिक प्रतिनिधित्व प्रणालीलगायत नवीनतम अवधारणा समाविष्ट वर्तमान संविधानले कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, बहुमतको शासन र अल्पमतको रचनात्मक प्रतिपक्षजस्ता संविधानवादका मूलभूत विशेषतालाई अवलम्बन गरेको बताइएको छ । ‘संविधान प्रदत्त मौलिक हकअधिकार कार्यान्वयनको लागि सङ्घीय संसद्ले आवश्यक कानून निर्माण गरी कार्यान्वयनको चरणमा पुगेको छ’ सन्देशमा भनिएको छ ।

    संविधान दिवस शुभकामना : सभामुख

    सभामुख कृष्णबहादुर महराले ‘संविधान दिवस, २०७६’को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

    संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले चार वर्ष अघि असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको उल्लेख गर्दै नेपालको इतिहासमा ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई संविधानमार्फत् संस्थागत गरिएको यस दिनको अवसरमा संविधानसभाबाट संविधान प्राप्तिका लागि भएका सङ्घर्षमा शहादत प्राप्त गर्ने सहिदप्रति हार्दिक श्रद्धाञ्जलि तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान अर्पण गर्दछु भन्नुभएको छ ।

    नेपालको संविधान जारी भएयताका चार वर्षको बीचमा सङ्घीय संसद्ले विभिन्न ऐन कानूनको निर्माण गरी संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको
    उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । “आगामी दिनमा पनि आवश्यक ऐन कानून निर्माणमा विशेष तदारुकता दिँदै संविधानको गरिमा बढाउन र संविधानलाई थप विकसित गर्न सङ्घीय संसद्ले निर्वाह गर्ने भूमिकामा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु”, सभामुख महराले सन्देशमा भन्नुभएको छ ।

    संविधानले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी÷समानुपातिक जस्ता महत्वपूर्ण उपलब्धि हासिल गरेको सभामुख महराले सन्देशमा उल्लेख गर्नुभएको छ । “आम नागरिकको मौलिक हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता गरेको र संविधानको यही मर्मलाई आत्मसात गर्दै नेपाली जनताको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता, स्वाभिमान एवं भौगोलिक अखण्डतालाई मजबुत बनाउँदै संविधान कार्यान्वयन र यसको पूर्ण पालना गर्न हामी सबैलाई प्रेरणा प्राप्त होस्”, सभामुख महराले सन्देशमा भन्नुभएको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…