• काठमाडौँ : मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संरचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरूलाई छ । सँगै समृद्धिको जनआकांक्षा पनि छ तर प्रदेश सरकार हाँक्ने मुख्यमन्त्रीहरू यस्ता महत्त्वपूर्ण दायित्वलाई बेवास्ता गर्दै सामान्य औपचारिक कार्यक्रममा समय खेर फालिरहेका छन् । बच्चाको भातखुवाइ कार्यक्रमसम्ममा उनीहरूको उपस्थिति देखिन्छ ।

    अर्कातिर प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसक्दा आवश्यक कानुन बनिसकेका छैनन्, बनेका कतिपय कानुन पनि सरकारले नियमावली र कार्यविधि नबनाउँदा कार्यान्वयन हुन सकेका छैनन् । बजेट कार्यान्वयनको अवस्था पनि कमजोर छ । केन्द्र सरकारले अधिकार प्रत्यायोजनमा कन्जुस्याइँ गरिरहेको प्रदेश सरकारहरूले गुनासो गरिरहेका छन् तर प्राप्त अधिकार उपयोगमा पनि उनीहरू चुकिरहेको प्रस्टै देखिन्छ । कान्तिपुर संवाददाताहरूले एक साता निगरानी गर्दा मुख्यमन्त्रीहरू फलदायी कार्यक्रममा सहभागी भएको पाइएन ।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रायः औपचारिक कार्यक्रममै हुन्छन् । यो साता उनी प्रदेश सुरक्षा गोष्ठी, प्रदेश चलचित्र महोत्सवको तयारी छलफल, बजेट कार्यान्वयनबारे सांसदसँग छलफल, बालबालिकासँग अन्तरसंवाद, जनतासँग मुख्यमन्त्री कार्यक्रम, प्रदेश योजना आयोगको पूर्ण बैठकमा सहभागी भए । प्रदेशस्तरीय नेपाल मानव विकास प्रतिवेदन २०१९ को अवधारणा पत्रमाथि छलफलमा पनि थिए । प्रदेश १ को विकासमा अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका विषयक बहसमा उनी सहभागी भए । दुई दिन भने मन्त्रिपरिषद्को बैठकमा बिताए । मुख्यमन्त्री राई स्वयंले सामान्य र औपचारिक काममा बढी समय दिनुपरेको अनुभूति गरेका छन् । ‘नेपाली समाजमा नेता भइसकेपछि सबै थोक सुन्नुपर्ने र गरिदिनुपर्ने संस्कृति छ,’ उनले भने, ‘सामान्य जागिर लगाइदिने, वैदेशिक रोजगारीमा पठाइदिने, झैझगडा, खानेपानी, सडक लगायतका योजना, अनेक मुद्दा मामिला र झमेला फर्स्याइदिनुपर्ने भएपछि कसरी प्रदेशको विकास र समृद्धिका लागि काम गर्न सकिन्छ ?’

    उनी समाजामा पास्नीदेखि अनेक सामान्य कार्यक्रममा पुग्दा मात्रै राम्रो र मान्य हुने संस्कार विकास भएको बताउँछन् । ‘सामाजिक काममै अत्यधिक समय खर्चिनुपर्छ,’ राईले भने, ‘यो संस्कृतिमा परिवर्तन गर्नुपर्छ ।’ कार्यक्रममा नपुगिदिँदा मान्छे रिसाउने गरेको उनको अनुभव छ । सामान्य कार्यक्रममा बोलाएर समय खर्च गराउनेहरूले नै टिप्पणी र आलोचना गर्ने संस्कृति रहेको पनि उनले बताए । ‘जनताले जुन कामका लागि निर्वाचित गरेर पठाएका छन्, त्यसका लागि असल नीति, योजना र कार्यक्रम निर्माण र बजेटको प्रभावकारी कार्यान्वयनमा सबैले सहयोग पुर्‍याउनु आवश्यक छ,’
    उनले भने ।

    मुख्यमन्त्री राई बिहान ६ बजे उठ्छन् । डेढ घण्टा शारीरिक व्यायाम गर्छन् । त्यसपछि एक घण्टा पत्रपत्रिका, अनलाइन, टेलिभिजन हेर्छन् र दिनभरको कार्यसूचीअनुसार बाँकी तयारी गर्छन् । ‘राति ९ बजेपछि बिहान ९ बजेसम्म म प्रायः फोन चलाउँदिनँ । त्यो समय आफ्नो व्यक्तिगत कामका लागि उपयोग गर्छु ।’ मुख्यमन्त्री राईले यो साता प्रदेश सरकारका कार्यक्रमहरूको अत्यधिक चाप हुँदाहुँदै पनि ५ वटा औपचारिक कार्यक्रममा जानुपरेको सम्झे । विराटनगर, सुनसरी र झापामा भएका औपचारिक कार्यक्रममा गए पनि उनी दिनमा एकपटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्ने गरेको देखियो ।

    ‘उपलब्धिविहीन’ काममा व्यस्त
    सांसद विकास कोषकै योजनामा प्रदेश मन्त्रालयका कर्मचारीले कमिसन मागेको आरोप लगाउँदै भदौ २२ गते प्रदेश २ को प्रदेशसभा बैठकमा सांसदहरूले मुख्यमन्त्री लालबाबु राउतको जवाफ मागे । सभामुख सरोज यादवले सरकारलाई रुलिङ गरे । प्रदेशसभाको भदौ २७ गतेको बैठकमा पनि मुख्यमन्त्री राउत अनुपस्थित भएपछि सांसदहरूले संसद् अवरुद्ध गरे । यसमा सत्तापक्ष र विपक्षी सांसद एक मत थिए । मुख्यमन्त्री राउत भदौ २९ गते बल्ल प्रदेशसभा बैठकमा उपस्थित भए । प्रदेशसभा बैठक छलेर उनी त्यो साताभरि ‘उपलब्धिहीन’ औपचारिक कार्यक्रममा सहभागी भएका थिए । भदौ २७ मा उनी निजी संस्थाले वीरगन्जमा खोलेको रोजगार पसलको रिबन काट्न पुगेका थिए ।

    प्रदेश २ सरकारको नेतृत्व सम्हालेयता मुख्यमन्त्री राउत ८ वटै जिल्लाका सयौं कार्यक्रममा सहभागी भएका छन् । प्रदेश मुकाम जनकपुरमा हुने प्रायःजसो कार्यक्रममा मुख्यमन्त्री राउत उपस्थित हुन्छन् ।

    मुख्यमन्त्री राउतको सचिवालय पनि कमजोर देखिन्छ । मुख्यमन्त्री राउतको एक साताको कार्यक्रम तालिका सचिवालयले राखेको पाइएन । मुख्यमन्त्री राउत मन्त्रालयमा भएका बेला सचिवालयका सबै कर्मचारी उपस्थित रहन्छन् । उनी बाहिर हुँदा सचिवालय सुनसान हुन्छ । ‘मुख्यमन्त्रीको कार्यक्रम तालिका हामीलाई खासै जानकारी हुन्न,’ सचिवालयका एक कर्मचारीले भने, ‘उहाँ कार्यकक्ष वा निवासबाट निस्केपछि बल्ल थाहा पाउँछौं ।

    प्रदेशसभाको पछिल्लो बैठकमा मुख्यमन्त्री राउत प्राथमिकता नतोकेर जस्तोसुकै कार्यक्रममा पुग्ने गरेको भन्दै आलोचना भएको छ । सत्तापक्ष र विपक्षी सांसदहरूले महत्त्वपूर्ण काम थाती राखेर मुख्यमन्त्री राउत साइकल बाँड्न आफैं स्कुल–स्कुल डुल्नु राम्रो नभएको टिप्पणी गरे ।

    मुख्यमन्त्री राउत भदौ ३० गते धनुषा जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा उपस्थित भए । त्यही दिन धनुषाको मुखियापट्टी मुसहरनियाको देवनारायण माविमा आयोजित साइकल वितरण कार्यक्रममा पुगे । भदौ ३१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित प्रदेश २ को तथ्यांकसहितको पुस्तक विमोचन कार्यक्रममा सहभागी भएर महोत्तरीको जलेश्वरमा खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा
    सहभागी भए ।

    गैससको कार्यक्रममा नगएको दाबी
    प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल केही समयदेखि गैरसरकारी संस्थाका उद्घाटन, शिलान्यासलगायतका कार्यक्रममा जान छाडेका छन् । प्रदेश सरकारका कार्यक्रमलाई महत्त्व दिने गरेको उनले दाबी गरे । ‘सुरु/सुरुमा सामान्य कार्यक्रमहरूमा पनि गइयो,’ मुख्यमन्त्री पौडेलले भने, ‘अहिले समयको चापले महत्त्वपूर्ण कार्यक्रममा मात्रै जाने गरेको छु ।’ मुख्यमन्त्री पौडेल स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्छन् । ‘सुरु–सुरुमा एक दिनमा ७ देखि १० वटा कार्यक्रमसम्म भ्याएँ, अहिले त्यस्तो छैन,’ उनले भने । संघीय राजधानी पनि प्रदेशभित्र परेकाले कम्तीमा सातामा एकपटक काठमाडौं पुग्ने गरेका छन् । ‘काठमाडौंमा कार्यक्रम परिरहन्छ, जानै पर्‍यो,’ उनले भने ।
    कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…