काठमाडौं । बिरामीले अस्पताललाई मन्दिर र उपचार गर्ने डाक्टरलाई भगवान मान्छन् । पूर्वीय संस्कृतिमा त अझ ढोग्ने नै चलन बढेको थियो ।
सेवामूलक स्वास्थ्य संस्था व्यावसायको केन्द्र मात्र बनेको छैन, ठिकठाक रहेका बिमारीको हत्या गर्ने निकाय बन्न थालेका छन् । एक पटक, दुई पटक गल्तीबस हुने दुर्घटना भन्दा पनि नियोजित ढंगले साधारण बिमारीलाई उपचारका नाममा अप्रेशनको प्रयोगशाला बनाउँदै सर्वसाधारणको ज्यान लिन थालिएको घटनाहरूले पुष्टि गर्न थालेका छन् ।
यस्तो प्रकरणमा राजधानीमा नाम चलेका अस्पतालहरू अगाडि छन्, त्यसमा पनि चाबहिलमा रहेको ओम अस्पतालमा प्रायः यस्तै लफडा हुन्छ ।
गएको शनिबारमात्र पत्थरीको समस्या भएकी एक महिलाको गलत उपचार गरी अस्पतालले ज्यान लिएको छ । पत्थरीको उपचारका क्रममा मात्र ‘हत्यारा डाक्टर’हरूको प्रयोगशालाको शिकार बनिन् धादिङकी गंगाजमुना गाँउपालिकाकी २९ वर्षीया अनिता गुरुङ ।
ओम अस्पतालले यसअघि ३० जेठ २०७६ मा सिन्धुपाल्चोककी रामप्यारी थापाको पित्तथैलीको पत्थरीको शल्यक्रिया गलत गर्दा मृत्यु भएको थियो । त्यसबेला आफन्तलगायतले आन्दोलन गरेका थिए । वार्ता गरी क्षतिपूर्ति दिएर मुद्दा मिलाइयो, सम्बन्धित डाक्टरका विषयमा छानबिन गर्ने भनिए पनि त्यसो हुन सकेको छैन ।
१९ साउन २०७४ मा गोरखा आरुघाटकी ५० वर्षीया नन्दकुमारी लामिछाने पत्थरीको उपचारका क्रममा शल्यक्रिया गरेकै दिन मृत्यु भएको थियो । त्यसबेला पनि आफन्त र सर्वसाधारणले ओम अस्पताल घेरेका थिए । यो सिलसिला त्यसबेला पनि चलाइयो ।
पत्थरीबाहेकका कतिपय सुत्केरीको शल्यक्रिया, आन्द्रालगायतका बिमारीको उपचारका क्रममा शल्यक्रिया गर्नुपर्ने भन्दै मोटो रकम असुली मनलाग्दी गर्दा धेरैको ज्यान गएको थियो ।
जसमा पद, प्रतिष्ठा र व्यक्तिको पहुँचका आधारमा पीडित परिवारलाई सहमतिका नाममा केही रकम दिएर ओम अस्पताल उम्किँदै आएको छ ।
एक दशकमा ७ जना भन्दा बढी विभिन्न रोगका बिमारीको गलत अप्रेशनका कारण ओम अस्पतालमा मृत्यु भयो, कुनै डाक्टरलाई कारबाही भएन आफन्तलाई क्षतिपूर्ति दिएर मुद्दा रफ्फादफ्फा बनाएका तथ्यहरू फेला परेका हुन् ।
छानबिन किन हुँदैन ?
शक्ति केन्द्रमा जोडिएका व्यक्ति अस्पताल सञ्चालक समितिमा रहेको र उनीहरूको पहुँच विविध राजनीतिक दल तथा नेतासँग सहज रहेका कारण प्रशासनदेखि अनेक संयन्त्रलाई नियन्त्रणमा राख्ने कोसीश गरिएको छ । जसका कारण गल्ती माथि गल्ती गर्दा पनि उम्किने सरल बाटो निकालिन्छ– पीडित परिवारसँग सहमति ।
यस्तो सहमति गर्दा गलत उपचार गर्ने अस्पतालले पीडित परिवारलाई केही लाख राहत रकम उपलव्ध गराउने, छानबिन पनि गर्ने भनिन्छ तर परिवारले किटानी जाहेरी नदिने भनी हस्ताक्षर गराइन्छ । आफन्तको गलत उपचारका कारण मृत्यु भएको भन्ने विषयमा उजुरी नदिने भएपछि प्रहरीले यस्ता प्रकरणमा छानबिन अगाडि बढाउँदैन ।
‘प्रहरीमा उजुरी नपरेपछि कसलाई किन पक्राउ गर्ने भन्ने प्रश्न आउँछ । अर्कोचाहिँ अहिलेको मुलुकी ऐनले पनि अदालतको आदेशबिना पक्राउ गर्न नपाउने कडा व्यवस्था छ’, एक प्रहरी अधिकारी भन्छन्,‘सबै बुझेर पनि कारबाही प्रक्रिया अघि बढाउन सकिँदैन, पीडित परिवारलाई जबरजस्ती उजुरी हाल भन्न सकिन्न ।’
अस्पतालले गल्ती स्वीकार गरे पनि त्यस्ता डाक्टरलाई जागिरबाट निकाल्ने गरेको छैन । बरु, प्रतिरक्षा गर्दै बारम्बार घटना दोहो¥याउने गरेको छ जसका कारण गलत उपचार गर्ने डाक्टरको मनोबल बढ्छ ।
सरकारले बारम्बार गल्ती गर्ने अस्पताल सञ्चालनको अनुमतिपत्र खारेज गर्दै त्यस्ता डाक्टरको मेडिकल काउन्सिलको लाइसेन्स पनि रद्द गर्न सक्छ । यस्ता विषयमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा संसदीय छानबिन समिति समेत बनाउन सकिन्छ । तर आर्थिक प्रभाव र लाभका कारण राजनीतिक रूपमा यसो गरिएको छैन ।
अझ ओम अस्पतालको हकमा भने तत्कालिन चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलका बाबु राप्रपाका केन्द्रीय सदस्य उद्धब पौडेलको लगानी समेत रहेको छ ।
उनको राजनीतिक आस्था राप्रपामा भए पनि गोपीकृष्ण हललगायतका विविध व्यावसायीक प्रतिष्ठान भएकाले उच्च तहसम्म राम्रै उठबस रहेको छ ।
त्यसकारण सर्वसाधारणको मृत्युलाई दबाउनका लागि उपल्लो तहबाटै खेल खेलिने गरेको पीडित परिवारहरू बताउँछन् ।
अस्पताल सञ्चालकका एक जनालाई पनि हालसम्म यस्ता प्रकरणमा सोधपुछ गरिएको छैन । सञ्चालक समितिले गलत उपचार गर्ने डाक्टरलाई समेत स्पष्टिकरण लिएको सार्वजनिक भएको छैन जनप्रहारमा समाचार छ ।
ओम अस्पतालको प्रबन्ध निर्देशक बाबुकाजी कार्की, मेडिकल निर्देशक केपी देवकोटा, आर्थिक निर्देशक दिपेन्द्र पोखरेललगायत कसैलाई पनि सोधपुछ गरिएको छैन ।