संविधानमाथि सिंहदरबारबाटै खतरा
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जनताका मागलाई सम्बोधन गर्न समयअनुसार संविधान संशोधन गर्न सकिने र आफू संशोधनकै पक्षमा रहेको बताएको छ । गत भदौमा बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा नै कांग्रेसले आफ्नो दल संविधान संशोधनका पक्षमा रहेको प्रस्ट पारेको थियो ।
सहमहामन्त्री डा. प्रकाशशरण महतले पेस गरेको सो प्रस्तावमा आफ्ना सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बखत अघि सारिएको संशोधनको प्रस्तावलाई वर्तमान सरकारले रोकेको भन्दै तत्काल अघि बढाउन माग गरेको थियो ।
संविधान मस्यौदा समितिका संयोजक रहँदै संविधान जारी गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेस समयानुकूल जनताको मागलाई सम्बोधन गर्न संविधान संशोधनका पक्षमा रहिरहने बताए ।
‘जनताका मागलाई सम्बोधन गर्न संविधान संशोधनको सम्भावना सधंै रहिरहन्छ, संशोधन नै नगर्ने भन्ने हुँदैन, तर संविधानविपरीतका काम कांग्रेसले हुन दिँदैन,’ सिटौलाले भने, ‘गणतन्त्र, लोकतन्त्र र संघीयतालाई परिवर्तन गर्न सकिँदैन, संविधान संशोधन हुन्छ ।’
बिहीबार राजधानीमा प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र संविधानका चुनौती’ विषयक कार्यक्रममा सिटौलाले संविधान संशोधनका लागि आवाज उठाउने मधेस केन्द्रित दल सरकारमा सामेल भएपछि संशोधनका कुरा हराएकोप्रति आश्चर्य व्यक्त गरे ।
‘संविधान संशोधन हुनुपर्छ भनेर माग गर्ने मधेसवादी दल आज सरकारमा नै सहभागी हुनुहुुन्छ, तर उहाँ नै संशोधनका पक्षमा बोलिरहनुभएको छैन,’ सिटौलाले भने ।
संविधानमाथि सिंहदरबारबाटै खतरा
नेता सिटौलाले संविधानमाथि सिंहदरबारबाटै खतरा रहेको समेत बताए । संवैधानिक निकायलाई आफूअनुकूल बनाउने र संघीयतालाई कमजोर बनाउने खेलमा सरकार लागि परेको भन्दै उनले संविधानमाथि सिंहदरबारबाटै खतरा रहेको जनाए ।
‘सरकारबाट संविधानको नलफाइड प्रयोग भइरहेको छ, संविधानमाथि सिंहदरबारबाटै खतरा देखिँदै छ, संविधान खराब होइन, व्यवस्था पनि खराब छैन, संवैधानिक निकायलाई संविधानविपरीत लाचार छाया बनाउने काम सरकारबाटै हुँदै छ, संविधानसँग बाझिने काम सरकारबाटै भइरहेको छ,’ सिटौलाले थपे ।
—संविधान खराब होइन, व्यवस्था पनि खराब छैन, संवैधानिक निकायलाई संविधानविपरीत लाचार छाया बनाउने काम सरकारबाटै हुँदै छ, संविधानसँग बाझिने काम सरकारबाटै भइरहेको छ
—सरकार संविधानको बाटो छाडेर कम्युनिस्ट घोषणापत्रलाई टेकेर अघि बढ्दा मुलुकका लागि खतरा छ
—जनताका मागलाई सम्बोधन गर्न संविधान संशोधनको सम्भावना सधंै रहिरहन्छ, संशोधन नै नगर्ने भन्ने हुँदैन, तर संविधानविपरीतका काम कांग्रेसले हुन दिँदैन, गणतन्त्र, लोकतन्त्र र संघीयतालाई परिवर्तन गर्न सकिँदैन, संविधान संशोधन हुन्छ
सरकार संविधानको बाटो छाडेर कम्युनिस्ट घोषणापत्रलाई टेकेर अघि बढ्दा मुलुकका लागि खतरा देखिँदै गएको उनले जनाए । सिटौलाले संघीयतालाई समेत कमजोर बनाउने काम सरकारबाटै भइरहेको प्रति गुनासोसमेत गरे । संघीयताप्रति सरकारको आस्था नै कमजोर देखिएको र प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीबाटै सो गुनासो आइरहेको उनले जनाए ।
‘संघीयतामाथि सरकारबाटै प्रश्न खडा भइरहेको छ, मुख्यमन्त्री र मन्त्री नै प्रदेश सरकारलाई केन्द्र सरकारले अधिकार हस्तक्षेप गरी निकम्मा बनाएर संघीयतालाई कमजोर बनाएको गुनासो गर्छन्,’ सिटौलाले भने ।
सभामुख ‘गोल किपर’ भए : थापा
कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद गगन थापाले संविधानको पालनामा सभामुख क्याप्टेन हुनुपर्नेमा सरकारको गोलकिपरजस्तो भूमिका देखाएको बताए । ‘संविधानको पालनामा सभामुख क्याप्टेन हुनु पर्ने हो तर उहाँ क्याप्टेन नभएर सरकारको गोलकिपरजस्तो भूमिकामा देखिनु भयो,’ नेता थापाले भने । कांग्रेसले संसद्मा कमजोर देखिएको आफ्नो भूमिकालाई सडकबाट पूर्ति गर्ने बेला आएको भन्दै संसद् र सडकलाई कांग्रेसले एकाकार गर्न ढिला गर्न नहुने जनाए ।
सभामुखकै भूमिका कमजोर : प्रधान
सांसद भीमसेनदास प्रधानले संविधानको पालनामा सभामुख नै बलियो हुनुपर्नेमा सरकारको प्रवक्ताजस्तो भएर सभामुखले आफूलाई कमजोर बनाएको बताए ।उनले प्रतिपक्षी दलका सांसद उभिँदा उभिँदै सभामुखले पेलेर संसद् बैठक चलाएको भन्दै सभामुख दलको प्रवक्ताजस्तो व्यवहार गर्दै आएको गुनासो गरे । राजधानीबाट