कविता
—– पेशल माबुहाङ
– ऐना –
हेर्दा हेर्दा थाक्यो आँखा
अहँ देख्दै देखिको छैन अनुहार ।
Advertisement
बिच नेपालको माथि
एउटा अग्लो लिङ्गो गाडेर
झुन्ड्याइएको एउटा ऐना
ऐना सँगै हल्लिरहेको छ निङ्गो
अलिक धेरै हल्लाइ रहेकोछ दक्षिणी हावाले
हल्लाइ नै रहेको छ उत्तरी हावाले पनि
पिङ खेलिरहेको छ ऐना यता र उता
फनफनी फनन फनन घुमिरहेको छ
डोरि रगडिदैछ लगातार
लिङ्गो कहिले नुहिन्छ कहिले सिधा
ऐना तल उछिटिन्छ माथि उछिटिन्छ
कालो कालो देखिन्छ फुटिसकेको हो कि ?
सिंहदरबार देखि
कडा उर्दी जारी भएको छ सबैले हेर्नु
देखिन्छ सबैको सुन्दर अनुहार
सिधा सिधा आँखाले हेर्नू
हेर्दै नहेर्नु कर्के छड्ने आँखाले
र त यी चिम्सा आँखाले हेरिरहेको छु
तर कालो कालो देखिरहेको छु
देखिरहेको छैन अनुहार ।
आज विशेष दिन
मात्र हेर्नू ऐना सबैले हेर्नू
डेटिङ जाँदै नजानु, नजानु
भनेको सुनेपछि इमानदार भएर
क्यान्सिल गरेको छु डेटिङ
मेरो यस्तो निर्णयले ब्रेक अप पनि हुन सक्छ
प्रेम अधुरो रहन पनि सक्छ
भोलि मात्र भेट्ने कडा डाइलक हानेको छु
गरेको छु फोन स्विच अफ
म पनि त यो देशको नागरिक
अझै भनौ आदिम देखि बस्दै आएको आदिवासी
मैले त झन हेर्नैपर्छ त्यो ऐना !
आज डेटिङ गएको छैन कसम ।
विहानै देखि आँखा नझिक्याइ हेरिरहेको छु
हेरिरहेको छु कतै अनुहार देखिन्छ कि
त्यो ऐनामा देख्नु छ जसरी अनुहार
मिलाउनु छ जुल्फी फुटाउनु छ डण्डिफोर
काट्नु छ दाह्री जुँगा हुनु छ हेन्डसम
धुनु छ फेसवासले बनाउनु छ चम्किलो
ऐना हल्लिरहेको छ हल्लिरहेको छ
पटक्कै देखिएको छैन स्पष्ट
अघिको भन्दा झन झन कालो हुँदैछ ।
परिसक्यो झमक्कै साँझ
विहान भरी दिउँसो भरी हेरि नै रहे
देखिन बन्दै अनुहार देख्दै देखिन
हल्लिमात्रै रह्यो देखियो कालो कालो पूरा कालो
अँध्यारोले छोपेर छोपिदैछ ऐना
चारैतिर अँध्यारो भयो चकमन्न
देखिन छाड्यो ऐना !
ऐना नदेखिए पछि अनुहार देखिने कुरा भएन ।
– धन्यवाद ।