उर्लाबारी, ३ असोज/मोरङको उर्लाबारी–७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभामा शुक्रबार प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
स्थानीय देवीस्थान दुर्गा मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ अधिकृत कवि न्यौपानेले सहकारी संस्थाको विकास र विस्तारका लागि सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको जस्तै शेयर सदस्यहरुको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन् । ‘कर्मचारी र सञ्चालक समितिको जती भूमिका हुन्छ, शेयर सदस्यहरुको पनि उत्तीकै भूमिका हुन्छ’, उनले भने ।

स्वयंसेवी भावनाबाट मात्र संस्था अगाडि बढ्न सक्नेभएकोले वर्षमा एकचोटी संस्थाको बारेमा बुझ्न र सुझाव दिन शेयर सदस्यहरुका लागि साधारणसभा बोलाइएको न्यौपानेको भनाई थियो । सबैजना मिलेर सबैको आवश्यकता पूरा गर्नु सहकारी संस्थाको उद्देश्य भएको राय व्यक्त गर्दै न्यौपानेले भने, ‘सबैको आवश्यकता पुरा गर्नका लागि जुट्ने एउटा थलो सहकारी हो ।’ प्रशिक्षणका क्रममा न्यौपानेले सहकारी ऐन, विनियम र क्षेत्रको बारेमा जानकारी गराएका थिए ।
संस्थाकी अध्यक्ष सीता कार्कीको अध्यक्षता र नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको थियो । संस्थाकी उपाध्यक्ष गोमा नेपालले स्वागत मन्तब्य राखेकी थिइन् ।

सचिब निर्मला घलेले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष शोभा चेम्जोङ पालुङ्वाले आर्थिक प्रतिवदेन प्रस्तुत गरेकी थिइन् । संस्थाको आय १ करोड १३ लाख ९२ हजार २ सय २५ रुपैयाँ र ब्यय ७८ लाख २६ हजार ५९ रुपैयाँ भएको छ । सोही अवसरमा संसंस्थामा उत्कृष्ट कारोबार गर्नेलगायतलाई पुरस्कृत गरिएको संस्थाकी सल्लाहकार शोभितमाया तामाङले जानकारी दिइन् ।