केही वर्ष अघिसम्म गाउँघर बाटोमा छ्याप्छ्याप्ती पाइने सिस्नु फाडेर फालिन्थ्यो। घाँसे पाखोमा भेटिए पनि घाँसदाउरा गर्दा छ्स्स पोल्ने डरले नष्ट गरिन्थ्यो।
अहिले सिस्नु फाँडेर फाल्ने हातहरू सिस्नुको जगेर्ना गर्नतिर लागेका छन्। फुर्सदमा सिस्नु संकलन गर्नसके सानोतिनो घरखर्च जुटाउन सक्ने भएका छन् महिलाहरू।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाका स्थानीयले बारीको कान्लामा सिस्नु फाँडेर फाल्दैनन् अचेल। बरु, वनजंगलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्छन्। उनीहरूले सिस्नुबाट पाउडर बनाएर बिक्रीवितरण गरी आम्दानी गर्न थालेका छन्।
बाँदरले अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका थ्एि यहाँका किसान। अहिले उनीहरू बारीका कान्ला तथा वनजंगलमा खेर गइरहेको सिस्नुको पाउडर बनाएर महँगो मूल्यमा बेचेर आम्दानी गरिरहेका गाउँपालिका–६ का वडाध्यक्ष जाहरसिंह लामाले बताए।
स्थानीयले सिस्नोको पाउडर उत्पादन गर्छन्। उनीहरूले विभिन्न देशमा प्रति केजी ७ सय रुपियाँसम्ममा निर्यात गरिरहेका छन्। ‘स्वदेशका विभिन्न सहर र तारेहोटलमा समेत प्रति केजी ५ सय रुपियाँसम्ममा बिक्री भइरहेको छ,’ अध्यक्ष लामाले भने। वडाले अन्नबालीको विकल्पका रूपमा सिस्नु र टिम्बुर खेतीलाई प्रवद्र्घन गर्ने योजना बनाएको छ। एक घन्टामा दुई डोको सिस्नोको मुन्टा टिप्न सकिन्छ। जसबाट एक किलो धुलो बन्छ । एक किलो सिस्नुको धुलो पाउडर प्रतिकेजी ५ सयदेखि ७ सयसम्ममा बिक्री हुने भएपछि स्थानीय यसतर्फ आकर्षित भएका हुन् ।
विभिन्न मुलुक र नेपालमै पनि सिस्नुको पाउडरको माग अत्यधिक रहेकाले सिस्नोलाई बालीकै रूपमा खेती गरेर किसानको आम्दानीको स्रोत बढाउने कार्यक्रम थालेको वडाध्यक्ष लामाले बताए । हाल कतिपय किसानले ओखलमा पिनेर धुलो बनाउने गरेको भए पनि उत्पादन वृद्धि गर्न र लागत खर्च घटाउन गाउँपालिकाले वडामा चार समूह बनाएर सिस्नोको पाउडर बनाउने औजार वितरण गरेको अध्यक्ष लामाले बताए ।
सिस्नुको मुन्टा टिपेर प्रत्यक्ष रूपमा घाम नपर्ने गरी केही दिन सुकाएर अख्र्याएपछि औजार वा ओखलमा पिनेर पाउडर बनाउन मिल्ने उनले बताए । सिस्नोको पाउडर बनाउने तालिम दिँदै आएकी विमला विश्वकर्माका अनुसार सिस्नुको माग बढ्दो छ ।
वडा सदस्यसमेत रहेकी विश्वकर्माका अनुसार खुल्ला आकाशमा प्रत्यक्ष घाम पर्ने गरी सुकाउँदा सिस्नुको हरियोपना र औषधीय गुण नष्ट हुनुका साथै धुलो पर्न सक्ने हुँदा सिस्नुलाई खुला आकाशमा सुकाउनु हुँदैन ।
सिस्नो औषधीय गुणले भरिपूर्ण भएको कारण धेरै व्यक्तिले यसको सेवनलाई प्रोत्साहन गर्ने गरिन्छ ।
समुद्री सतहबाट २ सय मिटरदेखिको चिस्यानयुक्त माटोमा सिस्नु फस्टाउने भए पनि ७ सयदेखि एक हजार ३ सय मिटरको उचाइमा पनि सिस्नोखेती गर्न सकिन्छ । खेतीकै रूपमा लगाउने हो भने फलफूलको बगैँचाभित्र लगाएर दोहोरो आम्दानी गर्न सकिने विश्वकर्माले बताइन्। प्रत्यक्ष घाम नलाग्ने ठाउँमा राम्रोसँग सप्रिने हुँदा सेपिलो वा अन्य बाली नसप्रने ठाउँमा पनि सिस्नु लगाउन सकिन्छ।
सिस्नुलाई हेला गरिने वनस्पतिका रूपमा लिने प्रचलन अब हटेको छ । सिस्नु दुःखी र गरिबीसँग तुलना गरिए पनि यसमा पाइने क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्व पाइने भएकाले धेरै फाइदाजनक छ।
स्वास्थ्यकर्मीका अनुसार सिस्नु खाँदा निम्नअनुसार फाइदा हुन्छः
- गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अत्यन्तै फाइदाजनक छ ।
- सिस्नुले मुटुसम्बन्धी समस्या निको पार्न सहयोग गर्छ ।
- उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्याउँछ ।
- यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ।
- प्रोस्टेड, ग्ल्यान्ड र बाथको समस्या भएका मानिसलाई उपयोगी हुन्छ।
- शरीरमा रगतका नयाँ सेल बनाउन महत्वपूर्ण भूमिका खेल्छ।
- पिसाबको संक्रमण हुनेहरूले पनि नियमित सिस्नु सेवन गर्दा फाइदा पुग्छ।
- शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि यसले मद्दत गर्छ।
- शरीर दुख्ने समस्यामा पनि सिस्नु सेवनले फाइदा गर्छ।