• दमौली, ७ असोज : धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन् । कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन् ।

    सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली मगरले एक विपन्न बालिकाको उपचारका लागि सहयोग जुटाउनुभएको छ ।

    तनहुँको ब्यास नगरपालिका–११ का चार वर्षीया निर्मला चेपाङ गत भदौ २६ गते घरमै खेलिरहेको अवस्थामा तातो पानीले जलेर घाइते भएकी थिइन् । कम्मरमुनिको भाग जलेर घाइते भएकी चेपाङलाई उपचारका लागि परिवारले सोही दिन दमौली अस्पताल ल्याएको थियो ।

    दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा लैजान चिकित्सकले सुझाव दिए पनि चेपाङ परिवारले आर्थिक अभावमा उनलाई पोखरा लैजान सकेन र दमौली अस्पतालमै केही दिन बालिकाको उपचार गरियो ।

    चेपाङ परिवारको अवस्था थाहा पाएपछि अस्पतालमै कार्यरत अहेब मगरले बालिकाको तस्बीरसहित फेसबुकमा पोष्ट गर्दै सहयोगका लागि आह्वान गर्नुभएको थियो । फेसबुककै माध्यमबाट पीडित बालिकाको उपचारका लागि तत्कालै रु ५० हजार सङ्कलन गर्न सफल भएको मगरले जानकारी दिनुभयो ।

    “फेसबुकमा हालेपछि विभिन्न व्यक्ति र सङ्घ संस्थामार्फत् सहयोग जुट्यो,” उहाँले भन्नुभयो, “उक्त रकमबाट थप उपचारका लागि पीडित बालिकालाई पोखरा पठाइयो ।”

    पीडित बालिकाको पोखरामा उपचार भइरहँदा पनि जिल्लामा उनको उपचारका लागि अन्य व्यक्तिले पनि सहयोग प्रदान गरिरहेका थिए । मगरका अनुसारपीडित बालिकाको उपचारका लागि रु एक लाख ३३ हजार ५०० सङ्कलन भएको छ ।

    उनको उपचारका लागि रु ५८ हजार पाँच सय खर्च भएको र बाँकी रु ७५ हजार दमौलीस्थित सनराइज बैंकमा खाता खोलेर जम्मा गरिएको छ । “बालिकाको उपचारपश्चात् स्वास्थ्यमा सुधार आएको र घाउ निको हुने क्रममा छ,” उहाँले भन्नुभयो, “ड्रेसिङको काम दमौली अस्पतालमै भइरहेको छ ।”

    निर्मला चेपाङ सहयोग अभियानमार्फत् सङ्कलन भएको रकम बैंकमा जम्मा गरेर उक्त बैंकको चेक आज पीडित बालिकालाई हस्तान्तरण गरिएको छ ।

    पीडित बालिकाकी आमा धनमाया चेपाङले आर्थिक अभावमा छोरीको उपचारमा समस्या भएको अवस्थामा रकम जुटाएर सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    पीडितबालिकाका बुबा गणेशमान चेपाङ व्यास नगरपालिका–११ स्थित एक इँट्टामा दैनिक मजदूरी गर्दै आउनुभएको छ । दैनिक मजदूरी गरेर कमाएको रकमले ६ जनाको परिवार पाल्नुपर्ने अवस्था रहेको छ ।

    “दैनिक गुजारा गर्न नै गाह्रो भएको अवस्थामा छोरीको उपचार गर्ने समस्या भएको थियो,” उहाँले भन्नुभयो,“रकम सङ्कलन भएपछि छोरीको स्वास्थ्य सुधार हुँदै गएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…